कांग्रेस वडा अधिवेशन : २१ जिल्लामा अझै अनिश्चित | Khabarhub Khabarhub

कांग्रेस वडा अधिवेशन : २१ जिल्लामा अझै अनिश्चित


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबार पनि जारी रह्यो । वडा अधिवेशनका क्रममा शनिबार झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।

शनिबार डढेल्धुराका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त हुने जानकारी आएको संयोजक यादवले बताए । बेलुकीसम्म पनि सूची प्राप्त नभएको समितिले जनाएको छ । डढेल्धुरा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । क्रियाशील सदस्य सार्वजनिक भएका बाँकी जिल्लाको वडा अधिवेशन छिटो गर्न समितिले पार्टीलाई निर्देशन दिएको छ ।

क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ ।

कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिए । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । वडा अधिवेशन गर्न तोकिएको भदौ १८ को मिति नाघिसक्दासमेत २० जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक नभएकामा सम्बन्धित जिल्लाका कार्यकर्ता निराश बन्न थालेका छन् ।

क्रियाशील सदस्य सार्वजनिक नभएका २१ जिल्ला

चाँडो थपसूची सार्वजनिक गर्न सम्बन्धित जिल्लाका कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् । प्रदेश नं १ मा मोरङको सदस्यता सूची अझै सार्वजनिक भएको छैन । प्रदेश नं २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाका क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिमा प्राप्त नभएको सचिव जगन्नाथ श्रेष्ठले बताए ।

यसैगरी बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा गरी चार जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक हुन सकेको छैन । गण्डकी प्रदेशका सबै जिल्लाको सदस्यता सूची सार्वजनिक भइसकेको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डढेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची पनि हालसम्म प्राप्त नभएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : २० बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव