आत्मविश्वासले कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छः मुख्यमन्त्री पोखरेल « Khabarhub

आत्मविश्वासले कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छः मुख्यमन्त्री पोखरेल


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकहरुमा सचेतनाका साथै आत्मविश्वास र मनोबल बढाएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशवासी नाममा आज सम्बोधन गर्दै महामारीसँग जुध्नका लागि सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेकामा जोड दिए ।

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवासीलाई उनले अनुरोध गरे ।

कोरोनाको सङ्क्रमण रोक्न तथा रोकथामका लागि प्रदेश सरकारका तर्फबाट पूर्वतयारीको कामलाई प्रभावकारी बनाइएको बताउँदै उनले सङ्क्रमण भित्रन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा गरी क्रियाशील रहेको बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता औंल्याए ।

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई सम्भावित महामारीबाट बचाउन मङ्गलबारदेखि घोषणा गरेको लकडाउनको आदेश अनिवार्य रुपमा पालना गर्न सबैमा आग्रह गर्दै उनले उक्त आदेश पालना नगरी उल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कानूनअनुसार कारवाही अघि बढाउनेसमेत स्पष्ट पारे ।

उनले कोरोनाको सङ्क्रमण नियन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा टोल बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलवासी पनि बाहिर नजाने व्यवस्था गर्न आग्रह गरे । टोलमा खाद्यान्न र तरकारीक टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्न र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जाने गर्न समेत उनले अनुरोध गरेका छन् ।

चार अस्पताल निर्माण हुँदै

मुख्यमन्त्री पोखरेलले कोरोनाको सम्भावित जोखिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरी चार कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । उनले कोरोना सङ्क्रमणको आशङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक पालिकाले तत्काल २५ शय्याको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पूर्ण व्यवस्थापन गर्ने प्रबन्ध गरिएकोसमेत बताए ।

कोरोना भाइरस नियन्त्रण कोषमा रु १० करोड

मुख्यमन्त्री पोखरेलका अनुसार प्रदेश सरकारले रु १० करोडको कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको जानकारी दिए । उनले मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब जम्मा गरेको समेत जानकारी दिए ।

कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिले रकम जम्मा गर्नेक्रम शुरु भएको जनाउँदै उनले कोषमा सक्दो योगदान गर्न प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, सबै सङ्घसंस्था र सर्वसाधारणमा आग्रह गरे ।

उक्त कोषको कार्यविधि बनाएर कोरोना सङ्क्रमितका लागि मात्र खर्च गरिने बताइएको छ ।

उनले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधि, खाद्यान्न, खाद्यजन्य सामग्री, तरकारीको ढुवानी र बेचबिखन, दूधको ढुवानी र दुग्ध उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको जनाउँदै उक्त सेवामा संलग्न व्यक्तिलाई स्वास्थ्य सुरक्षा अनिवार्य पालना गर्नसमेत अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ०७ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले