जसलाई सात रुपैयाँ पुरस्कारको हौसलाले करियर र कार दियो | Khabarhub Khabarhub

जसलाई सात रुपैयाँ पुरस्कारको हौसलाले करियर र कार दियो



काठमाडौं– अहिलेसम्म नेपाली फूटबलमा महान खेलाडी मानिन्छन् स्व. मणि शाह । जतिबेला उनै शाह, वसन्त गुरुङ, नरेन्द्र श्रेष्ठ, दीपक अमात्य लगायतका खेलाडी नेपाली टोलीको फरवार्ड लाइनमा जमेका थिए । त्यति वेला नयाँ खेलाडीले उनीहरूलाई प्रतिस्थापन गर्न निकै गाह्रो थियो ।

सन् १९९५ मा नेपाली टोली श्रीलंकामा हुने तय भएको साफ च्याम्पियनसिप (तत्कालीन सार्क ब्रिस्टोल गोल्डकप) का लागि नेपाली टोली घोषणा भयो । त्यसमा नेपालका पहिलो रोजाइका खेलाडी मणि शाह चोटका कारण टीममा परेनन् । नेपाली सेनाका वसन्त गुरुङ विभागको कामका कारण श्रीलंका जान पाएनन् ।

त्यही वेला राष्ट्रिय टोलीमा परेका थिए हरि खड्का । पहिलो पटक टीममा परेका खड्का डेब्युको अवसर कुरिरहेका थिए । पहिलो खेल थियो बंगलादेशविरुद्ध, हरिले अवसर पाएनन् । उनले दोस्रो खेल कुर्नुपर्ने भयो । पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेल पाकिस्तानविरुद्ध थियो ।

पाकिस्तानलाई जित्न सके नेपाल सेमिफाइनलमा जान्थ्यो, हारे सिधै घर फर्किनु पथ्र्यो । दोस्रो खेलमा हरि खड्काले अवसर पाए ।

हरिले पाकिस्तानविरुद्ध पहिलो गोलका लागि बालगोपाल महर्जनलाई एसिस्ट गरे । दोस्रो गोल आफैँले गरे । नेपालले पाकिस्तानलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

पाकिस्तानविरुद्धको गोल नै हरिको डेब्यु गोल थियो । डेब्यु खेलमा आफूले गरेको गोल आफ्नै अपेक्षाभन्दा राम्रो भयो उनका लागि । नेपाल सेमिफाइनलमा श्रीलंकासँग २–१ गोल अन्तरले पराजित भयो ।

२५ वर्षअघिको त्यो खेल स्मरण गर्दै हरि भन्छन्, ‘पहिलो खेल हारेपछि पाकिस्तानविरुद्ध डेब्यु हुन्छ कि भन्ने सोचेको थिएँ । टीम व्यवस्थापकले अवसर पनि दिनुभयो । खेलमा आफैँले गोल र एसिस्ट गरेर टीमलाई जिताउँदा निकै खुसी भएँ ।’

हरि आफूलाई भाग्यमानी पनि ठान्छन् । श्रीलंका जानुअघि स्टार खेलाडी शाह र गुरुङ कारणवश टोलीमा नपर्नु र व्यवस्थापनले आफूलाई विश्वास गर्नुलाई हरिले भाग्यको साथ सम्झेका छन् ।

सर्वाधिक गोलकर्ता

सन् १९९५ को मार्चमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका हरि खड्काले ११ वर्ष फूटबल खेले । फूटबलमा किन लागेँ भनेर उनले कहिल्यै सोचेनन् । आफू क्षमतावान खेलाडी थिए । हरिले डेब्युपछि नेपालले खेलेका विश्वकप छनोट, ओलम्पिक छनोट, दक्षिण एसियाली खेलकुद लगायतका थुप्रै प्रतियोगिता खेले ।

सन् २००६ मा भुटानविरुद्धको एएफसी च्यालेन्ज कप हरिको अन्तिम खेल बन्यो । उनले औपचारिक सन्यास त घोषणा गरेनन् तर टीममा परेनन् । उनले भने, ‘म इन्जर्ड (घाइते) थिएँ । आराम गर्दै थिएँ, पछि टीममा बोलाएनन् । औपचारिक सन्यास घोषणको अपेक्षा थियो तर माहौल बनेन ।’

हरिले गरेका गोल
–१९९५ मार्चमा पाकिस्तानविरुद्ध १ गोल
–१९९५ डिसेम्बर माल्दिभ्सविरुद्ध १ गोल
–१९९६ ओमानविरुद्ध १ गोल
–१९९७ मकाओविरुद्ध १ गोल
–१९९९ माल्दिभ्सविरुद्ध २ गोल
–१९९९ भुटानविरुद्ध २ गोल
–१९९९ पाकिस्तानविरुद्ध १ गोल
–१९९९ माल्दिभ्सविरुद्ध १ गोल
–२००१ मकाओविरुद्ध १ गोल
–२००१ इरानविरुद्ध १ गोल
–२००३ अफगानिस्तानविरुद्ध १ गोल

तेह्र गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीसँग छ । एघार वर्ष राष्ट्रिय टोलीमा आफ्नो करियर सम्झँदै हरि भन्छन्, ‘त्यो समय निकै रमाइलो थियो । मैले कहिल्यै पनि पछि फर्किनु परेन । अग्रजको माया पाएँ । साथीभाइको साथ जुनियरहरूको भरोसा पाएँ ।’

झापादेखि जर्मन क्लबसम्मको यात्रा

झापाको चन्द्रगढीमा जन्मिएका हरि खड्का स्कूलमा मध्यम विद्यार्थी थिए । उनलाई कक्षामा बसेर पढ्नमा भन्दा मैदानमा फूटबलको पछि दौडिन रमाइलो लाग्थ्यो । घरमा आमाबुबाको जोड पढाइमा हुन्थ्यो । हरिको मन किताबकापीमा भन्दा फूटबलमा हुन्थ्यो ।

त्यो समय चन्द्रगढीमा गणेशराज भण्डारी चर्चित फूटबलर थिए । होन्डाका नामले परिचित उनै गणेशराजले हरिलाई फूटबलमा लाग्न प्रेरित गर्थे । ती दिन स्मरण गर्दै हरिले भने ‘म उहाँ (गणेशराज) सँग धेरै ठाउँ फूटबल हेर्न र खेल्न पुगेको छु । एक दुई पटक त सिलिगुडी पनि पुगेँ ।’

हरि दश कक्षामा पढ्दै गर्दा झापामा ‘मुनाल चिया च्यालेन्ज गोल्डकप’ आयोजना भयो । भद्रपुर टीमबाट खेलेर हरि उत्कृष्ट खेलाडी भए । उनले रजत पदक र ७ रुपैयाँ पुरस्कार पाए । पुरस्कारको ५ रुपैयाँ बुबालाई दिए, २ रुपैयाँ आफूले राखे ।

मुनाल चिया गोल्डकपमा उत्कृष्ट भएको भद्रपुरको टिम काठमाडौंमा सानमिगल गोल्डकप खेल्यो । यस प्रतियोगितामा पनि प्रदर्शन राम्रो भएपछि हरिको पहिलो विदेश यात्रा तय भयो । उनी जर्मनीका प्रशिक्षक होल्गर ओभरम्यानको नेपाल–जर्मन फूटबल प्रोजेक्टमा छनोट भए ।

उक्त प्रोजेक्टमा छनोट हुने खेलाडीले २ हप्ता जर्मनीको पोटास स्कूलमा प्रशिक्षण लिन पाउने व्यवस्था थियो । हरि सन् १९९३ मा जर्मनीको पोटास स्कूल पुगे । त्यहाँ पनि आफू ‘वेष्ट प्लेयर’ भएको हरिले सुनाए ।

‘त्यो निकै खुसीको समय थियो । जर्मन स्कूलमा भएको प्रतियोगितामा म वेष्ट प्लेयर भएको थिएँ । पुरस्कारमा माउण्टेनबाइक पाएँ,’ हाँस्दै हरिले भने, ‘नेपालमा एडिडासको ब्रान्डेड जुत्ता भनेर लिएको, खेल्दा खेल्दै उप्कियो । चाइनिज ब्रान्ड परेछ… ।’

प्रशिक्षक होल्गरको उक्त प्रोजेक्टमार्फत् जर्मनी जाने हरि तेस्रो खेलाडी थिए । त्यसअघि राजीव नेपाली र उपेन्द्रमान सिंह गएका थिए ।

जर्मनीबाट फर्किंदा एसएलसी परीक्षाको नतिजा आएको थियो । अपेक्षाअनुसार नै उनी उत्तीर्ण भए । अर्को वर्ष सन् १९९४ मा उनलाई राष्ट्रिय टोलीका लागि बोलाइएको थियो तर झापाबाट आउन ढिला भएकोले टीमको क्याम्पमा सहभागी हुने अवसर गुम्यो ।

लगत्तै अर्को वर्ष उनी टीममा बोलाइए र डेब्युकै अवसर पाए । गाउँमा फूटबल खेल्दा कुनै दिन देशको प्रतिनिधित्वको कुरा सोचेका थिएनन् । हरि भन्छन्, ‘गाउँमा फूटबल खेल्दा देशको प्रतिनिधित्व गर्छु भन्ने सोचेको थिएन । खेल्दै जाँदा राम्रै भयो ।’

क्लब फूटबल

देशका लागि १३ गोल गरेर कीर्तिमान बनाएका हरि खड्काले घरेलु २०५२ सालमा घरेलु फूटबल खेल्न सुरु गरेका हुन् । उनले शहीद स्मारक ए डिभिजन लिगको सुरुवात न्युरोड टीम (एनआरटी) बाट गरे । त्यो समय उनी धेरै पारिश्रमिक पाउने खेलाडीमा पर्थे । पारिश्रमिक थियो, १५ सय रुपैयाँ, एक सिजन एनआरटीबाट खेल्दा । क्लबले ३० वर्षपछि ए डिभिजन लिग उपाधि उचाल्यो ।

लगत्तै अर्को वर्ष नै उनी नेपाल पुलिस क्लबमा आबद्ध भए । पुलिसमा आबद्ध हुनुको मुख्य कारण स्थायी जागिर र नियमित पारिश्रमिक नै हो । त्यतिबेला पुलिस क्बल सबैभन्दा बलियो टीममा पथ्र्यो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी त्यहीँ थिए ।

पुलिसले २०६३ सालमा ए डिभिजन लिग जित्दा हरि वेष्ट प्लेयर भएर कार पुरस्कार पाए । यतिबेला एन्फाले लिगको उत्कृष्ट खेलाडीलाई पुरस्कारमा कार र फ्ल्याट दिने गरेको थियो । त्यसपछि भने अहिले त्यो पुरस्कार छैन ।

‘त्यतिबेला विभागीय टीम खेलाडीको रोजाइमा पर्थे । त्यहाँको आम्दानी क्लबहरूको भन्दा राम्रो थियो । त्यहाँ जागिर पनि सुरक्षित थियो,’ हरि भन्छन्, ‘लिगको उत्कृष्ट खेलाडीका रूपमा कार पुरस्कार पाउनु मिहिनेतको प्रतिफल हो जस्तो लाग्छ ।’

पुलिस क्लबमा छँदा हरिलाई लिन भारतको मोहन बगान क्बलबाट मान्छेहरू काठमाडौं आएका थिए । पुलिसले शर्तसहित भारतीय क्लबमा पठायो । पुलिस क्लबले खेल्ने अवस्थामा आउनुपर्ने शर्त थियो । शर्त थाहा पाएरै पनि कलकत्ताको टीमले हरिलाई अनुबन्ध गर्‍यो ।

हरिले भारत अन्य दुई क्लबबाट पनि खेले । बंगलादेशमा पनि आफूलाई स्थापित गरे । उनले बंगलादेशमा मोहमदेन स्पोटिङ, ब्रदर्श युनाइटेड र चितागङ अवहानीबाट खेले । यहाँ उनले भण्डै ५ वर्ष बिताए । भनिन्छ, खड्का बंगलादेशमा खेल्न गएपछि अन्य नेपाली खेलाडीका लागि पनि बाटो खुलेको थियो ।

पछिल्लो समय भने नेपालबाट बंगलादेशमा खेल्ने खेलाडी सन्तोष साहुखल हुन् । सन्तोषपछि कुनै पनि खेलाडी बंगलादेशको लिग खेल्न गएका छैनन् ।

Image may contain: 1 person, playing a sport, standing and outdoor

प्रशिक्षक हुँदै फूटबल प्रशासक

खेल्न छाडेपछि हरि विभागीय टीम पुलिस क्लबमै प्रशिक्षक भए । केही पछि पुलिस क्लब छाडे । त्यसपछि पनि उनी फूटबलबाट टाढा रहेनन् । राष्ट्रिय फूटबल टीमको सहायक प्रशिक्षक भए ।

त्यसपछि हरिले नेपाली महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले । उनले नेपाली महिला टोलीलाई पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणसम्म पुर्‍याए । सधैँ भारतसँग हार्ने गरेको नेपाली टीमले भारतमै भएको हिरो गोल्डकपमा भारतलाई पराजित गर्‍यो ।

हरिले नेतृत्व गरिरहँदा नेपालमा महिला फूटबलका दुई ठूला प्रतियोगिता भए । महिला साफ च्याम्पियनसिप र १३औँ सागमा महिला फूटबल । दुवै प्रतियोगितामा नेपाली टोली फाइनलसम्म पुग्यो । फाइनलमा भने भारतसँग पराजित भयो ।

‘हामी अहिलेसम्मकै ठूलो उपलव्धिका रूपमा ओलम्पिक दोस्रो चरणमा छनोट भयौँ । भारतीय टीमलाई उसकै भूमिमा पराजित गर्‍र्यौं,’ दुई ठूला प्रतियोगितामा भारतसँगै पराजित हुनुको मनोविज्ञानबारे हरि भन्छन्, ‘हाम्रो टीम अग्रता बनाइसकेपछि ढुक्क भएर खेल्छ । विपक्षी टीमले अग्रता बनायो भने त्यो नतिजा फर्काउन निकै दबाबमा खेल्छ जस्तो लाग्यो ।’

आफूले खेलाडीलाई दबाबमा कसरी खेल्ने भन्ने सम्झाउन नसकेको हो कि भन्ने पनि लाग्छ हरिलाई । एन्फाको महिला कमिटी प्रमुख रहेका खड्का राष्ट्रिय महिला टीमलाई वैदेशिक एक्स्पोजर दिनसके अपेक्षाअनुसार नतिजा आउनेमा विश्वस्त छन् ।

तस्वीर : एन्फा र सुन्दर श्रेष्ठ

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १२ : ५५ बजे

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

सियोल – दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि