जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी « Khabarhub

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ ।

अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए। उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।”

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् ।

उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए।

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए ।

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए ।
कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो । उनले भने, “यताको कम्पनी र उताको कम्पनीबीच सम्झौताबाट ल्याइन लागिएको हो ।”

रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो ।

कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : ३१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।