काठमाडौँ- पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार पोखरामा मात्रै थप चार संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
असोज ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार बिहान साढे ९ बजे बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ ।
उनमा कात्तिक ०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । ७ गते अस्पताल भर्ना उनमा निमोनियाको पनि समस्या रहेको थियो ।
पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार दिउँसो ४:२५ बजे मृत्यु भएको छ ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा मृत्यु भएको हो । कात्तिक ७ गते कोरोना पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका-१५ का ५२ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
कांग्रेस नेताको मृत्यु
मोरङको विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका ८ का मण्डललाई उनको प्लाज्मा थेरापी विधीबाट विराट मेडिकल कलेजमा उपचार सुरू गरिएको थियो ।
उपचारका क्रममा उनको शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
यस्तै सुनसरीको धरान उपमाहानगरपालिकामा पनि थप एक संक्रमितको मृत्यु भएको छ ।
धरान १७ का ६२ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए।
असोज २० गते कोरोना पुष्टि भएकी ती महिलालाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । उनमा मिर्गौलासम्बन्धी पूरानै समस्या रहेको डा.श्रेष्ठले बताए ।
धनगढीमा पनि थप एक संक्रमितको मृत्यु भएको छ । डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको हो । जेभी आयल स्टोर दिपायलमा कार्यरत कोरोना संक्रमित कर्णबहादुर भण्डारीको मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो ।
प्रतिक्रिया