कोरोनाको जोखिम रोक्न यस्तो छ सेनाको तयारी | Khabarhub Khabarhub

कोरोनाको जोखिम रोक्न यस्तो छ सेनाको तयारी


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ ।

कोभिड–१९ संक्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कोभिड–१९ जोखिम नियन्त्रण सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्न तथा उक्त भाइरसविरुद्ध रोकथामका उपाय सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइसकेको जनाएको छ । उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्ने कार्य शुरु गरिएको निर्देशनालयले जनाएको छ ।

हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेक्समा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको छ । विभिन्न जिल्लामा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार गर्न सहयोग गरिरहेको छ ।

कोभिड–१९ सम्बन्धी रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालीम प्राप्त विद्यार्थीलाई स्वयं सेवकका रुपमा सचेतना कार्यका लागि परिचालन गर्न शुरु गरिएको छ । सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिइ), माक्स, पञ्जा तथा सेनिटाइजर उपलब्ध गराउनुका साथै माक्स पिपिइ तथा सेनिटाइजरको उत्पादनसमेत शुरु गरिसकेको छ ।

कोभिड–१९ सम्बन्धी सरकारको निर्देशनअनुसार सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालीम, दैनिक रुपमा हुने पिटी परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाइएको जनाएको छ । सेनाका सकल दर्जालाई कोभिड–१९ बारे जानकारी गराई विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र बिदा छाड्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बिदाबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा ‘इण्डोर क्वारेन्टाइन’मा राखी एकिन पश्चात डियुटीमा लिने व्यवस्था गरिनाका साथै कोभिड–१९ विरुद्ध ब्यारेकभित्रका सकल दर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको निर्देशनालयले जनाएको छ ।

हरेक हाताभित्रका बासस्थानमा समेत ओछ्यानको दुरी घटीमा एक मिटरमा राख्ने र सकल दर्जालाई ब्यारेक हाताभित्र नै लक डाउन गरिएको जनाइएको छ । कोभिड–१९को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारबाट प्राप्त जिम्मेवारी बहन गर्न सेना तयार रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : ०७ बजे

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

काठमाडौं – नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत

झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ 

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले ल्याउन लागेको

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु

एजेन्सी – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद्

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला