पितृसम्मानको अपरम्पार महिमा | Khabarhub Khabarhub

पितृसम्मानको अपरम्पार महिमा



यही भदौ २२ गते हामी हिन्दु धर्मावलम्बीहरू कुशे औँसी अर्थात् पितृ औँसी मनाउँदैछौँ । भनिन्छ कि मरेपछि खीरको पिण्डभन्दा बाँचुन्जेल तातो ढिँडो पेटभरि दिने पुत्रहरू नै असल हुन् । आफू मोजमस्तीमा रमाउने तर वृद्ध आमाबाबु नर्कतुल्य थलोमा बस्नु पर्ने बाध्यता पनि देखिने गरेको छ । पश्चिमा शैलीका वृद्धाश्रमहरूको सङ्ख्या बढ्दै गएको छ । पुर्ख्यौली सम्पतिमा आँखा गाड्ने तर बाबाआमाप्रति निर्दयी हुने अपसंस्कृति हुर्कंदै गएको छ ।

यस्तो समयमा कुसे औँसी पर्वले एक सकारात्मक संकेत त देला तर जान्नेलाई पो श्रीखण्ड हुन्छ त नत्र त खुर्पाको बीँड नै हुने हो ।

पितृ देवो भव अर्थात् जन्म दिने बाबुदेवता सरह हुन् भनिन्छ । पूर्वीय धर्म र दर्शनअनुसार मानिसले जन्मदै तीन वटा ऋणमा हुन्छ– पितृ ऋण, देव ऋण र ऋषि ऋण ।

पितृ ऋण चुकाउने केही पर्वहरू छन्, त्यसमध्ये पर्छ कुसे औँसी अर्थात भाद्र कृष्ण पक्ष औँसी । कुसे औँसी पिताको सम्मान गर्ने दिनको रूपमा पनि लिइन्छ । जन्मदिने आमा, कर्म दिने बुबा र शिक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनी शास्त्रहरूले स्पष्ट किटान गरेका छन् । त्यसैले पिता आफैँमा एक महत्वपूर्ण तीर्थ पनि हुन् ।

पुँ नामक नरकबाट उद्धार गर्ने हुनाले छोरोलाई पुत्र भनिएको हो, लालनपालन गरेर वा पिण्ड पानी दिएर या मृत्युपछि बाबाआमालाई सागरसम्म लग्दा आफ्नै काँधमा बोकेर ।

आमाबुबाको लास बोकेर घाटसम्म लग्दा प्रत्येक पाइलामा एक अश्वमेध यज्ञ बराबरको फल पाइने कुरा शास्त्रमा वर्णित छ । आद्य गुरु शंकराचार्यले भन्नुभएको छ– कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् वंशमा सन्तान खराब आउन सक्छन् तर कु बाबा वा कु आमा कहिल्यै हुन्नन् । कलिमा यदा कदा देखिनु अर्कै कुरा हो ।

पिताको स्थान हरेक दिन उच्च रहन्छ तथापि विशेष दिनको रूपमा कुशे औँसीलाई ‘बाबुको मुख हेर्ने’ भन्ने हाम्रो चलन छ । जीवित बाबुलाई उनलाई मनपरेको खाना, वस्त्र इत्यादि उपहार चढाएर खुशी पार्ने र आशीर्वाद लिने गरिन्छ । स्वर्गवासी बाबुका नाममा तीर्थ गएर स्नान, दान, तर्पण, पिण्ड आदि श्राद्ध गरिन्छ । यसो गर्दा आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास छ ।

पितृ औँसीका दिन काठमाडौँको पूर्वोत्तर गोकर्ण क्षेत्रमा स्वर्गवासी पिताको दर्शन पाइन्छ भन्ने विश्वास रहेको छ । यहाँ यस दिन स्नान, दान, श्राद्ध, पिण्डदान, तर्पण इत्यादिबाट पितृहरूले परम गति प्राप्त गर्छन् भन्ने कुरा शास्त्रहरूमा किटानी गरिएको छ ।

कुसे औँसी पिताको सम्मान गर्ने दिनको रूपमा पनि लिइन्छ । जन्मदिने आमा, कर्म दिने बुबा र शिक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनी शास्त्रहरूले स्पष्ट किटान गरेका छन् । त्यसैले पिता आफैँमा एक महत्वपूर्ण तीर्थ पनि हुन् ।

यस दिन गोकर्णमा तीर्थयात्रुहरूको ठूलो भीड लाग्ने गर्छ । त्यहाँ पुग्न नसक्नेहरूले आप्mना पिताको नाममा घरमा, घाटमा नजिकको तीर्थ क्षेत्र, गौशाला, सार्वजनिक स्थल, उद्यान आदिमा बसेर श्राद्ध आदि कार्य गर्ने चलन पनि छ ।

उहिले कुनै परिवारमा बाबुछोराबीच आपसमा कटाक्ष भएको र बाबुको मृत्युपछि शोकमा रहेको छोरो गोकर्णमा जाँदा मरेका बाबुलाई भेटेको भन्ने किम्बदन्तीका आधारमा पनि पितृ औँसी बाबुको सम्मान र स्मरण गर्ने दिन बनेको हो । यही परम्पराले आजसम्म पनि गोकर्ण क्षेत्रमा निरन्तरता पाएको छ ।

हामीकहाँ धेरै तीर्थ क्षेत्रहरू छन् तर कोरोना संक्रमणका कारणले केही समयका लागि हामीले केवल मनले मात्रै सम्झनुपर्ने अवस्था छ । गोकर्णमा विष्णुपादुका वा बाग्मती किनारामा बसी श्राद्ध, पिण्डदान गर्ने गरिन्छ । गोकर्णभन्दा अलि पर पूर्वपट्टि उत्तरगया क्षेत्र छ । बागमती उत्तरतिर बगेको त्यो क्षेत्र पिण्डदानको लागि अझ महत्वपूर्ण रहेको छ ।

भनिन्छ, गोकर्ण श्राद्धपछि मात्रै अन्य तीर्थ श्राद्धका बाटाहरू खुल्छन् । त्यसो त हाम्रा धेरै अन्य क्षेत्रहरू पनि छन् । रसुवाको गोसाइँकुण्ड, रसुवाकै बेत्रावती, नुवाकोटको त्रिशूली, सुनसरीका विष्णुपादुका र वाराहक्षेत्र, पिण्डेश्वर, नवलपरासीको त्रिवेणीधाम, चितवनको देवघाट, मुस्ताङको कागबेनी, मुक्तिक्षेत्र, गुल्मीको रुरु रेसुङ्गा र काठमाडौँको आर्यघाट, टेकु एवं थुप्रै यस्ता क्षेत्रहरू छन् । यी क्षेत्रमा पुग्दामात्रै पनि देवता र पितृहरू प्रसन्न रहन्छन् भन्ने विश्वास छ ।

धर्म, संस्कृति, संस्कारविनाको समाज जराविनाको रूखझैँ हुन्छ, हावाहुन्डरी आउँदा ढल्छ । संस्कृतिरूपी मूल जरो भएको समाजरूपी विशाल रूखलाई भने सानोतिनो हावाहुन्डरीले केही गर्न सक्दैन । त्यसैले त हो संस्कृति राष्ट्रको प्राण भनिएको ।

अहिले त मानसिक यात्रा गर्नुपर्ने अवस्था छ । यसबाट पनि आध्यात्मिक शान्ति प्राप्त हुन्छ, नवीन ऊर्जा प्राप्त हुन्छ र यस्ता कार्यहरूबाट पितृ ऋण चुक्ता हुँदै जान्छ । दिवङ्गत बाबुलाई काँधमा राखेर घाट लग्दा पाइला पाइलामा एक एक तीर्थको उपासना गरेको फल मिल्छ भन्ने विश्वास छ ।

बाबुको काजकिरिया गर्दा वा जीवित बाबुको लालनपालन गर्दा व्यक्तिलाई अदम्य साहस प्राप्त हुन्छ र उसले जीवनमा ठूलै कष्टबाट पनि सजिलै अवतरण गर्न सक्छ भनी शास्त्रहरूले पुष्टि गरेका छन् ।

शास्त्रीय कुरालाई आधार मान्दै जीवनका दिनचर्याहरू पूरा गर्दै जाँदा धर्म संस्कृति संरक्षण हुन्छ, कुलपरम्परा जीवित रहन्छ, मौलिक धर्मको सम्मान हुन्छ । धर्म, संस्कृति, संस्कारविनाको समाज जराविनाको रूखझैँ हुन्छ, हावाहुन्डरी आउँदा ढल्छ । संस्कृतिरूपी मूल जरो भएको समाजरूपी विशाल रूखलाई भने सानोतिनो हावाहुन्डरीले केही गर्न सक्दैन । त्यसैले त हो संस्कृति राष्ट्रको प्राण भनिएको ।

पितृ औँसीको अर्को महत्वपूर्ण पक्ष हो कुश ग्रहण ! कुशको स्पर्श, दर्शन आदि । यसै दिन घर नयाँ कुश राख्नाले पितृहरू प्रसन्न रहन्छन् ।

कुश एउटा असल वनस्पति हो । यसका वरिपरि ब्रह्मा, विष्णु र महेश तीन देवताको बास हुन्छ । कुश अति नै चोखो वनस्पति हो । यो तुलसीझैँ महत्वपूर्ण छ । हरेक पितृकार्य तथा धार्मिक अनुष्ठानमा कुश आवश्यक पर्छ । जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा कुश नभई हुँदैन ।

गाई, गीता, गायत्रीझैँ कुशको पनि उच्च स्थान रहेको छ । जुनसुकै पितृकार्य तथा धार्मिक अनुष्ठानमा तिल कुश र जौ लिएर संकल्प गर्नु आवश्यक हुन्छ । पितृकार्यमा कुश अनिवार्य नै छ ।

असल गुरु पुरोहितबाट कुश लिने कार्य यसै दिन गरिन्छ । भाद्रकृष्ण औँसीलाई कुशच्छेदन औँसी भनिए पनि त्रयोदशीदेखि नै कुशच्छेदन गर्ने चलन छ । एका बिहानैदेखि ब्राह्मणहरूले यजमानहरूको घरमा कुश पुर्‍याउँछन् ।

कुश ग्रहण गर्ने मन्त्र यस प्रकार छ : विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः ।

नुद सर्वाणि पापानि दर्भ स्वस्ति करो भव ।।

अर्थात् ब्रह्माजीसँगै उत्पन्न भएको वनस्पति कुशले मेरा सबै पाप पखालिदेऊ र सबैको कल्याण गर भन्दै पूर्वोत्तर फर्केर कुश ग्रहण गर्नुपर्छ ।

विवाहित छोरीबेटीहरूका लागि कुशे औँसी झन् बढी महत्वपूर्ण दिन हो । आँसु बगाउँदै बाबुले कन्यादान दिई बिहेपछि छोरीलाई अर्काको घर पठाउने गर्छन् । छोरीहरू तिनै आँसुका खातिर स्नेहको उपहार लिएर कुशे औँसीमा माइतीघर जान्छन् ।

यस दिन बाबुले आफ्ना सन्ततिबाट धेरै प्यारको आकांक्षा गरेको हुन्छ । टाढा रहेका छोराछोरीहरू र विदेशिएका सन्ततिहरूले अघिपछि स्नेह, प्यार दिन नसके पनि पितृ सम्मान गर्ने कुशे औँसीका दिन वर्षभरिको मानसम्मान दिन सकून्, यही प्रेरणा रहोस् सबैलाई ।

छोराछोरी सबै बराबरी भन्ने मान्यता अनुरूप र सन्तति स्नेहको सदावहार वृक्ष बाबुप्रति श्रद्धा अर्पण गर्ने चाड कुशे औँसीले सबैको रक्षा गरून् । सबैको सम्मान रहोस् ।

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : ४० बजे

स्वास्थ्यमन्त्रीले गरे गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

राजविराज– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण

स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध

काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा कूल जनसंख्याको ३०

अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा

काठमाडौं – नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गतेदेखी

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क– मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

तनहुँ – मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर