मेलम्चीको साढे ८ करोड लिटर पानी उपत्यकावासीका धारामा « Khabarhub

मेलम्चीको साढे ८ करोड लिटर पानी उपत्यकावासीका धारामा


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छन्।

मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन् ।

मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उनले बताइन् । मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदुषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।

“प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उनले भनिन् ।

केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । मेलम्चीको पानी राजधानी आएसँगै जमिनमुनि पानी पुनर्भरणमा समेत ध्यान दिन पनि उनले सरोकार भएका निकायलाई निर्देशन दिइन ।

पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो । परीक्षण सफल भएपछि आजदेखि साढे ८ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी हाल निर्माण भइरहेको छ ।

गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो ।

महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो ।

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ४५ बजे

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु

एजेन्सी– पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक

काठमाडौं- कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम– मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी-एड्स सङ्क्रमित बिरामीको

पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द

एजेन्सी– अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि