सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती « Khabarhub

सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गासमेत भाडामा लिएका छन् ।

“धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमै लाग्यो”, उनले भने, “अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।”

यसअघि गाउँमा थोरै सङ्ख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउँमा दातृ निकायले सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गाउँमा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा १५ जना कृषक तरकारी खेतीमा आवद्ध भएका छन् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका चौधरीले कुनै पनि सरकारी निकायबाट गाउँमा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गरे ।

“कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छौँ तर पाएका छैनौं”, उनले भने, “तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहाँ भएको छ ।”

उनले एनएनएसडब्लुएले सिँचाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बताए । यहाँ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाइ छ ।

बेलौरी नगरपालिका–३ का वडासदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताए । उनले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउँदै गइरहेको बताए । “तरकारी उत्पादन भएको बेला यहाँ टोकरीमा राखेर गाउँघर डुलाउँदै पनि बिक्री वितरण गरिन्छ ।” पाँच कठ्ठा जग्गामा तरकारी खेती समेत गर्दै आएका वडा सदस्य चौधरीले भने, “तरकारीको कमाइले घरखर्च चलिरहेको हुन्छ ।”

स्थानीय जनजागृति कृषि सहकारीमा आवद्ध भएर गाउँमा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हुँदा बिक्री वितरणमा केही समस्या आएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सफल परियोजनाअन्तर्गत सोलार सिँचाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिँचाइ सञ्चालनमा ल्याइएको बताए । उनले बेमौसमी तथा मौसमी तरकारी उत्पादनमा सहजता होस् भनेर सिँचाइ जडान गरिएको जानकारी दिए ।

“अहिले २५ जना कृषकले समूह बनाएर सिँचाइ उपयोग गरिरहेका छन्,” उनले भने, “उक्त परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका धेरै कृषक लाभान्वित भएका छन् ।”

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  २ : ५१ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक