पुनर्निर्माण प्राधिकरणको ५ वर्ष | Khabarhub Khabarhub

पुनर्निर्माण प्राधिकरणको ५ वर्ष

निजी आवास पुनर्निर्माण ९० प्रतिशत सम्पन्न, सम्पदातिर सुस्त



काठमाडौँ– भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाहरूको मर्मत सम्भार तथा पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ वर्ष म्याद पूरा गरेको छ ।

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जित कुल बजेट ४८८ अर्ब रुपैयाँ हो । यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरूको समेत गरी कुल ३३९ अर्ब रुपैँया खर्च भएको छ ।

दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको रकम ४१० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य काममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २९४ अर्ब रुपैयाँमात्र रहेको प्राधिकरणले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपर्युक्तमध्ये २३८ अर्ब रुपैँयाका लागि सम्झौता भई स्रोत सुनिश्चित भएको र यसका अलावा गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपैयाँ परिचालन गर्न सम्झौता भई करिब ७२ अर्ब रुपैँया परिचालन भएको छ ।

प्राधिकरणको म्याद ५ वर्ष रहे पनि पुनर्निर्माण बाँकी रहेकाले मन्त्रिपरिषदको गत मंसिर १५ गते बसेको बैठकले एक वर्ष थपेको छ । थपिएको म्यादमा सबै पुनर्निर्माण सम्पन्न हुने ज्ञवालीको भनाइ छ ।

‘सरकारले प्राधिकरणको कार्यवधि एक वर्ष थप गरेको छ, जसअनुसार २०७८ पुस १० सम्मको समय रहेको छ’ उनले भने, ‘आगामी एक वर्षभित्र पुनर्निर्माणको सबै काम सकिनेछ ।’

५ वर्षको प्रगति

निजी आवास : प्राधिकरणले निजी आवास पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको जनाएको छ । पुनर्निर्माणका लागि ७ लाख ९६ हजार २४५ लाभग्राहीसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४८७ अर्थात् ७० प्रतिशत लाभग्राही घर पुनर्निर्माणको अन्तिम चरणमा छन् ।

प्राधिकरणले निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९७३ गुनासाहरूको सम्बोधन गरेको छ । गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीको संख्या १ लाख ६ हजार ४६५ छ । प्रबलीकरण लाभग्राहीको संख्या ६७ हजार ६८१ छ ।

प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा चित्त नबुझेकाहरूका लागि जिल्लामै पुनरावेदन दर्ता गरी समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था छ ।

बस्ती व्यवस्थापन : भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २५७ बासिन्दालाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, ११ हजार ४३७ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । एक हजार ३५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

प्राधिकरणले १३० एकीकृत निर्माण गर्ने भनेकोमा ५० वटा पूरा भएको छ । अन्य बस्ती निर्माणधीन छन् । निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा पनि पनि तोकिएको छ । हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नु पर्ने भनिएको । यसपछि भने यस्तो सुविधा उपलव्ध हुनेछैन ।

पहिलो किस्ता लिइसकेका लाभग्राहीहरूले कम्तीमा जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता लिन २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूले तेस्रो तथा अन्तिम किस्ता लिन कम्तीमा छानो छाउनुअघिको काम सम्पन्न गरी २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने वा सामान्य मर्मतसम्भार गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि भनिएको छ ।

सांस्कृतिक सम्पदा : क्षतिग्रस्त ९२० वटा सम्पदामध्ये ४६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी सम्पदा पुनर्निर्माणको चरणमा छन् ।

काठमाडौँस्थित ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माण सम्पन्न भएको छ । धरहराको २०औँ तलाको काम चालु छ । अब दुई तला बाँकी छ ।

बबरमहल, केशरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरूको जिर्णोद्धार एवं पुनर्निर्माण द्रुत गतिले अघि बढेको जनाइएको छ ।

बृहत्तर टुँडिखेल, लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोर्खा एवं नुवाकोट दरबार, एवं सातवटा पुरातात्विक सम्पदाहरूको गुरुयोजना स्वीकृतको चरणमा छन् । गुरुयोजनाका आधारमा ती क्षेत्रको बृहत्तर संरक्षण र विकास कार्य अघि बढ्ने छन् ।

यसमा दक्ष जनशक्ति, निर्माण सामग्री, धार्मिक तथा सांस्कृतिक पक्षको संरक्षण, स्थानीय समुदायसँगको सहमति, सम्पदासम्बन्धी विश्वव्यापी मान्यता, काष्ठकला तथा मूर्ति निर्माणका लागि लाग्ने समयसमेत ध्यान दिनुपर्ने हुँदा पुनर्निर्माणमा बढी समय लागेको ज्ञवालीको भनाइ छ ।

शैक्षिक संस्था : भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ६ हजार ८५ अर्थात् ८१ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ ।

१९ प्रतिशत अर्थात् १ हजार ४६८ वटा विद्यालय पुननिर्माणको क्रममा छन् । चालु आर्थिक वर्षको अन्त्यसम्म सबै विद्यालय भवनको पुनर्निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

स्वास्थ्य संस्था : भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भवनमा क्षति पुर्‍याएको थियो । यीमध्ये हालसम्म ६९८ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । बाँकीको चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

सरकारी भवन : भूकम्पबाट क्षतिग्रस्त ४१५ सरकारी भवनमध्ये ३७४ वटा अर्थात् ९० प्रतिशतको निर्माण सम्पन्न भएको छ ।

बाँकी ३८ वटाको निर्माणाधीन छन् । पुनर्निर्माणमा सबैभन्दा बढी प्रगति सरकारी भवनमा भएको छ ।

गुम्बा पुनर्निर्माण

पाँच वर्षमा गुम्बा पुनर्निर्माणले भने गति लिन सकेको छैन । कुल १ हजार ३२० वटा गुम्बामा क्षतिथ भएकोमा ८९५ वटा पुनर्निर्माण र ४०२ वटाको मर्मत गर्नुपर्ने थियो ।

मर्मत गर्नुपर्नेमध्ये २९४ वटा सम्पन्न भएका छन् भने १०८ वटाको काम चालु छ ।

सयभन्दा बढी पुराना र दुई हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र दुई हजार वर्ग फिटभन्दा मुनिका ६२१ गुम्बामध्ये १०१ पुनर्निर्माण अघि बढेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ३४ बजे

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति