ठूला जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउँदै विद्युत प्राधिकरण | Khabarhub Khabarhub

ठूला जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउँदै विद्युत प्राधिकरण


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्रधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ।

प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एक साथ अगाडि बढाउन लागेको छ।

तीनवटै आयोजनाहरु अहिले बिस्तृत अध्ययनको अन्तिम चरणमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तीन वटा जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङलाई अन्तिम रुप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापन लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगका छलफललगायतलाई समानान्तर रुपमा अगाडि बढाइएको बताउँछन्।

‘दैनिक एवं मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत छिमेकी मुलुकमा निर्यातका लागिसमेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनलाई उच्च प्राथमिकतामा लागि निर्माण अगाडि बढाउनु लागिएको हो’, घिसिङले भने, ‘एक वर्षभित्रमा निर्माण पूर्वका सम्पूर्ण कामहरु सकेर निर्माणमा लैजाने गरी तीव्रताका साथ काम गरिरहेका छौँ।’

अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैंक (एडीबी)को नेतृत्वमा दूधकोशीमा लगानीका लागि युरोपेली लगानी बैंक (ईआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले उल्लेख गरे।

‘सरकारले कार्यान्वयनमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकलाई समेत सेयर निष्काशन गरी रकम जोहो गर्नेछौँ, यसबाट आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ’,उनले भने।

नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत सर्वसाधारण नागरिकलाई पनि सेयर निष्काशन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइनेछ।

दूधकोशीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोशी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिएको छ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र वर्खामा क्रमशः १ अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।

आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ।

ओखलढुंगा र सोलुखुम्बुतर्फको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै सुरु हुनेछ।

आयोजनाको निर्माणका लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ। उत्पादित बिजुली प्रस्तावित सुनकोशी–ढल्केबर ४ सय केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

कार्यकारी निर्देशक घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाइने बताए।

‘जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चार अंकको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ’, उनले भने।

आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर छ।

कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ। आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।

प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ। इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो।

बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेन्जर आयोजनाको रुपमा अगाडि बढाइनेछ।

जनताको जलविद्युत कार्यक्रममाअन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ।

आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम भइरहेको छ।

हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक १ अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ५९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले