एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष भुटानी स्याटेलाइट अन्तरिक्षमा पठाउने घोषणा व्यक्त गरेका छन् ।
रुपे कार्डको दोस्रो चरणको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भारतले चाँडै भुटानी उपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेका हुन् ।
‘भारतले निजी क्षेत्रका लागि पनि आफ्नो अन्तरिक्ष क्षेत्र खोलिसक्यो । यसले नवीन क्षमता र सीपलाई बढावा दिनेछ । आईएसआरओले अर्को वर्ष भुटानको उपग्रह पठाउँदै छ । त्यसका लागि तीव्र गतीमा काम भइरहेको छ,’ उनले भने ।
त्यसको तयारीका लागि चार भुटानी अन्तरिक्ष इञ्जिनियरहरूलाई डिसेम्बरदेखि नै भारतमा प्रशिक्षण दिइने उनले बताए ।
‘रुपे कार्ड प्रक्षेपणको पहिलो चरणमा ११,००० सफल रुपे लेनदेन भुटानमा भइसकेका छन । आज चरण २ सुरु भएपछि हामी भुटानलाई रुपे नेटवर्कमा पूर्ण-समय साझेदारका रूपमा स्वागत गर्दछौँ,’ ”मोदीले भने ।
सो अवसरमा भुटानका प्रधानमन्त्री लोटे शेरिंगले महामारीको सामना गर्न मोदीको प्रयासको सरहना पनि गरे ।
‘म विश्वस्त छु कि महामारीलाई अन्त्य गर्न भारत सक्षम हुनेछ । भारतले खोप विकास गर्न जुन नेतृत्व लिइरहेको छ त्यो हामी सबैका लागि आशाको स्रोत हो,’ उनले थपे ।
प्रतिक्रिया