लगातारको वर्षाले ठाउँठाउँको जनजीवन प्रभावित, बस्तीमा बाढी पस्दा कैलालीमा ४ जना वेपत्ता | Khabarhub Khabarhub

लगातारको वर्षाले ठाउँठाउँको जनजीवन प्रभावित, बस्तीमा बाढी पस्दा कैलालीमा ४ जना वेपत्ता


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मंगलबार रातिदेखि देशका विभिन्न ठाउँमा भइरहेको वर्षाले ठाउँठाउँको जनजीवन प्रभावित भएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दा पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बर्दीया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानका समस्या बढेका छन् ।

अविरल वर्षापछि कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । कैलालीको भजनी नगरपालिकाका फरक/फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए । बाढीले भजनीमा थप दुई जना बेपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको उनले बताए ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर ७०० बढी घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धार सहित राहत सामग्री वितरण गरेको उनको भनाइ छ ।

यसैगरी कान्द्रा नदीमा आएको बाढीले भजनी–८ मा एक हजार ८०० विस्थापित भएका छन् । उनीहरुलाई नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर राखेको जनाइएको छ ।

जिल्लाको कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि  भजनी, टीकापुर, लम्की र जोशीपुर गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको छ ।  इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए ।

प्रहरीका अनुसार बिहान ६ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।

पहिरोले उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए ।

सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए । बाढी पहिरो र डुबानका कारण विभिन्न ठाउँका सडकहरू पनि अवरूद्ध भएका छन् ।

मौसम विज्ञान विभागका अनुसार आउँदो शनिबारसम्म भारी वर्षाको सम्भावना छ । विभागले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ७ : २८ बजे

१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार

हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

दशरथचन्द– पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई

आसन्न निर्वाचनमा बेलायतको आवश्यक साथ सहयोग रहने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा

काठमाडौं– नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीका लागि खुलाएको बोलपत्र प्रक्रिया

जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन्

काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिका सदस्य मदन भट्टराईले