काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्वासी परिवार यतिबेला बहुआयामिक सङ्कटमा परेका छन् । एकातिर उनीहरूलाई दैनिक गाँस, बास र कपासको चिन्ताले सताएको छ भने, अर्कोतिर सेन्टरभित्रै बढ्दो असुरक्षा र लागुऔषध दुर्व्यसनीको खुला बिगबिगी उनीहरूका लागि नयाँ र ठुलो चुनौती बनेको छ ।
एउटै ठुलो हलको छाना मुनि सिङ्गो बस्तीका सयौँ मानिस सामूहिक रूपमा बस्नुपर्दा आफूहरू सुरक्षित नरहेको आश्रित बताउँछन् । झ्याल–ढोका समेत नभएको प्लास्टिकको टेन्टमा चेनको भरमा बस्नुपर्ने बाध्यता छ ।
“महिला र पुरुष सबै एकै ठाउँमा छौँ । कसको नियत कस्तो छ, कसैलाई थाहा हुने कुरा भएन । त्यसैले रातभर ढुक्कले निदाउन पनि पाइँदैन,“ सेन्टरमा आश्रय लिइरहेकी एक महिलाले आफ्नो डर र पीडा पोखिन् ।
असुरक्षाकै कारण उनीहरूको दैनिक रोजगारी समेत खोसिएको छ । थापाथलीमा हुँदा छोराछोरीलाई स्कुल पठाएर श्रीमान्–श्रीमती दुवै काममा जाने गरेको स्मरण गर्दै अर्का एक आश्रितले भने, “यता त टेन्ट छोडेर एकैछिन कतै निस्कनै मिल्दैन, सामान हराइहाल्छ । एक जनाले त कुर्नैपर्छ ।“
होल्डिङ सेन्टरभित्रै लागुपदार्थको खुला सेवन, वातावरण भयभीत
पीडितको बसाइ त्यतिबेला थप भयभीत बन्यो, जब होल्डिङ सेन्टरभित्रै केही युवायुवतीले खुला रूपमा लागुपदार्थ सेवन गर्ने र सुई लगाउने गरेको पाइयो । आश्रित परिवारका अनुसार केही दिनअघि मात्रै केही युवालाई भित्रै सुई हान्दै गरेको अवस्थामा रङ्गेहात फेला पारिएको थियो । सेन्टरभित्र सुईहरू समेत भेटिन थालेपछि बालबालिका र महिलाको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ ।

सुरक्षाकर्मीको अभाव र व्यावहारिक बाध्यता
सेन्टरको मुख्य गेटमा सुरक्षाका लागि जम्मा चार जना मात्रै सुरक्षाकर्मी खटिएका छन्, जुन पर्याप्त छैन । गेटमा खटिएकी एक महिला प्रहरीले भित्र लागुऔषध भित्रिने गरेको कुरालाई स्वीकार गरिन् । तर, सुरक्षा जाँचमा व्यावहारिक कठिनाइ रहेको उनको भनाइ छ ।
“बाहिर निस्कने वा भित्रिनेलाई सोधपुछ गर्दा ’हामीलाई कैदी जस्तो व्यवहार नगर्नुस्, काममा हिँडेको’ भन्दै उल्टै थर्काउँछन्,“ उनले भनिन्, “म एक्ली महिला प्रहरी भएकाले पुरुषको शारीरिक खानतलासी गर्न मिल्दैन । उनीहरूले कहाँ र कतिखेर लागुपदार्थ लुकाएर भित्र्याउँछन्, पत्तै हुँदैन ।“
राधास्वामी आश्रमका स्वयंसेवक पनि यो समस्याबाट आजित भइसकेका छन् । प्रहरीले सोधपुछ गरे पनि खल्ती चेक नगर्ने र बिनाउजुरी वा प्रमाण प्रहरीले कसैलाई थुन्न नमिल्ने हुँदा सम्झाउनुबाहेक अर्को विकल्प नरहेको स्वयंसेवकहरू बताउँछन् । लागुऔषधको बानी परेकाहरूले पर्खालबाटै पनि सामान भित्र्याइरहेको हुन सक्ने आश्रमको आशङ्का छ ।
डुबानको अर्को खतरा
समस्या यतिमा मात्रै सीमित छैन । वर्षायाम सुरु भइसकेको छ र यो होल्डिङ सेन्टर रहेको क्षेत्र वर्षैपिच्छे डुबानमा पर्ने ठाउँ हो । स्थायी व्यवस्थापन नभएकाले आश्रमले पनि कुनै दीर्घकालीन उपाय सोच्न सकेको छैन । हाल सरकारले त्यहाँ रहेका मानिसको लगत डाटा सङ्कलन गरिसकेको र त्यसैका आधारमा छानबिन भइरहेको बुझिएको छ । आश्रमका स्वयंसेवक केही दिनमा सरकारले व्यवस्थापन गर्ने आशमा छन् ।
सरकारलाई पीडितको प्रश्न
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीडितहरूले सरकारको फितलो व्यवस्थापनप्रति तीव्र आक्रोश पोखेका छन् । “होल्डिङ सेन्टर भनेको मान्छेलाई ल्याएर थुन्ने ठाउँ मात्र होइन,“ एक पीडित महिलाले भनिन्, “यहाँभित्र रहेका दुर्व्यसनीलाई सुधार्ने र हामी महिला तथा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर सरकारले बेलैमा सोच्नुपर्दैन ?“

सामूहिक बसाइ, फितलो सुरक्षा पहरा, वर्षाको आगमन र लागुऔषधको बढ्दो बिगबिगीका कारण यो होल्डिङ सेन्टर कुनै पनि बेला गम्भीर सामाजिक अपराधको केन्द्र बन्न सक्ने खतरा देखिएको छ । स्थानीय प्रहरी प्रशासनले सुरक्षाकर्मीको सङ्ख्या थप गर्ने र निगरानी बढाउने दाबी गरे पनि सम्बन्धित उपल्लो निकायले तुरुन्तै ध्यान दिई यसको स्थायी समाधान खोज्नु आवश्यक देखिएको त्यहाँ खटिएका स्वयंसेवक बताउँछन् ।












प्रतिक्रिया