सम्पादकीय : गणतन्त्रका १२ वर्ष « Khabarhub

सम्पादकीय : गणतन्त्रका १२ वर्ष


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज गणतन्त्र दिवस । संविधानसभाको निर्वाचनपछि बसेको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । त्यही घोषणाबाट करिब २४० वर्षको राजसंस्था बिदा भयो ।

गणतान्त्रिक शासन व्यवस्थाको १२ वर्ष पूरा भएको छ । राजा विस्थापित भएर राष्ट्रपतिको तेस्रो कार्यकाल चल्दैछ । गणतन्त्र स्थापनापछि दशौँ सरकार चल्दैछ ।

यही अवधिमा एउटा संविधानसभा कार्यकाल दोब्बर बनाएर चार वर्ष पुर्‍याउँदा पनि संविधान जारी गर्न असफल भयो । जनप्रतिनिधिको सरकारबाटै अर्को संविधानसभाको निर्वाचन गराउन दलहरूबीच सहमति हुन सकेन बरु उनीहरू संविधान संशोधन गरेर प्रधानन्यायाधीशको अध्यक्षतामा पूर्वप्रशासकहरूको सरकार बनाउन सहमत भए ।

प्रधानन्यायाशीलाई पदमा वहालै राखेर सरकार प्रमुख बनाउने निर्णय कानुनी सिद्धान्तका दृष्टिले आलोचित भए पनि संकट समाधानको सकारात्मक परिणामका लागि आमरूपमा स्वीकार्य भयो ।

प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार निर्वाचन गराएर अर्को संविधानसभा गठन गर्न सफल भयो । नेपालको निर्वाचन इतिहासमा सबैभन्दा बढी मत खस्यो । निकासको वैकल्पिक उपाय सफल भयो । त्यही संविधानसभा संघीय शासन प्रणालीसहितको संविधान जारी गर्न सफल भयो ।

कतिपय विश्लेषकहरूको धारणा छ– २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले संविधान निर्माणको सवालमा नेताहरूबीच सहमतिको वातावरण बनाउन उत्प्रेरणाको काम गर्‍यो । भूकम्पले नेताहरूमा के कस्तो मनोवैज्ञानिक प्रभाव बनायो भन्ने वैज्ञानिक अनुसन्धान भएको छैन तर सकारात्मक सोच विकास भएको कुरा कतिपय नेताहरू पनि मान्छन् ।

भनिन्छ, बाह्र वर्षमा खोलो पनि फर्किन्छ ।

गणतन्त्रको १२ वर्षमा भने राजनीतिको खोलो फर्किन नसकेको धारणा राख्नेहरू धेरै भेटिन्छन् । राजाका ठाउँमा राष्ट्रपति आउनु र नारायणहिटीको साटो शीतल निवास हुनुबाहेक ठोस परिवर्तन हुन सकेन, शासन शैली उही रह्यो, आमजनजीवनमा देखिने गरी केही पनि परिवर्तन भएन भन्ने गुनासो जताततै सुन्न पाइन्छ ।

राजनीतिक परिवर्तन शासनशैलीमा देखिनु पर्छ । आमजनजीवनमा देखिनु पर्छ । तुलनात्मकरूपमा सकारात्मक परिणामहरू देखिनु पर्छ । निर्दलीय पञ्चायती शासनको तीस वर्षसहित आजसम्मका करिब ६२ वर्षमा विकास र जनजीवनमा राजनीतिक व्यवस्था परिवर्तनको भूमिका र समयले विकास गरेको प्रविधिको भूमिका कुन बलियो छ भन्ने समाजशास्त्रीय अध्ययन भएको छैन ।

आमजनसाधारणमा भने राजनीतिक परिवर्तनका कारणले मात्र जनजीवनमा परिवर्तन आएको नभई विश्वस्तरमा विकसित प्रविधिको परिणाम हो भन्ने धारणा पाइन्छ । हुन पनि गणतन्त्रकै कारण आमजनजीवनमा परिवर्तन वा सुधार भएको देखाउने सर्वसम्मत र ठोस परिणाम देखिँदैन ।

हो, राजनीतिको उच्च तहसम्म पहुँच भएका सीमित व्यक्तिहरूको जीवनशैलीमा द्रुत गतिमा परिर्वतन भएको छ । देखिने आम्दानीबिनै अधिकांश नेता र तिनका सहयोगीहरूले राजधानी उपत्यका र ठूला शहरमा महल बनाएल जग्गा जोडे । महँगा गाडी किने । विदेशमा सम्पत्ति जोडे । आफ्ना छोराछोरीलाई सरकारी र विदेशी छात्रवृत्तिमा विदेशमा पढाए ।

दैनिक गरीखाने वर्गको जीवन जहाँको त्यही रह्यो । देशमा रोजगारीको अवसर सिर्जना भएन । वार्षिक पाँच लाखको हाराहारीमा युवाहरू सस्तैमा श्रम बेच्न खाडी मुलुक गए । सरकारले स्वरोजगारी प्रवर्द्धनको साटो युवाहरूको विदेश निर्यात बढायो । हुँदा हुँदा कोरोना भाइरस संक्रमणका कारणले संकटमा परेर स्वदेश फर्किन चाहनेहरूलाई हाम्रा जहाजले ल्याउन कति समय लाग्छ भनेर प्रधानमन्त्रीले प्रश्न गर्नुपर्ने अवस्था सिर्जना भयो ।

शासनमा सुधार भएको कुरा तथ्य–तथ्यांक र अनुभूति दुवैतिर देखिनु पर्छ । सरकारसँग सफलता देखाउने तथ्यांकहरू धेरै होलान् तर आमअनुभूतिमा देखिएको छैन । सुशासन व्यवहारमा देखिनुपर्छ, प्रत्येक व्यक्तिले अनुभूत गर्नुपर्छ । तथ्यांक बुझेर पर्गेल्ने क्षमता प्रत्येक व्यक्तिमा हुँदैन तर अनुभूति प्रत्येकले गर्न सक्छ ।

सुशासन बढ्यो, रोजगारी बढ्यो, भ्रष्टाचार नियन्त्रण हुँदैछ भनेर सन्तोष गर्ने ठाउँ छैन । कानुनमा शासन प्रणाली र पद्धति बदलियो, आमूल परिवर्तन भयो तर आमजनजीवनमा अनुभूति भएन ।

निश्चय नै राजनीतिक उपलव्धिका दृष्टिले हाम्रो परिवेशमा राजसंस्थाको तुलनामा गणतन्त्र अग्रगामी फड्को हो । यो फड्को आमजीवनमा व्यावहारिक रूपान्तण हुनुपर्छ । यसो नभएसम्म गणतन्त्रको सफलतामा प्रश्न उठिरहन्छ । नवधनाढ्य वर्गको विकास राजनीतिक उपलव्धि होइन । गणतन्त्रकै कारणले आमजनजीवनमा सकारात्मक परिवर्तन र सुधार भएको देखिनुपर्छ ।

गणतन्त्रका १२ वर्षमा खोलाले धार अवश्य फेर्यो तर खोलो फर्केन । जबसम्म गणतन्त्र स्थापना भएको र संविधानसभाले संविधान जारी गरेको राजनीतिक उपलव्धि आमसर्वसाधारणको दैनिक जीवनमा देखा पर्दैन तबसम्म गणतन्त्र शासकको परिवर्तन मात्रै ठहरिन्छ, शासन पद्धतिमा सुधार ठहरिँदैन । गणतन्त्र आमजनजीवनमा प्रकट हुन सकेको छैन । रातारात ठूलो परिवर्तन हुँदैन तर हुन थालेको देखिनुपर्छ । यो नदेखिनुमै छ गुनासो ।

यसवर्ष कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण गणतन्त्र दिवसको कुनै औपचारिक कार्यक्रम छैन । यही संकटभित्रै आजै संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ । वर्तमान सरकारसँग खोलो फर्काउने अवसर धेरै छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : २० बजे

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

पाल्पा – रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने

तुलसीपुरमा तरकारी बजार सञ्चालनमा

दाङ – दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ।

कोभिडविरुद्ध चीनमा प्रदर्शनकारीको जित

चीनमा सरकारको कोभिड योजना नयाँ चरणमा प्रवेश गरेको छ। त्यहाँको

‘कसैले पनि यी नेताबाट आश नगर्दा पनि हुन्छ’

काठमाडौँ -अहिलेको निर्वाचनको नतिजा आएपछि कसको नेतृत्वमा सरकार बनाउने भनेर

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

रेसुङ्गा – स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ।