पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा वितरणमा कोरोनाको असर « Khabarhub

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा वितरणमा कोरोनाको असर



झापा— प्रारम्भदेखि नै विवाद र बहसमा जेलिएको बहुचर्चित पूर्व—पश्चिम रेलमार्ग निर्माणको प्रक्रिया झन् पछि धकेलिने देखिएको छ । रेलमार्ग निर्माण प्रक्रियामा कोरोना संक्रमणको दोस्रो लहरको असर परेको छ ।

पूर्वका तीन जिल्ला झापा, मोरङ र सुनसरीका रेल्वे प्रभावित परिवारलाई यही वैशाख मसान्तसम्ममा मुआब्जा दिने भनिएको थियो । कोरोना संक्रमण बल्झिएपछि मुआब्जा दिने काम पूर्वनिर्धारित समय सीमाभित्र नसकिने देखिएको छ ।

रेल्वेमा परेका जग्गाको मूल्यांकनको काम झापा र सुनसरीमा सकिएको छ । मोरङमा मूल्यांकनको काम केही बाँकी रहेकाले तीन जिल्लाको मुआब्जा वितरण एकै पटक शुरू गर्ने लक्ष्य पूरा हुनमा कठिनाइ उत्पन्न भएको छ ।

यही वैशाख मसान्तसम्ममा तीनवटै जिल्लामा एकसाथ मुआब्जा वितरण शुरू गर्ने प्रशासनको तयारी थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार मोरङमा अन्तिम निर्णय हुनासाथ जग्गाधनीहरूलाई मुआब्जा लिन सार्वजनिक सूचना आह्वान गर्ने कार्य अघि बढ्नेछ । रेल्वे प्रभावित जग्गाधनीहरूलाई उचित मुआब्जा दिने तयारी रहेको उनले बताए ।

१० हजार कित्तामा ७ सय बिघा

‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ अन्तर्गतको ‘रेल योजना कार्यालय’ दमकका इन्जिनियर बोधराज भण्डारीका अनुसार झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्ममा १० हजार कित्ताभन्दा बढीको ७ सय बिघा हाराहारी जग्गा रेल्वेमा परेको छ ।

रेल्वे प्रभावितहरुको संख्या भने यकिन छैन । मुआब्जामा १५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सरकारी अनुमान छ ।

देशभरिमा हाल दमक र सर्लाहीमा मात्र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि काम भइरहेको छ । सबै जिल्लामा कार्यालय नै स्थापना गरिएको छैन । सर्लाहीमा २०६८ सालमै कार्यालय स्थापना भई काम थालेकाले त्यहाँ मुआब्जा वितरणको काम सकिएको जनाइएको छ ।

झापामा  २०७७ को पुस अन्तिममा मात्र रेल योजना कार्यालय स्थापना भएको हो । यो कार्यालय दमकमा रहेको छ । कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा परेका रेलमार्गका जग्गाको मूल्यांकन गर्ने, फिल्डमा जग्गा छुट्याउने, मुआब्जा निर्धारणका लागि आवश्यक सहयोग गर्ने र त्यसपछि रेलको लिक निर्माणको काम शुरू गर्नेछ ।

रेल योजना कार्यालयका नायव सुब्बा चन्द्रप्रसाद रिजालका अनुसार निर्धारित काम धमाधम भइरहेको छ । उनका अनुसार सम्भवतः आगामी असार मसान्तसम्ममा जग्गा खाली गर्ने र उपयुक्त समयमा रेलको लिक निर्माणको काम शुरू गर्ने योजना छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण पूर्वी क्षेत्रमा चाँडै काम हुन नसकेको उनले बताए । रेलको लिकका लागि रेगमार्गमा दुवैतर्फ गरेर ५० मिटर अर्थात् १६२ दशमलव ५ फिट जग्गा खाली गरिँदै छ । झापा, मोरङ र सुनसरीमा गरी रेलमार्गको लम्बाइ १०६ दशमलव ५ किलोमिटर रहेको छ ।

उचित मुआब्जा पाउने अपेक्षा 

रेलमार्गमा जग्गा परेका जग्गा धनीहरूले उचित मूल्य पाउने अपेक्षा गरेका छन् । यसका लागि उनीहरूले दबाब पनि दिइरहेका छन् ।

झापा, मोरङ र सुनसरीका रेल्वे प्रभावितहरूले जग्गाको मुआब्जा निर्धारणका लागि समिति गठन गरेर प्रशासनलाई उचित मु्आब्जाका लागि दबाब दिँदै आएका छन् ।

प्रदेश १ का रेल्वे प्रभावितहरूको समितिका सदस्य झापाका दिलीपकुमार संग्रौलाले देश विकासका लागि रेल चलाउनु र त्यसका लागि काम हुनु खुसीको कुरा भएको बताए ।

रेल्वेमा परेको जग्गा खाली गर्न आफूहरू तयार रहेको तर सरकारले उचित मुआब्जा दिनुपर्ने उनको भनाइ छ । उनीले जग्गाको मुआब्जा चलनचल्तीका आधारमा दिनुपर्ने बताए ।

झापाको दमक–९ का रेल्वे प्रभावित देवीबहादुर बुढाथोकीले आफ्नो १ बिघा २ कठ्ठा जग्गामध्ये ११ कठ्ठा रेलमार्गमा परेको बताए ।

आफूले जोतभोग गरिरहेको जग्गाको स्वामित्व हट्दा दुःख लागे पनि अर्को ठाउँमा जग्गाको व्यवस्था गर्न सरकारले जतिसक्दो चाँडो मुआब्जा दिनुपर्ने आफ्नो माग रहेको उनको भनाइ छ ।

झापामा ६ वटा पालिकाका २५ वटा वडा हुँदै रेलमार्ग निर्माण हुने भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ०५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै