कोरोना संक्रमितसँग एउटै विमानमा आएका व्यक्तिको परीक्षण नहुने, क्वारेन्टाइमा मात्र राखिने | Khabarhub Khabarhub

कोरोना संक्रमितसँग एउटै विमानमा आएका व्यक्तिको परीक्षण नहुने, क्वारेन्टाइमा मात्र राखिने

विमानस्थलमा ज्वरो नदेखिएका व्यक्तिमा देखियो कोरोनाको संक्रमण


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिहरूसँग एउटै विमानमा नेपाल आएका अन्य व्यक्तिको परीक्षण नगर्ने भएको छ ।

सरकारले संक्रमित आएकै विमानमा आएकालाई क्वारेन्टाइनमा बस्न अपिल गरे पनि उनीहरूको कोरोना परीक्षण भने नगर्ने जनाएको हो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना संक्रमितहरूसँग एउटै विमानमा आउने अन्य व्यक्तिहरूको कोरोना परीक्षण गर्ने तयारी नभएको बताए । उनले संक्रमित सँगै आएका व्यक्तिमा लक्षण नदेखिएको अवस्थामा परीक्षण नहुने बताएका हुन् ।

‘कोरोना संक्रमितसँग एउटै विमानमा आएका सबैको परीक्षण गर्दैनौं,’ डा पाण्डेले खबरहबसँग भने, ‘उनीहरूमा कोरोनाको लक्षण देखियो भनेमात्र परीक्षण हुन्छ, लक्षण नदेखिए परीक्षण हुँदैन ।’

डा. पाण्डेले कोरोना संक्रमित व्यक्तिहरूसँग विमानभित्र नजिक बसेकालाई विशेष निगरानीमा राखिने बताए ।

उनले धनगडीमा उपचाररत संक्रमितसँगै मार्च २० मा एउटै विमानमा आएका २० जना सम्पर्कमा रहेको जानकारी दिए ।

‘धनगढीमा रहेका बिरामीसँग आएको फ्लाइटको सिट नम्बर हेरेर संक्रमित बसेको अगाडिका दुईवटा र पछाडिका दुईवटा सिटमा भएका व्यक्ति पहिचान गरेर २३ जनालाई मात्र कन्ट्याक ट्रेसिङ गर्नुपर्ने हो,’ डा. पाण्डेले भने, ‘२३ जनामध्ये २० जनाको ट्रेसिङ भइसकेको छ । उहाँहरू प्रहरीको निगरानीमा होम क्वारेन्टाइमा हुनुहुन्छ, तर लक्षण देखिए मात्र कोरोना परीक्षण हुन्छ ।’

यस्तै कतार एयरवेजको विमानमा चैत ४ गते आएका दुई संक्रमितसँगै रहेका १४ जनालाई मात्र विशेष निगरानीमा राखिएको पनि डा. पाण्डेले बताए । लक्षण नदेखिएसम्म उनीहरूको पनि परीक्षण हुने छैन ।

चैत ४ गतेबाट कतारबाट आएका दुईजना संक्रमित नजिकै बसेकाहरूको विषयमा थप बुझ्न बाँकी रहेको उनले बताए ।

‘चैत ४ गतेको कतारबाट आउनेहरूको सिट नम्बर हेर्दा १४ जनाको ट्रेसिङ गनुपर्ने देखिन्छ, तर विमानबाट उनीहरूको डाटा राम्रोसँग नआएकोले प्रहरीसँग सहयोग लिएका छौँ,’ डा. पाण्डेले भने, ‘प्रहरीले १३४ जनासँग सम्पर्क भइसक्यो भनेको छ । अपडेट लिन बाँकी छ ।’

यता नेपाल प्रहरीका प्रवक्ता उमेशराज ज्योशीले पनि कतार एयरवेजमा चैत ४ गते नेपाल आएका १५८ जनामध्ये १३४ जना मात्र सम्पर्कमा रहेको बताए ।

‘हामीसँग सम्र्पमा आएकाहरू घर र अस्पतालहरूमा क्वारेन्टाइनमा छन्,’ उनले भने, ‘उनीहरूको स्वास्थ्य समस्या नरहेको जाकारी पाएका छौं ।’

प्रवक्ता ज्योशीका अनुसार विमानस्थलमा रहेको तथ्यांकमा कतिपय यात्रुको जिल्लाको नाम मात्र हुँदा संक्रमितसँगै आएका अन्य व्यक्तिहरूसँग सम्पर्क हुन कठिन भएको छ ।

‘उनीहरूको तथ्यांक हेर्दा व्यक्तिको नाम हुन्छ । ठेगानामा जिल्लाको मात्र नाम देखिदिएको हुन्छ, मोरङ, झापा लेखेको ठेगाना भए पनि उनीहरू काठमाठौं वा अन्य ठाउँमा रहेका हुनसक्छन्, सबैललाई सम्पर्कमा ल्याउन प्रहरीलाई कठिन भएको छ,’ प्रहरी प्रवक्ता ज्योशीले भने, ‘संक्रमितसँगै एउटै विमानमा आएकाहरूको व्यापक खोजी भइरहेको छ ।’

प्रवक्ता ज्योशीले कोरोना संक्रमण फैलिन नदिन विदेशबाट आएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

‘विशेषगरी बाहिरबाट आउनुभएका व्यक्तिहरू खोज्न कठिन भइरहेकाले क्वारेन्टाइनमा बसेर स्वातस्फूर्त रूपमा नजिकको प्रहरीलाई आफ्नो अवस्थाबारे जानकारी गराउनु हुन आग्रह गर्दछु,’ प्रहरी प्रवक्ता ज्याशीले भने, ‘सबैले लकडाउनको पालना गरीदिनु हुन पनि आग्रह गर्दछु ।’

चिकित्सक भन्छन् : विदेशबाट आउने सबैको परीक्षण हुनुपर्छ

विश्व स्वास्थ्य संगठनले लक्षण नदेखिएको व्यक्तिमा पनि कोरोनाको संक्रमण हुनसक्ने जनाएको छ । नेपालमा भने लक्षण देखिएका बिरामीको मात्र परीक्षण हुने गरेको छ ।

शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विदेशबाट फर्किएको १४ दिन पूरा नभएका सबै व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने बताउँछन् ।

‘सरकारले कोरोना परीक्षणको दायरा बढाउने हो भने विदेशबाट आएर १४ दिन नपुगेका सबैको कोरोना परीक्षण गर्न आवश्यक छ, उनीहरूको परीक्षण गर्दा फैलिने सम्भावना कम हुन्छ,’ डा. पुनले भने, ‘कोरोना पोजेटिभ देखिएकी एकजना बहिनीको पनि शुरुमा सामान्य लक्षण थियो, नेपालीहरू सामान्य लक्षण देखिँदा त्यति वास्ता गर्दैनन्, संक्रमण रहेछ भने फैलिने जोखिम बढी हुन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी संक्रमित नजिक विमानभित्र रहेका यात्रुहरूलाई सरकारले विशेष क्वारेन्टाइनमा राख्नुपर्ने बताउँछन् ।

मरासिनीले भने, ‘सरकारले संक्रमतिसँगै आएका विमानमा एकमिटरको दुरीको वरीपरि रहेका यात्रुलाई सरकारले नै विशेष क्वारेन्टाइनमा राख्नुपर्छ ।’

विमानस्थलमा ज्वरो नदेखिएकै व्यक्तिमा संक्रमण

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण देखिएका सबै व्यक्तिहरू विदेशीबाट स्वदेश फर्केका हुन् ।

गत माघ १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।

कोरोना संक्रमित व्यक्ति चीनबाट नेपाल आएका थिए । त्यतिबेला नेपालमा कोरोना परीक्षण गर्ने प्रविधि नै थिएन । ती विद्यार्थीको थ्रोट स्वाबको नमूना संकलन गरी हङकङ पठाएर परीक्षण गराएको थियो ।

विदेशबाट फर्किएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सरकारले त्रिभुवन विमानस्थलमा स्वास्थ्यकर्मीको टोली राखरे थर्मो स्क्यानर तथा थर्मल गन प्रयोग गरी परीक्षणको व्यवस्था गर्‍यो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको व्यवस्था पनि गरियो । विश्वभर कोरोना भाइरसको संक्रमण भयावह हुँदै गर्दा नेपालमा जनस्वास्थ्य विज्ञहरूले त्रिभुवन विमानस्थल बन्द गर्नुपर्ने बताए ।

सरकार भने विमानस्थलमा ज्वरो परीक्षणको व्यवस्था गरी उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा माथि) भएकालाई आइसोलेसनमा राखी कोरोना परीक्षण शुरु गरिएको भन्दै ढुक्क भयो ।

ज्वरो देखिएकालाई अस्पताल पठाइयो र नदेखिएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दै खुला छाडियो ।

चैत १० गते स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै विदेशबाटै फर्किएकी युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि ग¥यो ।

फान्सबाट चैत ४ गने कतार ट्रान्जिट हुँदै नेपाल आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि टेकु अस्पतालमा आइसोलेसनमा छिन् ।

स्वास्थ्य मन्त्रालयले चैत १२ गते तेस्रो, चैत १४ गते चौथो र १५ गते पाँचौ संक्रमित भेटिएको जनाएको छ ।

पहिलोबाहेका सबै बिरामीहरू चैत महिनामै नेपाल प्रवेश गरेका थिए । स्वास्थ्य मन्त्रालयले चैत १० गते र १५ गते कोरोना संक्रमण देखिएको भनेर पुष्टि गरेका दुई युवतीहरू कतार ट्रान्जिट हुँदै एउटै विमानमा आएका हुन् ।

उनीहरुको पनि विमानस्थलमा ज्वरो परीक्षण गरिएको थियो । सरकारले हाल कोरोना संक्रमति भनेर पुष्टि गरेका व्यक्तिहरुको पनि त्रिभुवन विमानस्थलमा ज्वरो परीक्षण गरिएको थियो । ज्वरो नदेखिएपछि उनीहरू सार्वजनिक सवारी साधनमै घर पुगे ।

विमानस्थल स्रोतका अनुसार ज्वरो परीक्षण गरेकै भरमा उनीहरूलाई घर जान दिइएको थियो ।

‘चैत ४ गते र ६ गते त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका सबैको ज्वरो परीक्षण गरिएको थियो,’ विमानस्थल स्रोतले खबरहबसँग भन्यो, ‘विमानस्थलमै ज्वरो देखिएकालाई त आइसोलेसनमा राखेर कोरोना परीक्षण पनि गरिएको थियो, उनीहरूमा ज्वरो देखिएको थिएन ।’

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : १२ बजे

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट 

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया

वैदेशिक रोजगारीका नाममा ठगी अभियोगमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले

काठमाडौँमा बढ्दो वायु प्रदूषण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क