काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दोस्रो चरणको सिरिज स्थगित भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएको जानकारी दिएको हो ।
सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियो ।
आईसीसीले विज्ञप्ति जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ ।
यसअघि, लिग–२ अन्तर्गत दोसो तथा सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियो ।
आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर, मिति भने केही समय पछि नै घोषणा हुनेछ । यस्तै लिग–२ अन्तर्गतकै पपुपा न्युगिनीमा हुने तय भएको नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज समेत स्थगित भएको छ । सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहको थियो ।
यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो । नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।
प्रतिक्रिया