‘मेरो गाउँ, मेरो ठाउँ’ अन्तर्राष्ट्रियकरण गर्न एनआरएनएको सहकार्य | Khabarhub Khabarhub

‘मेरो गाउँ, मेरो ठाउँ’ अन्तर्राष्ट्रियकरण गर्न एनआरएनएको सहकार्य


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रियकरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वि विल राइज फाउण्डेशनसँग सहकार्य गर्ने भएको छ ।

संघको सचिवालय, बालुवाटारमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच आधिकारिक रुपमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

“नेपालीका लागि नेपाली भन्ने भावनाका साथ विश्वका ८० भन्दा बढी मुलुकमा सक्रिय एनआरएनएको यो सहकार्य, नयाँ कार्यसमितिको गठन पश्चात् एनआरएनएको व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागकै पहिलो कार्यका रुपमा हामीले अघि बढाएका छौं । यसले पक्कै पनि ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका हाम्रो गाउँठाउँलाई विश्वव्यापी रुपमा चिनाउन तथा दीर्घकालीन रुपमा त्यहाँको सामाजिक–आर्थिक उन्नतीमा टेवा पुर्‍याउन अहम भूमिका निर्वाह गर्नेछ”, संघका उपाध्यक्ष एवम् व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले बताए ।

“समग्र राष्ट्रको अर्थतन्त्रको बलियो मेरुदण्डमध्येको एक पर्यटन नै हो । प्रभावकारी पर्यटनका निम्ति पूर्वाधार विकास नै पहिलो मापदण्ड हो तर पूर्वाधार विकास गर्न पनि पहिले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका गाउँठाउँको पहिचान गर्नु महत्वपूर्ण हुन्छ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज त्यस्ता गाउँठाउँ, त्यहाँको विशेषता र अवस्था पहिचान गर्ने अभियान हो । एनआरएनएको सहकार्यले यस अभियानलाई राष्ट्रिय स्तरबाट उत्थान गरी अन्तर्राष्ट्रियकरण गर्नेछ । साथै विजेता भिडियोहरुले अन्तर्राष्ट्रिय डबलीमा प्रदर्शनी गर्ने अवसर पनि पाउनेछन् भन्ने विश्वास छ”, वि विल राइज फाउण्डेशनका संस्थापक अध्यक्ष तथा अभियानका संयोजक निर्मल श्रेष्ठले उल्लेख गरे ।

“आफ्नो गाउँठाउँलाई प्रवद्र्धन गर्ने दायित्व सबैभन्दा पहिले आफ्नै हो भन्ने भावना जगाउने जगाइदिने प्रयास सँगै आफूमा निहित प्रतिभा प्रस्फुटन गर्ने अवसरका रुपमा हामीले यस मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जलाई लिएका छौं । यसले ओझेलमा परेका गाउँठाउँको पहिचान, प्रचार मात्र होइन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा त्यहाँका स्थानीय युवाजमात्मा उद्यमशील सोचको बीजारोपण पनि गर्छ । यस्तै सोच र कार्यले नै सिर्जनशील उद्यमीहरुको जन्म हुने हो, व्यापार व्यवसायमा युवा आकर्षित बन्ने हो र नेपालले आर्थिक समृद्धिको बाटो तय गर्ने हो । एनआरएनएको व्यापार, उद्योग र नेपाल प्रवद्र्धन विभागको उद्देश्यलाई यस भिडियो च्यालेन्जले अझ थप उजागर गर्ने हुँदा सहकार्य गरेका हौं”, विभागका सदस्य सचिव तथा एनआरएनए–अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य रमेश काफ्लेले जोड दिए ।

समारोहमा फाउण्डेशनका तर्फबाट परिचालन निर्देशक तथा नाडाका सचिव अनुप बराल, सदस्यहरु राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा पूर्वकप्तान राजु काजी शाक्य र पत्रकार आरोही तथा कलाकार रोजिता बुद्धाचार्य एवम् सद्भावना राजदूत सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा साथै एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष डा. हेमन्त दवाडी र एनआरएनए–हङकङका अध्यक्ष राधिका गुरुङ तथा महासचिव गोकर्ण ढकालको उपस्थिती थियो ।

गतवर्ष आयोजित यसै प्रतियोगितामा सातै प्रदेशबाट उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भएका थिए । उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित थियो । यसपटक गण्डकी प्रदेश र गैरआवासिय नेपाल संघले समेत यस अभियानमा सह–आयोजकका रुपमा सहकार्य गर्दैछ ।
यसवर्ष सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी (१९२०×१०८०) पिक्सेलको र समय अधिकतम ५ मिनेटको हुनुपर्ने छ ।

प्रतियोगीहरुले फाउण्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मण्डलले आएका भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ३३ बजे

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौं – हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन