सरकार-विप्लव हस्ताक्षर समारोहको एक झलक | Khabarhub Khabarhub

सरकार-विप्लव हस्ताक्षर समारोहको एक झलक


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— अघिअघि प्रधानमन्त्री केपी शर्मा दाहिने हात माथि उठाएर पञ्जा फैलाउँदै अभिवादन गर्दै राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरे । उनका पछि थिए नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ । उनले दाहिने हात माथि उठाएर मुठ्ठी कस्दै अभिवादन गरे ।

प्रधानमन्त्री ओलीले विप्लवको हात समाते अनि दुवैले हात माथि उठाए । यसो गर्दा ओलीले विप्लवको नाडीमा समातेको देखिएको थियो ।

प्रधानमन्त्री कुर्सीमा बसे । बस्नै लागेका विप्लव सिधा भएर उभिए । फेरि उनी बस्न लागेका के थिए, प्रधानमन्त्री ओलीले नबस्न हातले इशारा गरे । निमेषभरमै राष्ट्रिय गान बज्यो । सबै सहभागीहरू उभिए । अन्तिममा विप्लवले ताली बजाए, प्रधानमन्त्रीले पनि त्यसै गरे ।
यसपछि शदीदहरूको स्मरणमा एक मिनेट मौन धारण भयो ।

वल्लोपल्लो कुर्सीमा रहेका प्रधानमन्त्री ओली र विप्लव गम्भीर मुद्रामा देखिन्थे । कुर्सीको लहरमा बीचमा बसेका प्रधानमन्त्रीका दायाँतर्फ क्रमशः उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र नेता सुवासचन्द्र नेम्वाङ थिए । दायाँतर्फ क्रमशः विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदय चलाउने ‘दीपक’ थिए ।

स्वागत मन्तव्यका लागि बोलेका विप्लव पक्षको वार्ता टोलीका सदस्य दीपकले क्रमशः प्रधानमन्त्री, आफ्नो पार्टीका महासचिव र उपप्रधानमन्त्रीलाई सम्बोधन गरे । उनले आजको दिनलाई ‘इतिहासको आकस्मिकता र संयोग तथा ऐतिहासिक दिन’ भने । उनले आफ्नो पार्टी जनताका अपेक्षा पूरा गर्न तथा देशमा शान्ति र स्थिरता कायम गर्न प्रयासरत रहेको बताए ।

स्वागत मन्तव्यपछि सरकारी वार्ता टोलीका सदस्य रहेका समारोहका उद्घोषक राजन भट्टराईले वार्ताको पृष्ठभूमिबारे जानकारी गराए । उनका अनुसार दुवै पक्षबीच करिब एक वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवाद चलिरहेको थियो ।

भट्टराईले तीन बुँदे संक्षिप्त सहमतिपत्र पढेर सुनाए । यसपछि सरकारको तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री थापा र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट वार्ता टोलीका संयोजक प्रकाण्डले हस्ताक्षर गरे । सभाहल तालीको गडगडाहटले गुञ्जायमान भयो ।

भट्टराईले राष्ट्रिय सभागृहमा भएको यो तेस्रो महत्त्वपूर्ण हस्ताक्षर हो भने । यहीँ तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि सिके राउतसँग पनि सहमतिको हस्ताक्षर यहीँ भएको थियो । ओली र प्रचण्ड अलगअलग भइसकेका छन् ।

हस्ताक्षरपछि पार्टीको तर्फबाट बोलेका महासचिव विप्लवले पहिले दुवैतर्फका वार्ता टोलीलाई र त्यसपछि प्रधानमन्त्रीलाई सम्बोधन गरे । उनले फेरि अभिवादनमा कसिलो मुठ्ठी उचाल्दै ‘न्यानो लाल सलाम’ भने ।

उद्घोषक भट्टराईले विप्लवको पार्टीका कुनै पनि नेताको पूरा नाम लिएनन् । उनले महासचिव कमरेड विप्लव, सदस्य कमरेड दीपक भनेर उपनाममात्रै उच्चारण गरे ।

विप्लवपछि मुख्य वक्ताका रूपमा बोलेका प्रधानमन्त्री ओलीले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भन्दै उपनामसहित पूरा नामले सम्बोधन गरे । वार्ता टोलीका संयोजक रहेका प्रकाण्डलाई खड्गबहादुर विश्वकर्मा भनेर पूरा नाम लिए अनि भने— प्रकाण्ड हो क्यारे नाम !

उद्घोषकले कञ्चन भनेर नाम लिएका व्यक्तिलाई प्रधानमन्त्री ओलीले धर्मेन्द्र बाँस्तोला भनेर नाम उच्चारण गरे । जेलमुक्त भएकोमा बधाई दिँदै भने— यति थोरै जेल बस्न पाए पो, आफू त चौध वर्ष !

सभा हलमा हाँसो फैलियो ।

प्रधानमन्त्रीले जेलमा रहेका अन्यलाई पनि प्रक्रिया पुर्‍याएर मुक्त गर्ने र मुद्दामामिला फिर्ता लिने जानकारी दिए ।
राष्ट्रिय सभागृहको सभाहल खचाखच भरिएको थियो । गर्मीले हपहप थियो । बाहिर ठूलो संख्यामा दुवैतर्फका कार्यकर्ताहरू उपस्थित थिए । विप्लवका कार्यकर्ताहरू रातो टिसर्टमा जम्मा भएका थिए ।

बाहिर सडकमा पनि निकै ठूलो भिड थियो । अपराह्न दुई बजे सुरु हुने भनिएको कार्यक्रम करिब पौने तीन बजे सुरु भएको थियो ।
विप्लव १८ मिनेट र प्रधानमन्त्री ओली ३७ मिनेट बोलेका थिए ।

दुवै जनाले २०२९ साल फागुन २१ गते जेल सार्ने नाममा झापाको सुखानी जङ्गलमा पञ्चायती शासकले वाम आन्दोलनका पाँच जना योद्धाको एकै ठाउँमा हत्या गरेको घटनाको स्मरण गरे । सहमतिपत्रमा हस्ताक्षर भएको आजको फागुन २१ र ४८ वर्षअघिको फागुन २१ को संयोग परेको बताए ।

प्रधानमन्त्री ओली र विप्लव दुवैले सहमतिलाई ऐतिहासिक उपलव्धिका रूपमा बयान गरे । दुवैले शान्ति, स्थिरता, विकास र समृद्धिका लागि सहमति गरेको बताए । प्रधानमन्त्रीले ‘अब देशमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको’ घोषणा गरे ।

विप्लवले ‘सहकार्य र हातेमालो गर्न आफूहरू खुला भएको र सहमतिप्रति प्रतिबद्ध रहेको घोषणा’ गरे ।

प्रधानमन्त्रीले यो सहमति रातारात भयो भन्ने आफूले कतै पढेको भन्दै आठ वर्षअघि नै आफू र विप्लवबीच लामो कुरा भएको बताए ।
विप्लवको निधार टीको पुछेको जस्तो रातो देखिएको थियो । उनले आज गाउँमा ‘शहीद आमा’ ले आफूलाई टीका लगाइदिँदै शहीदका चाहना सम्झेर सहमति पत्रमा हस्ताक्षर गर्न सुझाव दिएको बताए ।

उनले ती ‘शहीद आमा’ को भनाइ उद्धृत गरे, ‘यो देशमा धेरैका चाहना पूरा भए, शहीदको र नेपाली जनताको चाहना पूरा भएको छैन ।’
निकै गम्भीर मुद्रामा देखिएका विप्लवले मन्तव्यको क्रममा एउटा गीतको अंश सुनाउँदै सरकार र आफ्नो पार्टीको भेटलाई घाम र जूनको भेटको उपमा दिए । ‘यो कस्तो प्रेम हो जून र घामको भेट नहुने जस्तो’ भन्दै उनी हाँसे ।

प्रधानमन्त्री ओलीले वेद र वेदव्यासको नाम लिए । वेदव्यासले १८ पुराण लेखे पनि वचन दुईवटा मात्रै थिए— परोपकार पुण्याय, पापाय परपीडनम् । उनका अनुसार सहमतिको सार देशको समृद्धि र जनताको सुख नै हो ।

प्रधानमन्त्री ओलीले विप्लवको पार्टीसँग सहमतिमा हस्ताक्षर गर्ने समारोहमा पनि आफूसँग छुट्टिएर गएका र आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेका नेताहरूलाई कटाक्ष गर्न र आक्रोश पोख्न छुटाएनन् ।

उनले कसैको नाम नलिई ‘केही मान्छे’ देशलाई बर्बाद पार्न लागेको बताए । उनले आफ्नो पार्टीको दुई तिहाइ भत्काएर किस्तीमा प्रधानमन्त्री पद बोकेर अन्तै हिँडेको भन्दै कटाक्ष गरे । संसदीय दलको नेता आफू यता रहेको र उता संसदीय दलको बैठक भएको भन्ने सुनेको भन्दै ‘नग्नताको हद’ भएको टिप्पणी गरे ।

प्रधानमन्त्रीले चेतावनी दिए— यो देशमा हाम्रो पार्टी पनि छ ।

उनले सधैँ झैँ अस्पतालहरूको शिलान्यास, पुलहरूको उद्घाटन र शिलान्यास, औद्योगिक क्षेत्र स्थापना, सुशासन, भ्रष्टाचार नियन्त्रण, इत्यादिको विवरण पनि प्रस्तुत गरे ।

समारोह करिब साढे एक घण्टा चलेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : ४२ बजे

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान