अस्पतालले कोरोना नेगेटिभ रिपोर्ट खोज्न थालेपछि बिरामीलाई सास्ती | Khabarhub Khabarhub

अस्पतालले कोरोना नेगेटिभ रिपोर्ट खोज्न थालेपछि बिरामीलाई सास्ती

अर्को अस्पतालमा उपचार पाउन टेकुमा भिड


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनअघि दुर्घटनामा परेका एक जना बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पुगे ।

ती बिरामी एम्बुलेन्सभित्रै थिए । उठ्न सक्ने अवस्थामा थिएनन् ।

टेकु अस्पताल सरुवा रोगको उपचार गर्ने अस्पताल हो । दुर्घटनामा परेका बिरामीको उपचार गर्ने जनशक्ति र स्रोतसाधन त्यहाँ छैन ।

दुर्घटनाका बिरामी आएपछि अस्पतालका मेडिकल अफिसर डा. श्रवणकुमार मण्डलले सोधे– दुर्घटनाका बिरामीलाई किन यहाँ ल्याएको ?

ती बिरामी अर्कै अस्पताल गएको र कोरोना नेगेटिभ छ भन्ने रिपोर्ट लिएर आएपछि मात्र उपचार हुने भनेपछि टेकु अस्पताल आउनुपरेको घाइतेका आफन्तले बताए ।

टेकु अस्पतालले दुर्घटनाका ती बिरामीको आरडीटी परीक्षण गरिदियो । परीक्षणको नेगेटिभ रिपोर्ट लिएर उनीहरू सम्बन्धित अस्पतालमा गए ।

यो एउटा प्रतिनिधि घटनामात्र हो । शुक्रराज अस्पतालमा यस्ता समस्या लिएर अन्य रोगका बिरामीहरू आउने गरेको डा. मण्डल बताउँछन् ।

उनले खबरहबसँग भने, ‘अहिले लक्षणबिहीन कोरोना देखिएकोले संक्रमण छ कि भनेर चिन्ता हुनु त स्वाभाविक हो । तर दुर्घटनाका घाइतेलाई पहिले उपचार गर्नुपर्नेमा कोरोनाको रिपोर्ट खोज्नु अमानवीय कार्य हो ।’

अस्पतालहरूले कोरोना आशंका गरिएकालाई पनि सोहीअनुसारको व्यवस्थापन गरेर रोगको उपचार गर्नुपर्ने डा. मण्डलको भनाइ छ । उनले भने, ‘अस्पतालहरूले पहिला कोरोनाको रिपोर्ट मागेका छन् भनेर बिरामीहरू आउँदा दुःख लाग्छ । यस्तो केस अहिले धेरै बढेको छ ।’

डा. मण्डल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यारत छन् । उनी अस्पतालको आकस्मिक कक्षमा खटिने गरेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि टेकु अस्पतालमा कोरोना परीक्षण गराइदिनू भन्दै पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ । बिहान ९ देखि अपराह्न २ बजेसम्म बहिरङ्ग सेवा (ओपीडी) खुल्छ । कोरोनाको आशंकामा आउनेहरूलाई लक्षण, ट्राभल हिस्ट्री लगायतका आधारमा अस्पतालले आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने गरेको छ ।

आरडीटी परीक्षणको रिपोर्ट तत्काल आउने भए पनि पीसीआर विधिको रिपोर्ट आउन बढी समय लाग्छ । घरधनीले कोठामा जान नदिएको, अस्पतालमा उपचार गर्न जाँदा कोरोना संक्रमण नभएको रिपोर्ट मागेको भन्दै मानिसहरू टेकु अस्तालमा पुग्छन् ।

सबैलाई तत्काल कोरोना परीक्षण गरेर रिपोर्ट दिन सम्भव हुँदैन । कोरोनाको रिपोर्ट नभएका कारणले बिरामीको उपचार रोकिन हुँदैन भन्ने डा. मण्डलको धारणा छ । उनी परीक्षणका लागि आउने व्यक्तिलाई काउन्सिलिङको काम पनि गर्छन् ।

उनका अनुसार घरधनीले पीसीआर परीक्षण गरेर रिपोर्ट लिएर आउनु भनेको छ भन्दै मानिसहरु साँझमा पनि आइरहेका हुन्छन्, भोलिपल्ट आउनुभन्दा रिसाउँछन् । डा. मण्डल भन्छन्, ‘पीसीआर परीक्षणको लागि ल्याबको प्राविधिक नमूना लिएपछि जाँच हुन्छ, अन्य स्वास्थ्य परीक्षण जस्तो हुँदैन । साँझमा आउने व्यक्तिलाई सकेसम्म सम्झाएर पठाउने गरेका छौँ ।’

विमानस्थलमा सामान्य मास्कको भर

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि डा. मण्डल केही दिन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि खटिए । चीनमा संक्रमण फैलिँदै गर्दा नेपालमा त्यति धेरै त्रास थिएन । विमानस्थलमा चीनबाट आउने व्यक्तिहरूको ज्वरो परीक्षणका लागि उनी मास्क लगाएर ड्युटीमा थिए ।

‘चीनमा कोरोना फैलिन सुरु गर्दा विमानस्थलमा हेल्थ डेस्कमात्र थियो, कोरोनाकै लागि भनेर विशेष तयारी थिएन, हामीले चीनबाट नेपाल आउनेहरूको ज्वरो परीक्षण गर्नुपर्ने हुन्थ्यो,’ डा. मण्डलले भने, ‘त्यो बेलामा साधारण मास्कका भरमा काम गरियो ।’

पछि विमास्थलमा खटिएका स्वास्थ्यकर्मीलाई पनि सुरक्षा सामग्रीको प्रबन्ध भयो ।

पीपीई जोगाउन २४ घण्टे ड्युटी

शुक्रराज अस्पताल, टेकुमा कोरोना संक्रमित देखिनुअघि चिकित्सकहरु तीन सिफ्टमा ड्युटीमा हुन्थे । डा. मण्डलका अनुसार अहिले २४ घण्टा ड्युटी गरेपछि अर्को ४ दिनपछि पालो आउने गरी अस्पतालले चिकित्सकको ड्युटी मिलाएको छ ।

कोरोना संक्रमित बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) जोगाउन पनि चिकित्सकहरू २४ घण्टा ड्युटीमा खटिन थालेको डा. मण्डलको भनाइ छ ।

‘पहिला त हाम्रो तीन सिफ्टमा ड्युटी हुन्थ्यो, बिहान एउटा चिकित्सक, दिउँसो अर्को र राति अर्को हुन्थ्यो । यसो गर्दा एक दिनमा धेरै चिकित्सकलाई छुटछुट्टै पीपीई आवश्यक पर्ने हुन्छ,’ डा. मण्डलले भने, ‘पीपीईको पनि बचत हुन्छ र चिकित्सकमा पनि संक्रमण हुने खतरा कम हुन्छ भनेर अहिले २४ घण्टा खटिने गरी व्यवस्थापन गरिएको छ ।’

२४ घण्टा ड्युटी गर्दा अस्पतालमा आउने संक्रमितबाट आफूहरूमा कोरोना संक्रमण हुने जोखिम पनि कम हुने डा. मण्डलको बुझाइ छ ।

‘एक जना चिकित्सकले २४ घण्टा ड्युटी गरेपछि उसको अर्को पालो ४ दिनपछि आउँछ,’ उनले भने ‘एकैदिन ३ सिफ्ट हुँदा संक्रमितलाई एक दिनमा ३ जना डाक्टरले हेर्दा संक्रमण सर्ने जोखिम ३ जनामा हुन्छ । तर २४ घण्टा ड्युटीले एक दिनमात्र जोखिम हुन्छ ।’

घरमा परिवारसँग दूरी

जनकपुर स्थायी ठेगाना भएका डा. मण्डल काठमाडौँमा आमा र दाजुभाउजुसँग बस्छन् ।

दाजुभाउजु पनि मेडिकल क्षेत्रकै भएकाले घर परिवारमा समन्वय गर्न सजिलो भएको उनले बताए । उनी आफ्नो ड्युटी पूरा गरेर घर फर्किन्छन् तर परिवारसँग भने दूरी कायम गर्दै सुरक्षाका अन्य उपायहरू पनि अवलम्बन गर्ने गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : ०० बजे

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु