कोभिड-१९ र खेर गइरहेको जनशक्ति | Khabarhub Khabarhub

कोभिड-१९ र खेर गइरहेको जनशक्ति


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको नयाँ कोरोना भाइरस संक्रमण विश्वभर फैलिएको छ । हालसम्म सबा छ लाख भन्दा बढीलाई संक्रमित गराएको छ भने ३० हजार हजार भन्दा बढीको मृत्यु गराइसकेको छ ।

यस भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएर यसलाई विश्वव्यापी महामारी घोषण गरेको छ । यस भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहेन । हालसम्म नेपालमा यसको ५ जना संक्रमित भेटिएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ ।

मुलतः भाइरसहरू सुक्ष्म जीव हुन् । तिनलाई खुला आँखाले देख्ने सकिँदैन । आज विश्व नै यो नदेखिने शत्रुसँग लडिरहेको छ । नेपालमा यसको प्रयोगशाला परीक्षणको व्यवस्था, सम्बन्धित जनशक्तिको उपलब्धता र उपयोग तथा विगत लामो समयदेखि संघर्षरत माइक्रोबायोलोजिष्टहरूको यस विषयसँगको सम्बन्धबारे यो लेख तयार पारिएको हो ।

प्रयोगशाला परीक्षण र जनशक्ति

कोरोना भाइरसको परीक्षण विभिन्न तरिकाबाट गर्न सकिन्छ तर यसको गुणस्तरीय एवं विश्वसनीय परीक्षण रियल टाइम पि.सि.आर. प्रविधिबाट गर्न सकिन्छ । अहिलेसम्म नेपालमा उक्त प्रविधिबाट परीक्षण केवल राष्ट्रिय जनस्वास्थ प्रयोगशालाबाट हुने गरेको छ ।

यो प्रविधि देशका विभिन्न सरकारी प्रयोगशालाहरू, विश्वविद्यालयहरू, प्रतिष्ठानहरू र निजी प्रयोगशाला गरी ३० भन्दा बढी प्रयोगशालाहरूमा छ । यी अधिकांश राजधानीमा केन्द्रित छन् । यस प्रविधिमा काम गर्न सक्ने मान्यता प्राप्त जनशक्ति भने थोरै छ ।

नेपालको स्वास्थ्य प्रणालीअनुसार कुनै योग्य व्यक्तिले स्वास्थ्य क्षेत्रमा काम गर्न सोसँग सम्बन्धित परिषद्हरुमा दर्ता गरेको हुनु पर्ने व्यवस्था छ ।

संक्रामक रोग लगायतका प्रयोगशाला परीक्षणमा काम गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले चिकित्सा प्रयोगशाला विज्ञान अन्तर्गत हेल्थ ल्याबोटरी असिस्टेन्ट, सी.एम.एल.टी., बी.एम.एल.टी., बी.एस.सी. एम.एल.टि., बी.एस.सी. मेडिकल माइक्रोबायोलोजी, एम.एस.सी. मेडिकल र क्लिनिकल माइक्रोबायोलोजी जस्ता विषय अध्ययन गरेकालाई दर्ता गर्दै आएको छ ।

नेपालको स्वास्थ प्रणालीको व्यवस्थाल धेरै जसो आधारभूत स्वास्थ्य परीक्षण प्रयोगशालाहरूमा ल्याब असिस्टेन्ट र सी.एम.एल.टी., धेरै जसो अस्पतालमा बी.एम.एल.टी, बी.एस.सी., एम.एल.टी., बी.एस.सी. मेडिकल माइक्रोबायोलोजिष्ट छन् ।

केही ठूला अस्पताल वा शिक्षण अस्पतालहरूका प्रयोगशालामा मात्रै एम.एस.सी. मेडिकल र क्लिनिकल माइक्रोबायोलोजी वा एम.डब. माइक्रोबायोलोजी अध्ययन गरेका प्राविधिक जनशक्ति प्रमुख रहेको पाइन्छ । यसमा पनि रियल टाइम पी.सी.आर. जस्ता अत्याधुनिक प्रविधिमा तालिम प्राप्त जनशक्ति अति न्यून छ ।

को हो माइक्रोबायोलोजिष्ट ?

सुक्ष्मजीवहरू ब्याक्टेरिया, भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन गरेका व्यक्तिहरू माइक्रोबायोलोजिष्ट हुन् । सबै माइक्रोबायोलोजिष्टहरू मानव स्वास्थ्यको क्षेत्रमा काम गर्न योग्य हुन्छ भन्ने होइन ।

कृषि, वातावरण, खाद्य लगायतका क्षेत्रमा विज्ञता हासिल गरेका माइक्रोबायोलोजिष्टहरू हुन्छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष काम गर्ने मेडिकल र क्लिनिकल र पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट हुन्छन् । पहिला उल्लेख गरिएका माइक्रोबायोलोजिष्टहरू पछिल्लाको काममा सहयोगी हुन सक्छन् ।

नेपालमा एम.एस.सी. मेडिकल र क्लिनिकल माइक्रोबायोलोजीको अध्यापन त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुन्छ । त्रिभुवन विश्वविद्यालयमा भने चिकित्सा शास्त्र अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा अध्यापन हुँदै आएको छ ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सकशास्त्र अध्ययन संस्थान, अन्य विश्वविद्यालय र प्रतिष्ठानले चिकित्सकीय प्रयोगशालामा दैनिक परीक्षणको कामलाई प्राथमिकतामा राख्छन् ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले भने दैनिक परीक्षणका अतिरिक्त निदान, रोकथाम भ्याक्सिन उत्पादन, इपिडिमियोलोजी अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिई अध्यापन गर्छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट उत्पादित जनशक्तिलाई प्रष्ट करण विनै दर्ता प्रक्रियामा बन्देज लगाएको छ ।

माइक्रोबायोलोजिष्टहरूको संघर्ष

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले त्रिचन्द्र क्याम्पसबाट सन् १९७८ देखि नेपालमा माइक्रोबायोलोजी शिक्षाको स्नातक तह र सन् १९९० देखि माइक्रोबायोलोजी केन्द्रीय विभागबाट स्नातकोत्तर तहको अध्यापन हुँदै आएको छ । हाल सम्म ४ हजार माइक्रोबायोलोजिष्ट उत्पादन भएका छन् ।

यी माइक्रोबायोलोजिष्टहरू २०६७ मंसिर २१ गतेदेखि आफूहरू पनि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भई स्वास्थ्य प्रयोगशालामा काम गर्न पाउनु पर्ने मागसहित संघर्षरत छन् । परिषदले २०६८ पुस ११ गतेदेखि अस्थायी नाम दर्ता प्रमाणपत्र दिएको थियो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षको मौखिक आदेशमा नाम दर्ता र नवीकरण प्रक्रिया रोकिएको छ । माइक्रोबायोलोजिष्टहरू हालसम्म पनि नाम दर्ता गराउन संघर्षरत छन् ।

कोभिड-१९ र माइक्रोबायोलोजिष्ट

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ कोरोना भाइरस संक्रमण (कोभिड-१९) को प्रयोगशाला परीक्षण, निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम र उपचारका विविध तरिका तथा अनुसन्धानको क्षेत्रमा काम गर्न यी माइक्रोबायोलोजिष्टहरू सक्षम छन् ।

उनीहरूले अन्य संक्रमणीय रोगसँगै यस भाइरसको परिवार (कोरोनाभिरिडी) को विविध पक्षको गहिरो अध्ययन गरेका छन् र प्रयोगात्मक सीपमा निपुण छन् । उनीहरू कोभिड-१९ को प्रयोगशाला परीक्षण गर्ने सक्ने मोलिकुलर टेष्टका अत्याधुनिक उपकरणहरू संचालन गरी त्यसबाट प्राप्त नतिजाको विश्लेषण पनि गर्न दक्ष छन् ।

यस सन्दर्भमा माइक्रोबायोलोजी केन्द्रीय विभाग, नेप्लिज् सोसाइटी फर माइक्रोबायोलोजी, माइक्रोबायोलोजी संघर्ष समिति, माइक्रोबायोलोजिकल स्टुडेन्टस् असोसियसन अफ नेपाल (मिसन) र विषयसँग सम्बन्धित विज्ञहरूले यस महामारीको परिस्थितिमा राज्यले सक्षम जनशक्ति (मेडिकल र पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट) उपयोग गर्नु पर्ने धारणा विभिन्न माध्यामबाट राखेका छन् ।

सरकार तथा सम्बन्धित निकायहरूले भने यसलाई बेवास्ता गरेका छन् । यस्तो सक्षम जनशक्तिको उपयोग गर्न नसक्नु वा आधिकारिक मान्यता नदिनु राज्यको जनस्वास्थ्य प्रणालीमाथि नै खेलवाड गर्नु हो ।

निष्कर्ष

यस महामारी विरुद्धको संघर्षमा राज्यमै उत्पादित जनशक्तिले आफू सक्षम रहेको र काम गरेर राज्यलाई सहयोग गर्ने बताउँदै आएको छ । विज्ञहरूले पनि उक्त जनशक्तिको सदुपयोग गर्नु पर्ने सुझाव दिएका छन् । राज्यले यो जनशक्तिको सदुपयोग गरी आफूलाई बलियो बनाउनु पर्छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले रियल टाइम पी.सी.आर. प्रविधिमा दक्षता भएका जनशक्तिको तथ्यांक तथा नामावली सर्वजानिक गर्नु पर्छ । साथै उक्त प्रविधि युक्त प्रयोगशालाहरूलाई आवश्यक सामग्री उपलब्ध गराई उपयोग गर्नु पर्छ । प्रयोगशाला परीक्षणलाई राजधानी केन्द्रित नबनाई सबै प्रदेशमा पुर्‍याउनु यस महमारीको विरुद्ध लड्ने रणनीतिको बलियो खम्बा हुनेछ ।

(लेखक माइक्रोबायोलोजिकल स्टुडेन्टस् असोसिएशन अफ नेपालका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २९ बजे

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक

काठमाडौँका विभिन्न ठाउँमा तीन जनाको शव भेटियो

काठमाडौं – काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

दोधारा चादनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा शनिबार भएको इजरायली हमलामा छ बालबालिकासहित १९

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव 

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको