बासिन्दा धारापानीवासीका, पिउने पानी खोलाको « Khabarhub

बासिन्दा धारापानीवासीका, पिउने पानी खोलाको


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी सो स्थानमा आएका थिए ।

खोलाको पानी प्रयोग गर्नु उनका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको बस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका बासिन्दाले धारपानी खोलाको पानी पिउन प्रयोग गर्दै आएका छन् ।

गाउँमा बस्दै आएका २० परिवारले खाना बनाउन, घट्ट चलाउन, लुगाकपडा धुन, गाईवस्तुलाई पानी खुवाउन र पिउनका लागि खोलाको पानी नै प्रयोग गर्दै आएका छन् ।

दशकअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको साइमले धामी परिवार आश्रयको खोजीमा धारापानी गाउँमा बसेको छ । गाउँमा बसेदेखि धामी परिवारले पनि खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएका छन् ।

‘वर्षातमा खोलाको पानी धमिलो हुन्छ, बाध्यताले त्यही पिउनका लागि प्रयोग गर्छौँ’, उनले भने, ‘जेठ–वैशाख महिना खोला सुक्ने भएकाले खानेपानीको खोजी गर्दै चुरे पहाडका खोलाखोला चहार्दै हिँड्नुपर्दछ ।’

गर्मीका बेला खोला सुक्ने भएकाले चार/पाँच किलोमिटर टाढाबाट समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको उनले बताए ।

‘पर्यटकीय क्षेत्र बतासे झर्ना जानका लागि गाउँ भएरै सडक आएको छ । व्यापार/व्यवसाय बढेको छ । खाने गुजारा चलेको छ’, मोहनसिंह धामीले भने, ‘एउटै अभाव खानेपानी र विद्युत्को छ । दुवै भए दुर्गममा बस्दै आएका हामीजस्तालाई सुविधा हुने थियो ।’

खानेपानी र विद्युत्का लागि स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म कुरा राखे पनि सुनवाइ अझैसम्म हुन नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी खानेपानी र विद्युत् अभाव भएको चुरे क्षेत्रको धारापानी बस्तीका बासिन्दाको आवाज सुनेको बताउँछन् ।

‘धारापानी गाउँका बासिन्दाले दुवै कुराको मसँग माग गरेका छन् । चालु आवभित्रै खानेपानीका पाइपको व्यवस्था गर्न प्रतिबद्ध छु’, उनले भने, ‘बस्तीमै पुगेर अश्वासन दिएको छु । त्यो पूरा गर्छु । आउँदो आवभित्रै बस्तीमा विद्युत्को भरपर्दो व्यवस्था हुन्छ ।’

चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षात्को उर्लिँदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनास हुन थालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ । विद्यालय र स्वास्थ्यचौकीको सेवा लिन पाँच किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।

वर्षातमा नदीमा पानीको बहाव बढ्दा ती सेवासमेत लिन यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाडने क्रम बढदै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ ।

वडाध्यक्ष बहादुरसिंह महरा बस्तीमा बाल विकास केन्द्र सञ्चालन गर्नका लागि पहल भइरहेको बताउँछन् ।

‘खानेपानी र विद्युत्का लागि वडाको बजेटले धान्दैन’, उनले भने, ‘यसका लागि प्रदेश सरकारसँग समन्वयको कार्य गरिरहेका छौँ । केही महिनाभित्रै खानेपानीको कार्य शुरु हुन्छ । त्यसपछि विद्युत् विस्तारका लागि काम अगाडि बढाउँछौँ ।’ रासस

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १२ : ५४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष