रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा शुरु | Khabarhub Khabarhub

रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा शुरु


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा शुरु भएको छ ।

पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी मेलाको आकर्षणको केन्द्रविन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरिएको छ । मन्दिर प्रांगणमा सीतारामको चरित्रसम्बन्धी कथा प्रवचन शुरु भइसकेको छ ।

हिन्दुहरूको अराध्यदेव सीतारामको विवाहोत्सवको रूपमा मनाइने विवाह पञ्चमीमा भाग लिन भारतीय सन्त महन्थहरू जनकपुर आइपुगेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

विवाह पञ्चमीभन्दा एक दिन अगाडि भारतबाट जन्तीको रूपमा हजारौँ सन्त महन्थ जनकपुर आउने गर्छन् । तर यस वर्ष कोरोनाको महामारी कायमै रहेकाले न्यून संख्यामा भारतबाट साधुसन्त आउने भएका छन् ।

पञ्चमीका दिन जनकपुरका जानकी मन्दिरका अतिरिक्त सुन्दर-सदन (रामजानकी मन्दिर), झुलन कुञ्ज, युगलविनोद कुञ्ज, प्रेम कुट्टीसहितका मठमन्दिरमा मैथली परम्पराअनुसार सीतारामको वैवाहिक कार्यक्रमको आयोजना हुने गरेको छ ।

ती मन्दिरहरूमा समेत विवाह पञ्चमीको तयारी भइरहेको सुन्दरसदनका महन्थ नवलकिशोर शरणले बताए । जनकपुरमा सबैभन्दा बढी तीर्थालुको आगमन हुने यस महोत्सवमा एक लाखभन्दा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।

तीर्थालुका लागि बस्ने, दिसा पिसाब गर्ने तथा पिउने पानी तथा सरसफाइ लागि जनकपुरधाम उपमहनगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र युवा क्लबहरूले संयुक्त्त रूपमा लिएका छन् ।

सात दिवसीय रामजानकी विवाह महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शनको कार्यक्रम छ ।

भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई जानकी मन्दिरको प्रागंणबाट गाडी जनकपुरधामको परिक्रमा गराई नगर दर्शन गराइन्छ । नगर दर्शनमा पनि महिलाहरूले विभिन्न लोकगीत गाई राम र लक्ष्मणलाई फूलले स्वागत गर्ने चलन छ ।

२३ मंसिरसम्म चल्ने रामजानकी विवाह महोत्सवको दोस्रो दिन शनिबार फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंम्बर र साँझ विवाह तथा २३ गते रामकलेवा हुनेछ ।

रामकलेवाका दिन जानकी मन्दिरको परिसरमा ठूलो भोजको आयोजना गरिन्छ । जसमा साधुसन्तलाई खाना खुवाई बिदाइ दिने चलन रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

नौ दिनसम्म जनकपुरधाममा मासु मदिरा बिक्री-वितरण निषेध

विवाह पञ्चमीको अवसरमा नौ दिनका लागि जनकपुरमा माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । १७ देखि २६ मंसिरसम्म जनकपुरधाममा माछा-मासु र मदिराको बिक्री-वितरण नगर्न जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गरेको छ ।

‘जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्वार र सीमा एवं जनकपुरधामस्थित परिक्रमा र परिक्रमा क्षेत्रभित्र माछा-मासु र मदिराको बिक्री वितरण, सेवन तथा कारोवार गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

सप्ताहव्यापी मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए । सुरक्षाका लागि बाहिरबाट थप चार सय पचास सुरक्षाकर्मी मगाइएको छ ।
बाह्रबिघा मैदान, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटिभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : ५५ बजे

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु

‘नेपाल आफ्नै गतिको आर्थिक विकासमा छ’

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर