‘निषेधाज्ञा मात्रै गर्ने होइन परीक्षण बढाउनु पर्‍यो’ | Khabarhub Khabarhub

‘निषेधाज्ञा मात्रै गर्ने होइन परीक्षण बढाउनु पर्‍यो’


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण लकडाउन र निषेधाज्ञा कायम छ ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमितको संख्या भने घटेको छैन । निषेधाज्ञा गरिएको पहिलो दिन, ३ गते, काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण देखिएको थियो, जसमा काठमाडौंका १३४ जना, भक्तपुरका ८ जना र ललितपुरका १७ जना थिए ।

यस्तै, ४ गते काठमाडौंका १७४, भक्तपुरका ८ र ललितपुरका १८ जना गरी २०० जनामा, ५ गते काठमाडौंका १४२, भक्तपुरका १५ र ललितपुरका २५ जना गरी १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौ ६ गते काठमाडौंका १६०, भक्तपुरका ५० र ललितपुरका ६ जना गरी २१६ जनामा कोरोना पुष्टि भएको थियो । भदौ ७ गते काठमाडौंका १६६, भक्तपुरका १४ र ललितपुरका ३३ जना गरी २१३ जनामा र ८ गते काठमाडौंका १७७, भक्तपुरका १४ र ललितपुरका ३३ जना गरी २२४ जनामा कोरोना पुष्टि भएको थियो ।

भदौ ९ गते काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जना गरी २३२ जनामा संक्रमण देखिएको छ ।यो तथ्यांकले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेको देखाउँछ ।

उपत्यकामा हाल अत्यावश्यकबाहेक अन्य सबै सेवाहरू बन्द छन् तर पनि कोरोना संक्रमण किन घटेन ? निषेधाज्ञाले मात्र कोरोना संक्रमण कम होला ?  दुई जना विज्ञको भनाइ यहाँ प्रस्तुत गरिएको छ-

निषेधाज्ञाले मात्र संक्रमण घट्दैन
जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षित

निषेधाज्ञाले मात्र कोरोना संक्रमण कम हुँदैन । नेपालमा हाल कोरोना संक्रमण समुदायस्तरमै पुगेको छ । केही दिनको तथ्यांकले मात्र उपत्यकाको संक्रमणको अवस्था पहिचान हुन सक्दैन ।

उपत्यकामा निषेधाज्ञा भएको सात दिन भयो । सात दिनमा संक्रमण ह्वात्त घट्ने होइन । संक्रमण त अझै दुई–तीन महिना रहन्छ । यो झनै बढ्ने क्रम रहिरहन्छ । यो वर्षभरि पनि रहन्छ । निषेधाज्ञालाई निरन्तरता दिए पनि निषेधाज्ञाले संक्रमण कम भएको हो कि होइन भनेर हेर्न अझै चार साता कुर्नुपर्छ ।

काठमाडौंको समाजमा व्यापकरूपमा कोरोना संक्रमण छ, समुदायमै छ तर भन्न गाह्रो छ, किनकि परीक्षण नै राम्रोसँग भएको छैन । दिनको दुई–तीन हजार परीक्षण गरेर समुदायको अवस्था थाहा हुँदैन ।

निषेधाज्ञा फेरि बढाइन्छ होला तर निषेधाज्ञा बढाएर मात्र कोरोना संक्रमण घट्दैन । लामो समयको लकडाउनको फाइदा छैन । बरु त्यसले नराम्रो असर गर्छ । संक्रमण एकैपटक ह्वातै बढेको छैन तर बिस्तारै बढिरहेको छ ।

यसको अर्थ के हो भने जति परीक्षण भएको छ, सोहीअनुसार संक्रमितको तथ्यांक आएको छ । परीक्षणको दायरा अझै बढाउनुपर्छ ।

परीक्षण व्यापक नगरेसम्म उपत्यकामा संक्रमणको अवस्था कस्तो छ, भन्न सकिँदैन । परीक्षण धेरैको भएको दिन धेरैमा संक्रमण देखिएको छ, कम परीक्षण भएको दिन कममा देखिएको छ । अब त सबैमा कोरोना संक्रमण छ भन्ने सोचेर मास्क लगाउने र सुरक्षित भएर बस्नुपर्छ । कोरोना संक्रमण अझै बढ्ने भएकाले सरकारले संक्रमितको उपचारमा ध्यान दिनुपर्छ ।

अस्पतालमा लक्षण देखिएका संक्रमितका लागि उपचारको व्यवस्थापन गर्नुपर्छ । सर्वसाधारणले आफ्नो काम गर्दा सकेसम्म सुरक्षा अपनाएर, मास्क लगाएर गर्नुपर्छ । त्यो भन्दा अरू विकल्प छैन । सर्वसाधारणका लागि निषेधाज्ञा र लकडाउन गरेर मात्र संक्रमण कम हुँदैन ।

संसारभर महामारीको रूप लिइरहेको अवस्थामा मृत्युदर कम गराउन कोरोनाको जोखिम समूहलाई कोरोना लाग्नै नदिन र लागेमा पनि विशेष हेरचाह र उपचार गर्न जरुरी छ । अक्सिजन चाहिने बिरामीलाई अक्सिजनको व्यवस्था गरिदिनुपर्छ, परीक्षण व्यापक बनाउनुपर्छ ।

मास्क नलगाई हिँड्नेलाई कडा कारबाही गर्नुपर्छ । सरकारले चेतना जगाउनुपर्छ, मापदण्ड नमान्नेलाई कडा कारबाही गर्नुपर्छ ।

होम आइसोलेशनको मापदण्ड पालना गराउनुपर्छ
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन

होम आइसोलेशन मापदण्डमा भएअनुसार प्रभावकारी छ कि छैन भनेर अनुुगमन भएको छैन । होम आइसोलेशनमा भएका संक्रमितले जनस्वास्थ्यको मापदण्ड पालना नगरेमा कोरोना संक्रमण समाजमा फैलिन सक्छ ।

लक्षणविहीन अवस्थामा रहेका संक्रमितले होम आइसोलेशनमा राम्रोसँग जनस्वास्थ्यको मापदण्ड पालना गरेनन् भने उनीहरूबाट परिवार र समाजमा कोरोना संक्रमण बढ्न सक्छ । होम आइसोलेशनको मापदण्ड कसरी पालना भएको छ भनेर अनुगमन गर्न जरुरी छ ।

अबको १४ दिनसम्म देखिने संक्रमणको अवस्थाले उपत्यका र नेपालमा कोरोना संक्रमण कस्तो अवस्थामा जान्छ भनेर अनुमान गर्न सकिन्छ । निषेधाज्ञा कोरोना रोकथाममा केही हदसम्म उपयोगी भए पनि निषेधाज्ञाको पूर्ण पालना भएको छैन । चार महिना लकडाउन गरेर खुला गर्दा फेरि संक्रमण बढ्यो । लकडाउन र निषेधाज्ञाको पनि समीक्षा गर्न जरुरी छ ।

अहिले निषेधाज्ञा छ तर संक्रमण बढिरहेको छ । निषेधाज्ञा लागू भए पनि टोलमा सानोतिनो कार्यक्रम गर्ने, एक अर्काको घरमा जाने गरेको भेटिन्छ । यस्तो कामले संक्रमण घट्दैन । नेपालमा सुरुमा विदेशबाट आएकामा संक्रमण देखिए पनि हाल नेपालभित्रै रहेकाहरूमा संक्रमण बढेकोले जनस्वास्थ्यको मापदण्ड पालना जरुरी छ, नत्र संक्रमण झन् बढ्छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न व्यक्ति आफैँ पनि जिम्मेवार हुनुुपर्छ । जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । सरकारले स्वास्थ्य सेवा बढाउनुपर्छ । समुदायमा कोरोना संक्रमणको अवस्था थाहा पाउन परीक्षणको दायरा बढाउनुपर्छ ।

समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर निक्र्योल गरेरमात्र कुन क्षेत्र सिल गर्ने, स्वास्थ्य संस्थाको व्यवस्थापन कसरी गर्ने र जनशक्ति कति चाहिन्छ भन्ने थाहा हुन्छ । सोहीअनुसार काम गर्नुपर्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ४९ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय