ट्रम्पको भारत भ्रमण : महत्व र सम्भावना « Khabarhub

ट्रम्पको भारत भ्रमण : महत्व र सम्भावना



काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

दुई दिने भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरी इभान्का ट्रम्प, ज्वाईं ज्यारेड कुश्नर लगायत उच्च पदस्थ अमेरिकी अधिकारी सहभागि छन् ।

उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं नै विमानस्थल पुगेका थिए । ट्रम्पले भ्रमणको पहिलो दिन सोमबार गुजरात राज्यको अहमदावाद शहरस्थित विश्वकै सबैभन्दा ठूलो मोटेरा क्रिकेट रंगशालाको उद्घाटन गरे भने त्यहाँ आयोजित ‘नमस्ते ट्रम्प’ र्‍यालीमा दशौं हजार मानिसहरुलाई सम्बोधन समेत गरे ।

सोमबार नै उनले ताज महलको पनि भ्रमण गरे । उनी बेलुकी नै राजधानी दिल्ली फर्किसकेका छन् ।

हिन्द–प्रशान्त क्षेत्रमा साम्यवादी मुलुक चीनको बढ्दो प्रभावबाट चिन्तित दुबै मुलुकका नेताहरुबीच यसपटक भएको भेटलाई निकै महत्वका साथ हेरिएको छ । भारतको भ्रमण गरी राष्ट्रपति ट्रम्पले चीन अनी कश्मीरको विषयमा प्रतिक्रियात्मक टिप्पणी गर्दै आएको पाकिस्तानलाई समेत अमेरिका भारतको साथ रहेको स्पष्ट जवाफ दिएका छन् ।

यद्यपि ‘नमस्ते ट्रम्प’ र्‍यालीमा ट्रम्पले पाकिस्तानसँग राम्रो सम्बन्ध स्थापनाका लागि अग्रसर रहेको भनेपनि अफगानिस्तानमा तालिबानसँग एक साता हिंसा रोक्ने सम्झौता कार्यान्वयनको चरणमा रहेका बेला राष्ट्रपति ट्रम्पको भारत भ्रमणले पाकिस्तानलाई स्पष्ट संकेत दिएको स्पष्ट छ ।

तस्वीर : एपी

चीनको उदय, आतंकवादको खतरा, रक्षा मामिला, हिन्द प्रशान्त क्षेत्रमा रणनीतिक सहकार्य, व्यापार, आप्रवासन लगायतका विषयमा दुबै मुलुकका हित पनि जोडिएर आउने गरेका छन् ।

पछिल्ला समय अमेरिका र भारतबीच द्विपक्षीय सम्बन्धको महत्व पनि बढ्दै गइरहेको छ । अमेरिकाका लागि भारतीय बजार निकै महत्वपूर्ण छ भने भारतका लागि यस क्षेत्रमा पाकिस्तान र चीनको प्रतिकार गर्न अमेरिकसँगको रणनीतिक साझेदारी पनि त्यो भन्दा धेरै महत्वपूर्ण छ ।

सोहीक्रममा ट्रम्पको भारत भ्रमणलाई यस क्षेत्रको रणनीतिक मामिलाको विश्लेषण गर्नेहरुले निकै महत्वका साथ हेरेका छन् ।

यद्यपि अमेरिका र भारतबीचको सम्बन्ध पछिल्ला केही समययता केही चिसिएको भनी टिप्पणीहरु नआएका भने होइनन् ।

अमेरिकाले गत वर्ष भारतीय सामानलाई दिँदै आएको विशेष व्यापारिक छुट हटाएपछि दुई मुलुकबीच व्यापारिक सम्बन्धमा केही तिक्तता पैदा भएको टिप्पणी आएको थियो भने त्यसअघि अमेरिकाले भारतीयका लागि सीपमूलक कामदारको भिसामा कडाई गरेको भनी भारतीय पक्षबाट पनि असन्तुष्टि व्यक्त भएको थियो ।

तैपनि दुई मुलुकबीचको सम्बन्ध जे जस्तो रहेको भन्ने टिकाटिप्पणी भएपनि दुई नेताबीचको केमेस्ट्री भने मिल्दै आएको छ ।

भारत भ्रमणमा आउनुअघिमात्रै राष्ट्रपति ट्रम्पले ‘भारतले राम्रो व्यवहार नगरेपनि प्रधानमन्त्री मोदी आफूलाई मन पर्ने’ टिप्पणी गरेबाट दुई नेताबीचको व्यक्तिगत सम्बन्ध भने निकै नजिक रहेको स्पष्ट हुन्छ । उनीहरु दुबैको आपसी सम्बन्ध भने प्रगाढ र धेरै नै नजिकको रहेको प्रतित हुन्छ ।

गत वर्षमात्र राष्ट्रपति ट्रम्पले टेक्सस राज्यको ह्युस्टन शहरस्थित एउटा फुटबल रंगशालामा मोदीको सम्मानमा ‘हाउडी मोदी’ नामक र्‍यालीको आयोजना गरेका थिए ।

तस्वीर : एपी

अमेरिकामा बसोबास गर्ने ५० हजारभन्दा धेरै भारतीयहरुको उपस्थिती रहेको उक्त र्‍यालीको जवाफस्वरुप मोदीले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा ट्रम्पका लागि त्योभन्दा ठूलो – १ लाखभन्दा धेरै उपस्थित रहेको ‘नमस्ते ट्रम्प’ र्‍याली आयोजना गरे ।

धेरैले यसलाई मोदीले ट्रम्पलाई दिएको ठूलो कूटनीतिक उपहार भनी अर्थ्याएका छन् ।

धेरैले राष्ट्रपति ट्रम्पको यो भ्रमणलाई आगामी नोभेम्बर महिनामा अमेरिकमा हुन लागेको राष्ट्रपतीय निर्वाचनसँग पनि जोडेर अथ्र्याएका छन् ।

अमेरिकामा भारतीय मूलका अमेरिकीहरु निकै महत्वपूर्ण अल्पसङ्ख्यक मानिन्छन् । पछिल्ला केही वर्षयता उनीहरुले कुनै पनि निर्वाचनको नतिजामा ठूलो प्रभाव पार्नसक्छन् ।

महाअभियोग लागेपनि जसोतसो जोगिएका ट्रम्पको छविमा अमेरिकामा केही हदसम्म धक्का लागेको छ । यस्तो अवस्थामा आगामी निर्वाचन जित्न ट्रम्पका लागि निकै मुस्किल हुनेछ ।

ट्रम्पका लागि आगामी निर्वाचन जित्न भारतीय मूलका अमेरिकीहरुको मत धेरै नै महत्वपूर्ण छ । यसका लागि पनि ट्रम्पको भारत भ्रमण महत्वपूर्ण रहेको भनी समेत टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ४२ बजे

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा