बुटवल— लटरम्म टमटर फलेको छ । फूलकोपी फक्रिन थाल्दै गर्दा बन्दाकोपी र ब्रकाउली खाने वेला भइसकेको छ । सयपत्री, गोदावरी र थरिथरिका फूल फुलेका छन् । हावामा फूलको मगमग बास्ना छरिएको छ ।
यो बयान रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ टोलमा १० धुर जग्गामा बनेको एक तले घरको छतको हो । घर हो २९ वर्षीया सावित्रा भण्डारीको । उनको घरको यस्तो दृश्य देखेर नलोभिने कोही हुँदैन ।
घरको छत करेसाबारी र फूलबारी बनेको छ । तरकारी र फूलले कौसी भरिएको छ । शहरमा घर हुनेको खाली जमिन नहुन सक्छ । जमिन नभए पनि घरको छत कसरी सदुपयोग गर्न सकिन्छ भन्ने उदाहरण सावित्राले दिएकी छन् । उनको मिहिनेतले अहिले घरको छत, अर्थात कौसी, हराभरा छ । आजकाल कौसी खेती भनिने काम यही हो ।
उनी शंकरनगरमा फेन्सी पसल गर्थिन् । के सुरले हो लकडाउन हुनुअघि उनले पसल बेचिन् । लगत्तै लकडाउन शुरू भयो ।
खेती गर्न जमिन थिएन । सावित्राले कौसी खेतीको कुरा सुनेकी थिइन् । लकडाउनले दिएको फुर्सदमा उनले युट्युब हेरेर कौसी खेती गर्ने तरिका सिकिन् । सोहीअनुसार सामग्री जुटाउन थालिन् ।
दशैँपछि बजारबाट प्लास्टिकको झोला, गमला र विभिन्न प्रकारका क्यारेट जम्मा पारिन् । तिनमा माटो र प्राङ्गारिक मल भरेर तरकारी, फलफूल र बेमौसमी फूल लगाइन् ।
सावित्राले भान्साबाट निस्कने फोहरबाट प्राङ्गारिक मल बनाउन सिकिन् । उनी भन्छिन्, ‘आफैँले बनाएको मल हालेर बिरुवा हुर्काउने गरेकी छु ।’
यति वेला उनको कौसी बन्दा, काउली, धनिया, काँक्रो, टमाटर, खुर्सानी, घिउकुमारी, भान्टा, साग, मरठ्ठी, धुपी सल्ला, सयपत्री, गोदावरी, गुलाब र बेगनबेलीले भरिएको छ । फलफूलका बेर्ना पनि छन् ।
‘धेरै वर्ष हाटबजारबाट तरकारी किनेर खाइयो,’ सावित्रा भन्छिन्, ‘कोरोनाले घरमै तरकारी फलाउन सिकायो । अहिले आफैँले उत्पादन गरेको तरकारी खान थालेकी छु, धेरै भएको बेच्ने गरेकी छु ।’
लकडाउले धेरैतिर सकस भए पनि यही मौकामा आफूले कौसी खेती सिकेको सावित्राको भनाइ छ । छोटो समयमै कौसी खेतीले सकारात्मक नतिजा दिएको उनको अनुभव छ ।
घरमा १० वर्षकी छोरी र ९ वर्षका छोरा छन् । ‘छोराछोरीले पनि तरकारीमा पानी हाल्न र गोडमेल गर्न सघाउँछन्,’ उनले भनिन्, ‘तरिका जान्दा छतमै पनि खेती हुँदो रहेछ ।’
उनका अनुसार काम शुरू गर्न एक लाख रुपैयाँ लगानी भयो । थप लगानी गरेर खेतीको आकर्षण बढाउने उनको योजना छ । उनका श्रीमान् कामका लागि विदेशमा छन् । छतको खेती फेस बुकमा हेरेर दङ्ग छन् ।
सावित्राको सिको गरेर अहिले सिद्धार्थ टोलका अरू महिलाले पनि छत र बरन्डालाई करेसाबारी बनाउन थालेका छन् ।
छतमा तरकारी खेती थालेपछि सावित्राको मन ढुक्क भएको छ । भान्सा कोठाकै पानी र घरमै बनाएको मलले पुगेको छ । तरकारी बेचेर घर खर्च जुटेको छ । ‘शहरमा घरमात्रै हुनेका लागि कौसी खेती आम्दानीको स्रोत हुन्छ,’ उनी भन्छिन्, ‘घरायसी प्रयोग गर्न र सामान्य घर खर्च धान्न सजिलो हुन्छ ।’
स्थानीय सरकारले गृहिणीहरूलाई कौसी खेतीको तालिम दिने व्यवस्था गर्नुपर्ने सावित्राको सुझाब छ । उनी भन्छिन्, ‘यसो गर्न सके घरघरमा हरियाली हुन्छ र हरेक परिवार आत्मनिर्भरताको बाटोमा लाग्न सक्छन् ।’
लुम्बिनी प्रदेशकी कृषिमन्त्री आरती पौडेल पनि सावित्राको कौसी खेती हेर्न गइन् । घरमै आएर मन्त्रीले खेती हरेपछि आफ्नो हौसला सावित्राले बताइन् । मन्त्रीले प्रशंसापत्र पनि दिइन् ।
सावित्रालाई कोरोनाको कहरले कौसी खेती सिकाएको हो । उनी बिहानैदेखि बिरुवा हेर्न र मलजल गर्न व्यस्त हुन्छिन् । आफूले थालेको कौसी खेतीलाई ब्राण्डको रूपमा स्थापित गर्ने सोच रहेको उनको भनाइ छ ।
प्रतिक्रिया