काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मोबाइलबाट नै ओपिडी सेवाको टिकट काट्न सुरु गरेको छ।
अस्पतालको २४ औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।
मोवाइलबाटै टिकट काट्ने व्यवस्थाले अस्पतालमा टिकट काट्नकै लागि हुने भीडभाडको अन्त्य भएको छ भने बिरामीले घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यता पनि हटेको छ ।
प्रभु पे मोबाइल वालेट मार्फत बिरामी वा आफन्तले घरमा बसेर नै टिकट काट्न सक्नेछन्।
सरकारी अस्पतालमा मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाउने गंगालाल अस्पताल दोस्रो हो । यसअघि सिभिल अस्पतालले मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाइ सकेको छ ।
केन्द्रको २४ औं स्थापना दिवसकै अवसरमा काठमाडौं महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति गरेको छ ।
सहमतिपत्रमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले हस्ताक्षर गरे।
प्रतिक्रिया