बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम अघि बढाऔँ : पूर्वअर्थमन्त्री पौडेल « Khabarhub

बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम अघि बढाऔँ : पूर्वअर्थमन्त्री पौडेल


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिनसक्ने भन्दै यसका बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार र सरोकार रहेका व्यक्तिहरूको ध्यानाकर्षण गराउनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका क्रममा बिहीबार लुम्बिनी पुगेका उनले धार्मिक र पर्यटकीय हिसाबले विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनीको थप विकासका लागि बृहत गुरुयोजनाको कार्यान्वयन आवश्यक रहेको सुझाव दिए।

उनले भने, “दुनियाँमा मानिसले ठूला चमत्कार गर्न सक्लान् तर बुद्धको जन्मभूमि कसैले सिर्जना गर्न सक्दैन । धार्मिक र पर्यटकीय हिसाबले लुम्बिनी विश्वकै आकर्षक गन्तव्यमात्र होइन कि विश्वको झण्डै एकतिहाइ जनसङ्ख्याकै आस्थाको केन्द्र हो, त्यसैले यसको विकासमा राज्यको ध्यान पुग्नु नितान्त जरुरी छ ।”

केन्जो टांगेले ४० वर्षअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा नहुनु बिडम्बना भएको बताउँदै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेकामा उनले जोड दिए । पूर्वमन्त्री पौडेलले गुरुयोजनाको कार्यान्वयनले मात्रै लुम्बिनी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताए ।

लुम्बिनी गुरुयोजनाका बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्नका लागि आफू अर्थमन्त्री भएका बेला रु सात अर्ब ३३ करोड बजेट विनियोजन गरी बहुवर्षीय स्रोत सुनिश्चितता गरेको जनाउँदै यसको सही सदुपयोग गर्न र आयोजनाको पूर्णतामा ढिला नगर्न पनि उनले सरकारसँग आग्रह गरे।

पूर्वमन्त्री पौडेलले गौतमबुद्धले २९ वर्ष बिताएको तिलौराकोट, बुद्धका अस्तु धातु राखिएको ठाउँ रामग्रामलगायतका बुद्धसँग जोडिएका स्थलहरूलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुविषयक विश्वविद्यालयमा स्तरोन्नति गर्न केन्द्रीय क्याम्पसको संरचना विकास र विस्तारका लागि गौतमबुद्धको मावलीस्थल देवदहमा ९२ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय अघिल्लो सरकारले गरिसकेको जनाउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विश्वविद्यालयका रूपमा यस विश्वविद्यालाई स्थापित गर्नुपर्ने उनको सुझाव थियो ।

पूर्वअर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुका दिनमा क्षेत्रीयस्तरको विमानस्थलका रूपमा डिजाइन गरिए पनि आवश्यकता महसुस गरी पूर्ण क्षमतामा सञ्चालनका लागि थप जग्गा अधिग्रहण गरिएको जानकारी दिँदै विमानस्थलको दोस्रो चरणको डिपिआरको काम अघि बढाउन पनि आग्रह गरे। उनले विमानस्थलको उद्घाटन हुँदा दोस्रो चरणको कामको शिलान्यास गर्न सक्ने गरी काम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।- रासस

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : २३ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम

फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि

हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ

आजदेखि देशभरका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं– सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको