कसरी पारित हुन्छ संविधान संशोधन विधेयक ? « Khabarhub

कसरी पारित हुन्छ संविधान संशोधन विधेयक ?


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस भएको छ । अब छलफलबाट पारितको प्रक्रियामा अघि बढ्नेछ ।

संविधानको धारा २७४ मा संविधान संशोधनको व्यवस्था छ । संविधानको कुनै धारा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिने व्यवस्था छ ।

संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित नेपालको निशान छापमा रहेको नेपालको नक्सा संशोधनसम्बन्धी विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले आइतबार प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् ।

सरकारले छिमेकी मुलुक भारतद्वारा अतिक्रमित कालापानीदेखि पिलुलेक हुँदै लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गरेपछि संविधानको अनुसूची ३ को निशान छापमा अंकित नेपालको नक्सा बदलेर हालै अद्यावधि नक्सा राख्न संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कसरी हुन्छ त संविधान संशोधन ? संविधान र प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेरौं ।

कुनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोध गर्न चाहने सदस्यले त्यसको सूचना प्रस्ताव प्रस्तुत हुने दिनभन्दा कम्तीमा एक दिनअगावै सचिवलाई दिनुपर्ने व्यवस्था छ ।

यसअनुसार संविधान संशोधन विधेयकमा विरोधको सूचना दर्ता भएन ।

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको तीस दिनभित्र संसदका महासचिवले सर्वसाधारण जनताको जानकारीको लागि सार्वजनिकरूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

यसरी विधेयक प्रकाशन गरिएको सात दिनपछि बसेको कुनै बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

उक्त प्रस्तावमाथि छलफल हुँदा विधयेकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुनेछ । संसदमा पेश भएको विधेयकमा संशोधन पेश गर्न चाहने सदस्यले विधेयकमाथिको सामान्य छलफल समाप्त भएको बहत्तर घण्टाभित्र आफूले पेश गर्न चाहेको संशोधनसहितको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ ।

यसपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

संविधान संशोधन विधेयक र सो सम्बन्धमा प्राप्त संशोधन प्रस्तावमाथि दफावार छलफल गरी बैठकमा प्रतिवदेनसहितको विधेयक प्रस्तुत गर्ने प्रयोजनका लागि सभामुखले बैठकको अनुमति लिई विशष समिति गठन गर्न सक्ने व्यवस्था छ ।

सबै दलको सहमति भए यस्तो विशेष समिति गठन नहुन सक्छ ।

संविधान संशोधन विधेयकको प्रत्येक धारा वा उपधारा वा त्यसमा प्रस्तुत भएको संशोधन सभामुखले एक–एक गरी निर्णयार्थ बैठकमा प्रस्तुत गर्नुपर्छ ।

संविधान संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधयेक पारित भएको मानिने व्यवस्था छ ।

संविधान संशोधन गर्ने विधेयक सदस्यहरूको ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने ध्वनि मतले स्वीकृत वा अस्वीकृत हुँदैन । संविधान संशोधन प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने व्यवस्था छ ।

संविधान संशोधन प्रस्ताव गत बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेकोमा संसद सचिवलायले हटाएको थियो । विपक्षी दल नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी पनि संविधान संशोधन प्रस्तावको पक्षमा उभिने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन् । दुवै पार्टीको संयुक्त बैठकले निर्णय गरेर संविधान संशोधनका पक्षमा मतदान गर्ने एक नेताले बताए ।

यी दुई दलको समर्थन भए संविधान संशोधन विधेयक सर्वसम्मत पारित हुनेछ ।

दुवै पार्टीले एकीकरणको निर्णय गरी निर्वाचन आयोगमा एकीकरणको सूचना दर्ता गराएका भए पनि केन्द्रीय कार्यसमितिका सदस्यहरूको नामावली सहितको विधान पुगेको छैन ।

भारतले कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमि अतिक्रमण गरेर नक्सा जारी गरेपछि नेपाल सरकारले अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको हो । अद्यावधिक नक्सा निशान छापमा अंकित गर्न संविधान संशोधन हुन लागेको हो ।

संविधान संशोधन विधेयक संसदमा पेश (भिडियोसहित)

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : ५१ बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र