बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा « Khabarhub

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ ।

देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन् ।

देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान छन् । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ ।

उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन् ।

यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात छन् ।

सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्‍याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।

‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः’ देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

आजै दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।

घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

तलेजु भवानी मन्दिर नखुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उनले बताए । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।

वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो । तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए ।

लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ३२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।