ललितपुर- ललितपुर महानगरपालिकाले नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराइरहेको पाटन अस्पताललाई बिरामीको उपचार गर्दा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरेको हो । पाटन अस्पताललाई ‘पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट्स’ (पीपीई) दश थान , फ्लायर दश हजार थान , मास्क एक हजार थान, पन्जा पाँच सय जोडी , स्यानिटाइजर लगायतका सामान अस्पताल पुगेर दिएको महानगरपालिकाले जनाएको छ ।
सामान हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विषम परिस्थितिमा नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा अस्पताल परिवारलाई धन्यवाद दिए ।
अस्पतालमा आबद्ध चिकित्सक, नर्स, चिकित्साकर्मी र बिरामीको सेवामा अहोरात्र खटिनु भएकासम्पूर्ण व्यक्तिहरुको योगदानको उनले प्रसंशा गरे । मुलुकलाई अप्ठ्यारो परेको बेला संयमतापूर्वक पूरा गरेको जिम्मेवारी र पेशाप्रतिको प्रतिबद्धता अतुलनीय भएको बताए ।
महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिका स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन पाटन अस्पतालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पाटन स्वास्थ्य प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरत यादवले बिरामीको उपचार गर्दा चिकित्सकलागि आवश्यक पर्ने सामान प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिए ।
प्रतिक्रिया