कोरोना महामारीमा पनि बन्दैछ रातो मच्छिन्द्रनाथको रथ « Khabarhub

कोरोना महामारीमा पनि बन्दैछ रातो मच्छिन्द्रनाथको रथ



काठमाडौँ— गत बिहीबारदेखि काठमाडौँ उपत्यकामा सरकारले निषेधाज्ञा लागू गरेको छ । उपत्यकाका मुख्य सडकहरू सुनसान छन् ।

निषेधाज्ञा जारी रहँदा ललितपुरमा भने यतिबेला सांस्कृतिक पर्वको काम चलिरहेको छ । ललितपुरस्थित पुलचोक सडकको बायाँतर्फ रातो मच्छिन्द्रनाथको रथ बनाउने काम धमाधम छ ।

करिब १५ दिनमा सम्पन्न हुने गरी गत शुक्रबार रथ निर्माणको काम शुरू भएको हो । रथ निर्माणमा सहभागी स्थानीय वासिन्दा पवन डङ्गोल भन्छन्, ‘रथ निर्माणको काममा ३० जनाको सहभागिता छ, १५ दिनभित्र रथ बनाइसक्छौँ, त्यसपछि रथयात्रा शुरू हुनेछ ।’

यसरी भीडभाडमा काम गर्दा कोरोनाको त्रास हुँदैन ?

डङ्गोल भन्छन्, ‘हामी हाम्रो संस्कृतिलाई आत्मसात गर्दै रथ निर्माणमा जुटेका छौँ, हामीलाई कुनै पनि भाइरसले भेट्दैन ।’

रथ बनाउने काम भइरहे पनि रथयात्र गर्न पाइएला कि नपाइएला भन्नेमा चाहिँ उनीहरू अन्योलमा छन् ।

‘रथ बनाउन थोरै कामदार भए पनि पुग्छ तर घुमाउनका लागि ५० जना आवश्यक पर्छ,’ रथ निर्माणमा सहभागी श्याम डङ्गोल भन्छन्, ‘कोभिडका बिरामीहरू बढिरह्यो र अझै भयावह स्थिति आयो भने रथ त हामी बनाउँछौँ तर रथयात्रा गर्न केही समस्या हुन्छ कि !’

महानगर भन्छ : जात्रापर्व रोकिँदैन

गत बुधबार जिल्ला प्रशासन कार्यालय, ललितपुरले ‘विश्वभर फैलिँदै गएको नयाँ भेरियन्टको कोभिड माहामारीलाई ध्यानमा राखी कुनै पनि काममा १५ जनाभन्दा बढी भेला हुन नपाउने’ गरी एउटा सूचना जारी गरी गर्‍यो ।

लगत्तै शुक्रबार रातो मच्छिन्द्रनाथको रथ बनाउन ललितपुर महानगर र ललितपुर जिल्ला प्रशासनले ३० जनासम्म उपस्थित भएर काम गर्न अनुमति दिए ।

यस विषयमा जिज्ञासा राख्दा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सुरक्षाका सबै मापदण्ड अपनाएर रथ बनाउन अनुमति दिएको बताए । उनले खबरहबसँग भने, ‘सर्वोच्च अदालतले स्थानीय जात्रापर्व नरोक्नू भनिसकेकाले हामीले रोक्न मिल्दैन । सुरक्षाका मापदण्ड अपनाएर रथ बनाउन अनुमति दिएका हौँ ।’

स्थानीय संस्कृति समेत जोडिएको विषय भएकाले परम्परा धान्नका लागि रथ निर्माणको अनुमति दिएको उनको भनाइ छ ।

वैशाख २९ गते रथारोहण हुनेछ र जेठ १ गते पहिलो पटक तथ तानिनेछ । रथ ललितपुरको पुलचोकबाट गाबाल हुँदै सुन्धारा र पुनः लगनखेल हुँदै जावलाखेल पुर्‍याइनेछ ।

रथयात्रामा थोरै मानिस सहभागी गराइने र आमदर्शकका लागि केही सञ्चारमाध्यमले लाइभ प्रसार गर्ने व्यवस्था मिलाउने महानगर प्रमुख महर्जनले बताए ।

अगाडिदेखि नै माइकिङ गरेर स्थानीयवासीलाई सम्झाउने तथा सुरक्षाकर्मीसमेत तैनाथ गरेर भिडभाड हुन नदिने उनको भनाइ छ ।

गत वर्ष रथ यात्राका क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । यस विषयमा जिज्ञासा राख्दा महानगर प्रमुख महर्जनले भने, ‘रथ तान्ने क्रममा दूरी कायम गर्ने कुरा हुँदैन तर मास्क अनिवार्य गर्छौं, भीडभाड हुँदैन । अदालतले नरोक्न भनेपछि हामीले पनि रोक लगाएनौँ । सभ्य तरिकाले रथयात्रा सफल हुनेछ ।’

रथ बनाउने काम गुठी संस्थानको हो । तान्ने काम ज्यापु समाज लगायत विभिन्न संघसंस्थाहरूले गर्छन् । कोरोना भाइरस संक्रमणको विषम परिस्थिति भएकाले स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गराउन महानगरले भूमिका निर्वाह गर्ने उनले बताए ।

अहिले रथ बनाउन खटिएकाहरूका लागि मास्क र स्यानिटाइजर महानगरले उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ०५ बजे

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन