चैत ८ गते शनिबार । बिहान ८ बजेको हुँदो हो । म जारको पानी ल्याइदिनु भन्ने सन्देश दिन छिमेकी पसलमा पुगेँ । पसल धनी दम्पतीले कोरोनाको कुरा निकाले । हामी रोकथामका उपायको चर्चा गर्न थाल्यौँ ।
रंगमञ्चमा एकाएक डोको बोकेकी एक अधबैँसे महिला उदाइन् ।
‘हरियो मकै लिनुस् । राम्रो छ ।’
मेरो ध्यानाकर्षण भयो । मैले उनलाई हातले इशारा गरेँ, ‘यता अलि वर आउनोस् न ।’
मेरो आशय मकै हेर्ने र किन्ने थियो । ती बिक्रेताको उदयले शनिबार दिउँसोको खाजामा मकै उसिनेर खाने विचार पलाएको थियो । उनले त मैले नसोचेको प्रतिक्रिया दिइन् ।
मकै बिक्रेता अघि आइनन् । पछि पो सरिन् ।
‘किन डराउनु भयो त ?’
मैले आश्चर्यमिश्रित तरिकाले सोधेँ ।
‘सबै डराएका छन् । तपाईं फेरी उल्टो नजिक आइज भन्नुहुन्छ ।’
उनले मुखौटो अर्थात मास्क लगाएकी थिइन् । मैले उनलाई पसलबाट एक घर पर रहेको मेरो निवास लिएर आएँ । अछाम रहेछ उनको घर । मैले मौकाको फाइदा उठाएर कोरोना भाइरसको कुरा निकालेँ ।
‘कत्रो हुन्छ नि कोरोना ?’
‘खै भुसुनो भन्दा नि सानो हुन्छ रे !’
उनले रोचक जवाफ दिइन् । मकै विक्रेता महिलासँग भेट भएको आज पाँच दिन भयो । समयको यो अन्तरालमा भाइरस सम्झिनासाथ महिलाले अनुमान गरेको ‘भुसोनो भन्दा सानो’ कथनले मलाई धेरै पटक बिउँझायो । भुसुनो र भाइरसको तुलनाले मष्तिष्कमा एक किसिमको हलचल ल्याइदियो ।
केही समयअघि नेपालका वरिष्ट वैज्ञानिक डा. दिनेश भुजुको सौजन्यमा म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ४६ जना विद्यावारिधि तहका विद्यार्थीलाई पढाउन कीर्तिपुर पुगेको थिएँ । उनीहरुसँगको अन्तक्रियाले मलाई मेरो गुरुत्व फेरि सलबलाएको महसुस गरायो । त्यहाँको चमेना गृहमा भेटिएका बायोटेक्नोलोजीमा स्नातकोत्तर तहका विद्यार्थीलाई मैले सोधेको थिएँ, ‘कपालको रौँको मोटाइ कति हुन्छ ?’
मलाई व्याक्टेरियाको आकारलाई कपालको रौँको मोटाइ अर्थात व्याससँग तुलना गर्नु थियो । विद्यार्थीहरुले ब्याक्टेरिया वा भाइरसजस्ता सूक्ष्म किटाणुको आकार माइक्रोमिटरले नापिन्छ भन्ने त बुझेका थिए तर तिनको मापनको अन्दाज गर्ने सकेका थिएनन् ।
धेरै विद्यार्थी र पेशाधर्मीहरुले सूक्ष्म किटाणुका बारेमा पढेका हुन्छन् तर धेरै कमलाई मात्र यिनको आकारका बारेको व्यावहारिक ज्ञान हुन्छ ।
प्रोटोजोआ, ब्याक्टेरिया र भाइरस आदिलाई समग्रमा नेपाली भाषामा किटाणु भनिन्छ । यस्तै, ब्याक्टेरियालाई जीवाणु र भाइरसलाई विषाणु । विद्यालयदेखि नै यी विषयमा पढाइ हुन्छ ।
अहिले कोरोना भाइरसले संसारमा तहल्का मच्चाएको छ । यो विश्वव्यापी माहामारी अर्थात प्यान्डेमिकको प्रभावले कुनै व्यक्ति, समाज वा राष्ट्र अछुतो छैन ।
हजारौँको ज्यान गइसकेको छ । लाखौँ संक्रमित भएका छन् । विश्वमा नै अब के हुने हो भन्ने सन्त्रास फैलिएको छ ।
यसकारण यो लेखमा माथि उठाइएका विषयवस्तुको सेरोफेरोमा कोरोना भाइरसको आकार र यसले कसरी सामान्य व्यक्तिलाई संक्रमित बनाउँछ भन्ने बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
सर्वप्रथम, कोरोनाले बटुलेका शब्दको हिज्जेमा विचार गरौँ । कोरोना भाइरस डिजिज २०१९ को छोटकरी रुप कोभिड—१९ हो । कोरोना भन्ने नाम चाहिँ विश्व स्वास्थ्य संगठनले जुराएको हो ।
कोरोनाको प्रकृतिसँग मिल्ने योभन्दा पहिले विश्वमा देखापरेका रोगहरुमा सार्स र मर्स पर्दछन् । सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोमको छोटो रुप सार्स हो ।
यो सबैभन्दा पहिले सन् २००३ मा एशियामा देखिएको थियो । मिडल इस्ट रेस्पेटरी सिन्ड्रमको छोटो रुप मर्स हो । सन् २०१२ मा सउदी अरेबियामा शुरु भएको मर्स रोग २७ वटा मुलुकमा फैलिएको थियो ।
कोभिड—१९ लगायतका तिनै किसिमका संक्रमणहरु कोरोना भाइरसका कारण भएको बताइएको छ । यो भाइरसको मुख्य स्रोत चमेरो भएको र मान्छेलाई संक्रमण गर्नुअघि कुनै अर्को जनावरलाई माध्यम बनाउने अनुमान गरिएको छ ।
अब प्रश्न उठछ— यो संसारलाई नै हल्लाउन सक्ने क्षमता राख्ने विषाणुको ज्यान कत्रो होला ?
यसलाई बुझ्न अघि हाम्रा नाङ्गा आँखाले कति सानो वस्तुलाई स्पष्ट देख्न सक्छन् भन्ने विषयमा चर्चा गरौँ ।
मकै बेच्ने महिलाको भनाइ एक अर्थमा सही ठहर्छ । हाम्रा आँखाले सम्भवतः देख्न सक्ने सबैभन्दा सानो किरा भनेको भुसुनो नै हो ।
एक कविले त मुक्तक नै लेखेका छन्—
‘आँखामा भुसुनो पसे झिक्न साथी चाहिन्छ ।’
स्पष्ट छ, भुसुनो सानो जीव भएको हुनाले आँखामा पसेमा निकाल्न असाध्य नै कठिन हुन्छ ।
भुसुनालाई अंग्रेजीमा ‘नाट’ (पहिलो अक्षर जी उच्चारण हुँदैन) भनिन्छ । यसको आकार सालाखाला २ मिलिमिटर जति हुन्छ ।
तोरी वा कोदोको दाना भुसुनोकै आकारको हुन्छ । बालुवाको कण पनि यस्तै सानो हुन्छ ।
आँखाले भुसुनो भन्दा पनि सानो चिज देख्न सक्छ । जस्तै— कपालको रौँ, सियोको टुप्पो वा ब्लेडको धार ।
हाम्रो शरीरको सतहमा भएका आँखाले देख्न सकिने वस्तुमा कपालको रौँ, नाकको रौँ वा हात पाखुरामा हुने रौँहरु र आँखाका परेला हुन् । घडी वा मोबाइलको प्रचलनअघि हाम्रा हजुरबा हजुरआमाहरुले झिसमिसेलाई इंगित गर्दै भन्ने गर्थे— नाडीका रौँ देखिए, अब उज्यालो भयो, काममा निस्किए हुन्छ ।
कपालको रौँको मोटाइ वा तोरीको दाना भुसुनोको आकारभन्दा लगभग २० गुणा कम हुन्छ । यो भनेको ०.१ मिलिमिटर अथवा १०० माइक्रोमिटर हो ।
सियोको टुप्पोको व्यास वा ब्लेडको धार वा फोटोकपी गर्ने सेतो कागतको मोटाइ पनि कपालको रौँको मोटाइकै हाराहारीमा हुन्छ ।
सामान्यतया ब्याक्टेरिया अर्थात जीवाणुको आकार १ माइक्रोमिटर जति हुने भएकोले सियोको टुप्पोमा १०० वटा जीवाणु अटाउँछन् भनेर बुझ्न सकिन्छ ।
भाइरस अर्थात विषाणुको आकार भने न्यानोमिटरमा नापिन्छ । अहिले महामारी फैलाइरहेको कोरोना भाइरसको आकार भने ५० देखि २०० न्यानोमिटर रहेको पुष्टी भएको छ ।
यो हिसाबमा जीवाणुभन्दा यो औसतमा दश गुणाले सानो भयो । यसको अर्थ सियोको टुप्पोमा १००० वटा विषाणु अटाउन सक्ने भयो । अथवा एउटा भुसुनो बराबर २००० वटा जीवाणु वा २०,००० वटा विषाणु हुन सक्ने भयो ।
यसलाई सजिलोको लागि बुझ्न भुसुनो, जीवाणु र विषाणुका आकारलाई हात्ती, खरायो र स्याउसँग दाँज्न सकिन्छ । हात्तीको तौल ५ टन जति हुन्छ र यसको कद ५ मिटर जति अग्लो हुन्छ । यो हिसाबमा हात्तीको अघि माउ खरायोजत्रो देखिन्छ भुसुनोको अघि जिवाणु पनि त्यत्रै देखिनु पर्ने हो ।
हाम्रा आँखाले कपालको रौँभन्दा साना वस्तु देख्न सक्दैनन् । यस्तै माउ खरायोको अघि स्याउ जति सानो देखिन्छ, जीवाणुको अघि पनि विषाणु त्यति नै सानो देखिन्छ । यो काम माइक्रोस्कोपले मात्र गर्न सक्छ ।
अहिले सञ्चारमाध्यममा देखाइएका कोरोना भाइरसका तस्विरहरु माइक्रोस्कोपको सहायताद्वारा हजारौँ गुणा ठूलो पारिएका हुन् ।
यसरी कोरोनाको संक्रमणमा परेका वा सामान्य रुघाखोकी लागेका बिरामीको शरीरमा संवाहक व्यक्ति वा जनावरको माध्यमबाट विषाणुहरु प्रवेश गर्छन् ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका सामान्य व्यक्तिहरुको श्वासप्रश्वास प्रणालीको मुख्य अंग फोक्सोमा रहेका वायुथैलीमा यी विषाणुले प्रवेश पाउँछन् । हाम्रो फोक्सोमा रहेका करौँडोको संख्याका वायुथैलीहरु आकारमा विषाणुभन्दा अलि ठूला हुन्छन् ।
वायुथैलीको काम रगतका नलीले बोकेर ल्याएको कार्वनडाइअक्साइड ग्रहण गर्ने र अक्सिजनलाई रगतमा पठाउने हो । विषाणुले वायुथैलीभित्र रहेका प्रोटिनका अंशमा आक्रमण गरी आफ्नो वृद्धि गर्ने काम गर्छन् ।
सरुवा रोगका विशेषज्ञ डा. विलियम स्काफनरले यो कुरालाई सरल ढङ्गले बुझाएको कुरो न्यु योर्क टाइम्सले केही दिन अघि छापेको थियो । उनले कोष र विषाणुको संवादशैली कल्पना गरेछन् । वायुथैलीमा पुगेर कोषको प्रोटिनलाई आक्रमण गरेको कोरोना विषाणुले भन्छ रे—
‘तिम्रो यथास्थितिको काम अब बन्द गर । अब मेरो वृद्धि गर्ने काममा सहयोग गर ।’
यसरी कोषमा कोरोनाले सिर्जना गरेको विषम परिस्थितिका अघि शरीरको प्रतिरोध क्षमता निहीह भयो भने विषाणुको वृद्धि हुन्छ ।
विषाणुको संख्यात्मक वृद्धिसँगै वायुथैली र रक्तकेशिकाको बीचको पर्दा च्यातिन्छ अनि वायुथैलीको वरिपरि र यिनकै भित्री सतहमा पानी जम्मा हुन्छ । अन्ततोगत्वा वायुथैलीहरु काम गर्न नसक्ने अवस्थामा पुग्छन् ।
यसरी कोरोना कहरको अन्तर्य बुझ्दै जाँदा यसको रोकथाम र प्रतिघातका लागि अहिलेसम्म सशक्त मानिएका एकान्तबास र हुलमुलबाट जोगिने तौरतरिकामा सबैको ध्यानाकर्षण भएको छ ।
अहिले नेपाल लगायत विश्वका अधिकांश मुलुकका नागरिकहरु बन्दघर वा बन्दकोठामा आफूलाई सीमित राख्न बाध्य भएका छन् । यस अर्थमा हाम्रा गाउँघरका करेसाबारी, फूलबारी, आँगन, सिकुवा, मजेरी र गाईगोठका संरचना सहितका घरहरुको सम्झना खासगरी शहरका बन्द कोठामा बस्न बाध्य भएका सर्वसाधारणले गरेका छन् ।
गाउँघरमा ‘म घरमा छु’ भन्नुको अर्थ र शहरमा ‘म घरमा छु’ भन्नुको फरक अहिले हामीलाई अनुभूति भएको छ । पातलो जनसंख्या हुनु र एउटा घरबाट अर्को घरको दूरी पर्याप्त हुनुको महत्व हामीलाई कोरोनाले बुझाएको छ ।
काठमाडांै लगायतका अन्य शहरमा बनेका झ्याल नभएका, प्राकृतिक हावा नचल्ने, आँगन नभएका बन्द घरमा ‘कोरोना कहरको बन्दी’ हुनुको पीडा एकातिर छँदैछ । यसको निकास कसरी हुने भन्नेमा अर्को प्रमुख चिन्ता छ ।
यस्तै बेलामा हो आफ्ना अभिभावकसँग सल्लाहा लिएर आत्मविश्वासको आयतन बढाउने । शनिबार बिहान मकैवालीसँग कुरा भयो । दिउँसो आमासँग फोनवार्ता भयो । मैले आमालाई सोधेँ, ‘यस्तो माहामारी पहिला कहिले भएको थियो ?’
आमाले भन्नु भयो, ‘किन नहुनु । अपुर्वे खटिरोले सारा संसार सोतर भएको थियो । हाम्रै एक आफन्तका पाँचजनाको परिवारमा दुई जना स्वाहा भएका थिए । बिराम सर्ने डरले बितेका मान्छेको सदगति गर्नसमेत मुश्किल भएको थियो ।’
आमाको तात्पर्य बिफर रोगको महामारी थियो भन्ने मैले बुझेँ । मेरो अनुमानमा २०१२—१३ सालतिरको घटना होला ।
यस बारेमा यकिन गर्न ‘नेपालमा महामारीको इतिहास’ विषयमा गुगल खोजी गरेँ तर जानकारी पाउन सकिनँ । मलाई आमाको आत्मविश्वास देखेर केही सान्त्वना मिलेको आभास भयो ।
प्रतिक्रिया