काठमाडौं – नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैशाख २५ गतेपछि लकडाउन जारी नै रहेपनि सेयर बजार खोल्ने तयारी गरेका छन् ।
४५ दिनसम्म सेयर बजार बन्द हुँदा त्यसले लगानिकर्तामा निराशा छाएको तथा अर्थतन्त्र नै चलायमान नभएको निष्कर्षसहित बोर्ड र नेप्सेले मोडालिटी तयार गरी निश्चित अवधिका लागि भए पनि कारोबार खोल्ने तयारी गरेका हुन् ।
‘कोरोनाको प्रभाव शेयर बजारमा’ भन्ने शीर्षकमा मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको ‘भर्चुअल’ अन्तरक्रियामा बोल्दै बोर्डका अध्यक्ष भिष्म ढुङ्गाना र नेप्सेका प्रमुख चन्द्रसिंह साउदले बैशाख २५ पछि सेयर बजार खोल्नेबारे गृहकार्य भएको जानकारी दिएका हुन् ।
वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा भने थोरै समयका लागि कारोबार खुल्ला गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको र मोडालिटी टुंगिन बाँकी रहेको बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिए ।
उक्त अन्तरक्रियामा लकडाउन खुलेको दुई देखि तीन महिनाभित्र पूर्णस्वचालित अनलाईन कारोबार लागू गरिने गरी काम अघि बढाइएको समेत जानकारी दिइएको छ ।
बोर्डका अध्यक्ष ढुंगानाका अनुसार अनलाइन कारोबार पूर्णस्वचालित बनाउँन नेप्से र बोर्ड दुबै लागि परेको छ ।
सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गत चैत्र ११ गतेदेखि सुरु गरेर चौथो पटक थपेको लकडाउन बैशाख २५ गते सकिनेछ ।
प्रतिक्रिया