डोकोमा पानी बोक्ने दुःख अन्त्य « Khabarhub

डोकोमा पानी बोक्ने दुःख अन्त्य


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जान्थिन् । पानीको जोहो गर्न सबेरै जानुपर्ने उनको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भैसकेको थियो ।

सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्थिन्। बिहानै नपुगे खानेपानी पनि पाईदैन थियो । “बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो”, उनले भने, “एक घण्टासम्म डोकोमा बोकेर पानी ल्याउनुपर्थ्यो ।”

दुवै जनालाई अब पानीको जोहो गर्न डोको बोकेर पँधेरासम्म पुग्न परेन । रोटरी क्लब अफ दमौलीले दाताको सहयोगमा गाउँमै खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयवासीका पानीको दुःख हटेको छ । सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा छ चुँदेर गाउँ । सदरमुकाम नजिकै भए पनि यहाँ वर्षौसम्म खानेपानीको चरम अभाव रह्यो । “खानेपानीको अभावले कति दुःख भयो भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन”, सीतामायाले भनिन्, “आज घरमै धारा आउँदा खुसीको सीमा नै छैन ।पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झरे, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही बस्यौँ।”

पचास वर्ष पहिला १५० घरधुरी रहेकामा खानेपानीको दुःखकै कारण अधिकांश गाउँले बेँसी झरेको स्थानीयवासी अमर थापाले जानकारी दिए । खानेपानी योजना माग्दै विभिन्न तहका सरकारको ढोका गुहारेपनि सुनुवाइ नभएपछि रोटरी क्लबले खानेपानी बनाइदिने भन्ने खबरले स्थानीयवासी खुसी भए । “खानेपानी योजना सम्पन्न भएर घरदैलोमा नै पानी आएको देख्दा खुसीले गद्गद् छौँ, वर्षांैदेखिको पानीको दुःखले स्थानीयवासीले भोग्नुपरेको दुःख अब हट्यो”, सीतामायाले भनिन्।

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गरिएको हो । वर्षौंदेखि खोल्सा र पँधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यसहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण सुरु भएको थियो । रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण गरिएको दमौली रोटरीका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । यसबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।

खानेपानीका लागि अमेरिकास्थित रोटरीले रु ८४ लाख ८१ हजार ६६७, दमौली रोटरीले रु तीन लाख ४२ हजार सहयोग गरेकामा नपुग रकम नगरपालिकाले बेहोरेको दमौली रोटरीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । यो योजनामा ३० मिटरको ट्रान्समिसन लाइन र ५८० मिटर वितरण लाइन निर्माण गरिएको छ ।

खानेपानी योजना शुभारम्भ गर्दै रोटरी क्लब अफ नेपाल– भुटान ३२९२ का पूर्व गर्भनर राजीव पोखरेलले नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा रोटरीले सहयोग गर्दै आएको बताए । यो योजना दिगो बनाउने काम स्थानीयवासीको भएको उनको भनाइ थियो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले खानेपानीको चरम अभाव भएको गाउँमा रोटरीले खानेपानी योजना निर्माण गरिदिएर सकारात्मक काम गरेको बताए । “रोटरीले नगरेको भए यो काम नगरपालिकाले गर्नुपथ्र्यो, नगरपालिकाको अभियानमा रोटरीले साथ दियो”, उनले भने । वडाध्यक्ष मोहनकुमार श्रेष्ठले खानेपानीको अभावमा गाउँ छाडेर गएकालाई अब गाउँ फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : ४६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने