टेबुल–टेबुलको शासन चलाएर हुँदैन : अर्थमन्त्री « Khabarhub

टेबुल–टेबुलको शासन चलाएर हुँदैन : अर्थमन्त्री

नवनियुक्त अर्थसचिव मरासिनीको पदबहाली, निवर्तमान सचिव ढुङ्गानाको विदाइ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको विदाइ गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाइ र नवनियुक्त सचिवको स्वागत गरे ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे ।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई मनन् गर्न निर्देशन दिए ।

“मन्त्रालयमा टेबुल–टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ ।” मन्त्री शर्माले भने “मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्‍यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।”

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनतपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे । कोभिड महामारीकै बीच राजश्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।

स्वागत तथा विदाइ कार्यक्रमको सहजिकरण गर्दै राजश्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिर कुमार ढुङ्गानाको विदाइले अर्थ मन्त्रालयमा सिर्जना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्वद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे । राजश्व सचिव पुडासैनी साउन २४ गते शनिबारदेखि सेवा निवृत्त हुँदैछन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ०३ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको