कोरोना संक्रमण बेवास्ता गर्दै काठमाडौंबाट धमाधम ‘उद्धार’ « Khabarhub

कोरोना संक्रमण बेवास्ता गर्दै काठमाडौंबाट धमाधम ‘उद्धार’

बाहिरिनेको तथ्यांक छैन प्रहरीसँग


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले यही सोमबार एक परिपत्र सार्वजनिक गर्‍यो ।

परिपत्रमा सवारीसाधन अनुमतिपत्र सम्बन्धी कार्यविधि, २०७६ बमोजिम पास जारी गर्न र पास नभएका कुनै पनि (दुई र चार पांग्रे, साना–ठूला सबै) यात्रुवाहक सवारीसाधन आवागमन पूर्णरूपले नियन्त्रण गर्न आदेश दिइएको छ ।

लकडाउनमा स्थानीय तहले रिजर्भ गाडीहरू पठाएर राजधानीबाट स्थानीय बासिन्दाहरू लैजान थालेपछि गृहले उक्त आदेश दिएको हो । आदेश कार्यान्वयन भने हुन सकेको छैन ।

सरकारले प्रहरी प्रमुखलाई पत्रमार्फत आदेश दिएको तेस्रो दिन बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाले १८ वटा गाडी पठाएर राजधानीका करिब एक हजार जना लगेको छ ।

गाउँपालिकाका ८ वटै वडाले काठमाडौँमा आफ्ना बासिन्दाका लागि रिजर्भ गाडी पठाएका थिए । बेलुकीपख घर फर्कनका लागि जोरपाटीको शिवचोकस्थित आमा ह्याल्मो यातायातको बसपार्कमा सबै गाडी तयारी अवस्थामा थिए ।

करिब एक हजार यात्रु आ–आफ्ना भारीका साथ बसपार्क वरपर घुमिरहेका थिए । मानिसको घुँइचो नियन्त्रणका लागि प्रहरी समेत देखिन्थे ।

पाँच पोखरी गाउँपालिकाले शर्त राखेरै उद्धार गर्न लागेको वडा नम्बर एकका वडा अध्यक्ष सूर्यमान दोङलले बताए । ‘होम क्वारेनटाइनमा बस्ने, सामाजिक दूरी कायम गर्ने, पाहुना आवतजावत नगर्ने,’ वडा अध्यक्ष दोङले भने, ‘बिरामी र विदेशबाट आएकाहरूलाई गाउँ जान रोक लगाएका छौँ ।’

कोरोनाभन्दा भोकमारीको त्रास बढेको भन्दै मानिसहरू आ–आफ्ना गाउँघर फर्किरहेका छन् । विशेष गरी काठमाडौंमा डेरा गरेर बस्ने र दैनिक ज्यालामजदुरी गरेर परिवार धान्नेहरू संकटमा परेका छन् ।

स्थानीय तहले राहत दिए पनि लकडाउनको समय थपिँदै गएकाले भान्सामा सामान सकिएको बौद्धमा बस्ने सकुन्तला गुरागाईंले बताइन् ।

‘लकडाउन भएपछि रोजगारी पनि गुम्यो, बसेर खाँदा खाँदै खर्च पनि सकियो,’ सकुन्तलाले गुनासो गरिन्, ‘गाउँबाट जनप्रनिधिलाई सम्पर्क गरिरहेकी छु, केही व्यवथा हुनासाथ घर फर्किन्छु ।’

त्यस्तै, डेरामा गुम्सिएर बस्नुभन्दा रोग नै लागे पनि गाउँको हावापानीले ठिक हुन्छ भनेर जान लागेको बताउँछन् नारायणटार बस्दै आएका सिन्धुपाल्चोकका महेश आचार्य । ‘कमाएको पैसा सक्किगो, डेरामा कति बस्ने, उपत्यका छाड्नुबाहेक अरू केही उपाय नै छैन,’ उनले भने, ‘धेरैपटक अनुरोध गरेपछि गाउँपालिकाले गाडीको व्यवस्था गरिदिएकोले घर जान पायौँ ।’

त्यसो त दैनिक ज्याला मजदुरी गर्नेहरू खानाको जोहो गर्न नसक्दा लकडाउन भएको केही दिनदेखि नै पैदलमार्ग हुँदै गृहजिल्ला फर्किरहेका थिए ।

विभिन्न स्थानमा स्थानीय सरकारको सहयोगमा उनीहरूको उद्धारसमेत गरिएको थियो । स्थानीय जनप्रतिनिधिहरूले गाडी पठाउन थालेपछि केही दिनयता यसरी हिड्ने क्रम कम रोकिएको छ ।

स्थानीय जनप्रतिनिधिहरूले काठमाडौँमा बसेका आफ्ना गाउँमा जनताको उद्धार गरिरहेका छन् । मास्क र सेनिटाइजर दिएर उनीहरूलाई लगिरहेका छन् ।

परीक्षण नगरी उद्धार

दोलखाको मेलुङ गाउँपालिकाले वैशाख ८ र ९ गते दुई दिनमा ५५ वटा बसमा करिब २ हजार ५ सय जनालाई काठमाडौँबाट उद्धार गरेको थियो । काभ्रेको तिमाल गाउँपालिकाले गत बिहीबार १७ वटा ठूला बसमा काठमाडौँबाट करिब ७ सय जनालाई उद्धार गरेको जनाएको छ ।

लकडाउन लम्बिँदै गएपछि काठमाडौँ बसोबास गर्ने तिमालका बासिन्दाले स्थानीय जनप्रतिनिधिलाई उद्धार गर्न आग्रह गरेको गाउँपालिकाका प्रवक्ता ज्ञाबहादुर तामाङले जानकारी दिए ।

‘दैनिक ज्यालादारी गर्नेको अवस्था नाजुक बन्दै गएपछि गाउँपालिकाले मंगलबार सूचना जारी गर्‍यो,’ उनले भने, ‘घर फर्कन चाहनेले सम्पर्क गर्नुहोला भनेर १० वटा बसको व्यवस्था गरेका थियौँ ।’

उनकाअनुसार घर फर्कन चाहनेको संख्या धेरै भएपछि शुक्रबार थप ७ वटासहित १७ वटा बस काभ्रेबाट काठमाडौँ आएका थिए । भक्तपुर र काभ्रेको सिडियो कार्यालयमा सम्पर्क गरेको र सबै यात्रुलाई विभिन्न चोकबाट बस चढाएर घर पुर्‍याएको उनको भनाइ छ ।

यी गाउँपालिकाले जस्तै अहिले देशभर विभिन्न स्थानीय तहले राजधानीमा रहेका आफ्ना गाउँका बासिन्दाको उद्धार गरिरहेका छन् । कोरोनाको परीक्षण बिना नै उनीहरूलाई गाउँ पुर्‍याइएको छ । कोही एक जनामा संक्रमणको लक्षण देखिएमा गाउँभरि फैलिन सक्न भन्नेतर्फ भने स्थानीय तहहरू बेपर्वाह देखिन्छन् ।

काठमाडौँबाट मन्त्री र सांसदहरूले समेत बस रिजर्भ गरेर आ–आफ्ना जिल्लाका मानिस पठाएका थिए ।

गाउँ फर्किनेको तथ्यांक छैन प्रहरीसँग

केही दिन यता राजधानीका विभिन्न स्थानमा घर फर्कने मानिसहरूको भीड लागे पनि प्रहरीले रोक्न सकेको छैन । त्यतिमात्र होइन, स्थानीय तहले कति मानिसलाई उद्धार गरे, कतिले राजधानी छोडे भन्नेबारे बेखबर छ महानगरीय ट्राफिक प्रहरी महाशाखा ।

जनप्रतिनिधिहरूले केही मात्रामा अहिले उद्धार कार्य गरिरहेको बताउँछन् महाशाखा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल ।

‘विभिन्न तहका जनप्रनिधिमार्फत उद्धार भए पनि कतिको संख्यामा सर्वसाधरण बाहिरिए भन्नेबारे तथ्यांक लिएका छैनौँ,’ उनले भने, ‘प्रशासनसँग समन्वन्य गरेर लगिरहेका होलान् ।’

आवत–जावतमा कडाइ गर्ने भने पनि काठमाडौँबाट बाहिरिनेका लागि भने सरकार मौन रहेको देखिएको छ । काठमाडौँ भित्रिन भने रोक लगाइएको छ ।

लकडाउन हुनुअघि ६ लाख मानिस काठमाडौँबाट बाहिरिएको अनुमान छ । उपत्यकाभित्रका विभिन्न चोकमा अहिले १ हजार १ सय जना ट्राफिक प्रहरी खटिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : ३१ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक