मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो” « Khabarhub

मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिन्दगीको परीक्षार्थीलाई
मूल ग्रन्थ बेच्दैन
सन्दर्भ पुस्तक पनि बेच्दैन
केवल गेसपेपर बेच्छ

विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता सङ्ग्रहभित्रको बजारको ‘रमिताशास्त्र’ शीर्षकको कविताको अंश हो यो । साहित्यमा विम्ब र प्रतीकको अत्यधिक प्रयोग गरेर क्लिष्ट शैलीमा नभई सरल र सहज शब्दबाट बेजोड प्रहार गर्न सक्ने विद्रोही चेतकी कवि चिलुवालको चुल्ठो पहिलो कविता सङ्ग्रह हो ।

सङ्ग्रहमा हरेक दिन हरेक परिवेश घर, परिवार, समाज र राज्य सत्ताका शासकहरुको असहिष्णु व्यवहारका भोगाइहरुको कटाक्ष कवितामार्फत उजागार गरिएको छ । कवि सरस्वती प्रतीक्षा चुल्ठो कविता सङ्ग्रहका हरेक शब्दमा दमित आवाजको रागिलो प्रहार भएको बताउँछिन् ।

“चिलुवाल बाहिर शान्त स्वभावकी तर विद्रोही चेतकी एक हस्ताक्षर हुन्, उनका हरेक कवितामा रिस छ तर पनि त्यो रिस बेजोड सुन्दर रूपमा कवितामा उत्रिएको छ”, कवि प्रतीक्षाले भनिन्, “चिलुवालको जवानीमा पनि मायाको उन्माद नभई रिसको बेगले नै कविता कोरिएको छ, नारीवाद मात्र होइन अन्य धेरै वादको कोलाज कवितामा छ ।”

चुल्ठोमाथि साहित्यकार सुमिनाको धारणा पनि उस्तै छ । उनका अनुसार समाज रूपान्तरणमा विद्रोहको उद्घोष गरेर निदाएको समाजलाई उठाउन सङ्ग्रहभित्रका हरेक कविता अस्त्र बनेका छन् । परिवर्तनको उद्घोष गरेका हरेक कवितामा लेखकीय दम भएको उनको भनाइ छ ।

साहित्यकार डा कृष्णराज अधिकारी विम्ब र प्रतीक कम प्रयोग गरिए पनि कविताले समाजको यथार्थलाई पस्कन सफल भएको टिप्पणी गरे ।

“समाजका कथित मूल्यमान्यताले दबाइएका आवाज चुल्ठोमा रहेको छ ।” डा अधिकारीले आधुनिकता र परम्पराबीचको यथार्थ, श्रमिकका दमित आवाजहरु, लाहुरेको कथा, उपभोक्तावादले मान्छेमा गरेको शोषण, वातावरणीय न्यायका सवालमा सबै पक्षबाट चुल्ठो सशक्त कविता कृति भएर उदाएको बताए ।

सङ्ग्रहका सर्जक चिलुवालले समाज रूपान्तरणका लागि सानैदेखि सशस्त्र विद्रोहमा लागे पनि कालान्तरमा समाजले अझै काँचुली फेर्न नसकेको अवस्थाले पिरोलिरहँदा तिनै मौनतामा रहेका आवाजलाई शब्दमा उतारेको बताइन् ।

“मैले कविता लेखेर कवि हुन चुल्ठो ल्याएकी हैन, दुई दशकदेखि म साहित्य सिर्जनामा छु । राजनीतिक चेतसँगै सामाजिक यथार्थताका मुद्दा सङ्ग्रहमा बढी केन्द्रीत छन्, सँगसँगै म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा छुटाउन भएन जुन व्यक्तिगत नभई आम महिलासँग जोडिएका छन् ।” चिलुवालले कविता हरेक परिवेश र घटनाक्रमका साक्षी र आफ्नो समयको दस्तावेज हुनेगरेको बताइन् ।

“यो एउटा दस्तावेज पनि हो जो वर्षौँपछि पढ्दा पनि समाजको यथार्थ बुझन सकिन्छ ।” उनले कविताको बारेमा आम पाठकनै न्यायाधीश भएकाले यसको निर्णय गरेर फैसला सुनाउने जिम्मा पाठकलाई छोडिदिएको बताइन् । । बेला प्रकाशनले बजारमा ल्याएको चुल्ठोमा ५५ वटा कविता सङ्गृहित छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : ४५ बजे

एक हजार रुख कटान गरिँदै

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ