पाठकका सामु एउटा गन्थन मात्रै हो । अझ गनगन भने पनि हुन्छ तर म अहिलेलाई गन्थन नै भन्छु ।
कोरोना भाइरस संक्रमण फैलिएपछि साबुन लगाएर हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, आपसमा दूरी कायम गर्ने, खोक्दा र हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले नाकमुख छोप्ने, हाछ्युँमा हतार परे कुहिनो बङ्ग्याएर पाखुराले नाकमुख छोप्ने आदि सन्देश खुब जोडतोडका साथ फैलाइए ।
यहाँ खोक्ने र हाछ्युँ गर्ने कुरा आयो । म अर्को एउटा थप्न चाहन्छु, थुक्ने कुरा । मैले शीर्षकमा उल्लेख गरेको तीन कुरा यही हो; खोक्ने, हाछ्युँ गर्ने र थुक्ने ।
कोरोनाको कुरा आएपछि खोक्दा र हाछ्युँ गर्दा अपनाउनुपर्ने सर्तकता र पालना गर्नुपर्ने शिष्टाचारमा मेरो ध्यान केन्द्रित भयो । जति नै प्रचार गरे पनि यी दुई कुरामा मैले हाम्रो आनीबानीमा कुनै सुधार भएको देखिनँ ।
यस विषयमा मैले कुनै गहन अध्ययन वा वैज्ञानिक अनुसन्धान गरेको होइन । परन्तु दाबीका साथ भन्न सक्छु, मेरो अनुभवको विश्वसनीय नतिजा हो, नतिजा नम्बर एक ।
रुघाखोकीमा खोकी लाग्छ, हाछ्युँ आउँछ । सामान्य अवस्थामै पनि कहिलेकाहीँ खोकी लाग्छ, हाछ्युँ आउँछ । खोक्दा र हाछ्यु गर्दा मुख र नाकबाट छिटाहरू उछिट्टिन्छन् । यी छिटा दुई मिटर परसम्म उछिट्टिन्छन् भनिन्छ । यसै कारणले होला दुई मिटरको दूरी बनाउनू भनेको । हावाबाट त अझ कति परसम्म फैलेला !
परन्तु नेपाली समाजमा रुघाखोकी रोग होइन, सामान्य र नियमित घटना हो, नतिजा नम्बर दुई ।
हामीमा खोकी र हाछ्युँले आफू वरिपरिकालाई कुनै असर पो गर्छ कि भन्ने चेतनाको स्तर साह्रै कमजोर छ, यो मेरो निष्कर्ष हो । हामी हाछ्युँ गरेर ‘लक्षिमी नारायण’ भन्न छुटाउँदैनौँ तर व्यवस्थित तरिकाले नाकमुख छोप्न बिर्सिन्छौँ । अर्थात हामीलाई यसमा कुनै मतलब छैन । अर्कोलाई कुनै असर नपरोस्, छिटाहरू हावामा नफैलियून् भन्ने कुरामा कुनै चेतना छैन, चेतना हुनुपर्छ भन्ने चेतना पनि छैन, नतिजा नम्बर तीन ।
कोरोना भाइरसको महामारीले पनि खोकी र हाछ्युँमा कुनै नयाँ चेतना दिएन; मानौँ, हाम्रा लागि खुला हावामा खोक्न र हाछ्यु गर्न पाउनु अनतिक्रम्य मानवअधिकार हो; अझ भनौँ मौलिक हक नै हो । हामीलाई यसमा सानोभन्दा सानो पनि बन्देज स्वीकार्य छैन । जतिसुकै सानो भए पनि अवरोधको डटेर सामना गर्न हरदम तयार रहन्छौँ ।
मलाई के लाग्छ भने खुला हावामा खोक्नु, हाछ्युँ गर्नु र थुक्नु हाम्रो अनतिक्रम्य मानवअधिकार हो; मौलिक हक हो; मानौँ, यसमा कुनै पनि बन्देज स्वीकार्य छैन । जतिसुकै सानो भए पनि अवरोधको डटेर सामना गर्छौं ।
यी दुई काममा स्वास्थ्य चेतनासँगै शिष्टाचार पनि जोडिएको हुन्छ भन्ने कुरा हाम्रो चेतनामा कहिल्यै आएन, नतिजा नम्बर चार ।
थुक्नु त खोक्नु र हाछ्युँ गर्नु भन्दा पनि सामान्य घटना हो । हामीले थुकिरहनुपर्छ । एक जनाले चौबीस घण्टामा औसतमा कति पटक थुक्दो हो ! यो कुरा व्यक्तिको खान्दान र जीवनशैलीमा पनि भर पर्दो हो । काठमाडौँका सडकमा हिँड्नेले पिच्चपिच्च थुकेको थुक्यै गर्नुपर्छ । कतै दिसाको थुप्रो, कतै फोहोर नउठेको, कतै कुकुरको दिसा मोटरसाइकलको चक्काले पेलेर छरेको, कतै बिरालो त कतै कुकुर मरेर गनाएको !
अनि छिनछिनमा पिच्चपिच्च नथुकेर के गर्नु ! खैनी, गुट्खा, पान इत्यादिको बानी भएकाको मानवअधिकार त झन् अकाट्य हुने भइगयो ।
हालैको कुरा हो, म एउटा साँघुरो सडकपेटीमा हिँड्दै थिएँ । आवागमन पातलो थियो । देख्दैछु, मास्तिरपट्टि पसलको खुड्किलोमा बसेका एक महापुरुषले बोतलबाट मुखमा पानी हाले, कुलुकुलु गरे अनि फोहोरा बनाएर सडकपेटीमा छाडे । फोहोरा छाड्ने र म सामुन्नेमा पुग्ने संयोग पर्न गयो । मैले कर्के नजरले हेरेँ, उनी बेवास्ताका साथ पसलभित्र पसे ।
मैले आफैँलाई धिक्कारेँ, मुर्ख ! कुन ओलम्पिक जित्नु थियो र देख्दाखेख्दै पनि एक छिन रोकिन सकिनस् !
थुक्नुमा त सिप पनि जोडिँदो रहेछ, जिभ्रोले मुखभरिको थुक जम्मा गरेर तलमाथिका दाँतका बीचबाट पिच्च पारेर टाढासम्म पुर्याउने ! छेउछाउमा कोही छ कि, सडकपेटीमा कोही हिँड्दैछ कि, अहँ केही मतलब नहुने । थुक्न मन लागेपछि सक्किगो ! अरु कसैको टाउकोमै परे पनि थुक्नेलाई केही फरक नपर्दो रहेछ । हिँड्नेले पो ख्याल गर्नुपर्दो रहेछ, नतिजा नम्बर पाँच ।
खोक्नु, हाछ्युँ गर्नु र थुक्नु मानव शरीरमा हुने सामान्य घटनाहरू हुन् । सामान्य भएकैले हुनुपर्छ, यी तीन कुरामा हामीले अलिक विषेश व्यवहार गर्न आवश्यक नै ठानेनौँ । कोरोना महामारीको डेढ वर्ष बित्न लाग्दा यी तीन घटनामा केही पनि सिकेनौँ, नतिजा नम्बर छ ।
हामीले हावामा खुला हाछ्युँ गरेर पश्चिमा शैलीमा ‘सरी’ भन्नुको केही सार छैन, हाम्रालागि त्यो निस्सार ‘सरी’ हो । विद्वताका ठूला कुराका सामु खोक्ने, हाछ्युँ गर्ने र थुक्ने कुरा अति सानो भएकोले पनि हुनसक्छ, यसमा हामीले चलिआएकोमा अतिरिक्त केही सिक्न वा पालना गर्न आवश्यक ठानेनौँ ।
यी तीन कुरामा आफ्ना वरिपरि रहेकाहरूको ख्याल गर्नु र छिटा नउछिट्टिने गरी नाकमुख छोप्नु व्यक्तिगत अनुशासन र शिष्टाचार पनि हो । आफ्नो अस्वस्थताको असर नजिकका अरू व्यक्तिमा नपरोस् भन्ने सतर्कता र चेतना त हुँदै हो । परन्तु हामीलाई यी पक्षमा केही मतलब रहेनछ । यो कोरोनाकाल पनि नसिकेको अनुशासन र शिष्टाचार हामी कहिल्यै सिक्दैनौँ, नतिजा नम्बर सात र यो गन्थनको अन्तिम नतिजा ।
यस्ता हामीले हावामा खुला हाछ्युँ गरेर पश्चिमा शैलीमा ‘सरी’ भन्नुको केही सार छैन, हाम्रालागि त्यो निस्सार ‘सरी’ हो । विद्वताका ठूला कुराका सामु खोक्ने, हाछ्युँ गर्ने र थुक्ने कुरा अति सानो भएकोले पनि हुनसक्छ, यसमा हामीले चलिआएकोमा अतिरिक्त केही सिक्न वा पालना गर्न आवश्यक ठानेनौँ ।
यही मेसोमा अर्को एउटा कुरा थपूँ । कुरा हो चुरोटको । केही मान्छे सडकपेटीमा खुब गर्वका साथ चुरोटको धुवाँ फुइँफुइँ पार्दै निर्धक्क हिँड्छन्, मानौँ कसैले गर्न नसकेको बहादुरीको काम भइरहेछ ।
चुरोटको धुवाँ आफैँमा हानिकारक छँदैछ, मुखबाट फोक्सोमा पुगेर नाकमुख हुँदै हावामा फर्केको धुवाँ कस्तो होला ! त्यसले चुरोट नपिउने मान्छेलाई कस्तो असर गर्दो हो ! जानकारहरू सेकेन्डरी स्मोकर भन्छन् । सेकेन्डरी स्मोकरलाई हुने हानी प्राइमरीलाई भन्दा बढी हुन्छ रे !
यो ठूलो कुरा भयो, विश्व स्वास्थ्य सङ्गठनले जान्दो हो ।
मलाई लाग्छ, हाम्रो दैनिक व्यवहारमा ठूल्ठूला कुराको भन्दा ससाना कुराको बढी महत्व हुँदो रहेछ । धेरै अगाडि अंग्रेजी भाषामा एउटा वाक्य सुनेको थिएँ– स्मल थिङ् मेक्स बिग डिफरेन्स ।
साँच्चै हाम्रो दैनिक व्यवहारमा यो त एउटा मन्त्र नै हुँदो रहेछ । हामीले छिनछिनमा सामना गर्नुपर्ने त ससानो कुरा, ससानो घटना नै हो रहेछ । ठूल्ठूलो कुरो बेलामौकामा मात्रै पर्ने हो । फेरि, ठूल्ठूला कुरा पार लगाउने त ठूलै मान्छेहरू छन्; कोही निर्वाचित छन्, कोही तलबी छन् । खोक्नु, हाछ्युँ गर्नु, थुक्नु, चुरोटको धुवाँ उडाउनु इत्यादि मानिसको दैनिक व्यवहारका ससाना घटना हुन् ।
एउटा लोक कथाबाट गन्थनको बिट मारूँ ।
एकादेशमा एक जना राजा थिए । उनी औधी विद्वान थिए, संसारका धेरै जसो भाषा जान्दथे । उनी संसारका ठूल्ठूला कुरा जान्दथे र संसारभर कहलिएका थिए ।
ती राजाको बानी कस्तो थियो भने आफ्नो कार्यकक्षमा बस्दा ढोका लगाउँथे । उनले एउटा बिरालो पालेका थिए जो सधैँ उनकै वरिपरि हुन्थ्यो र शान्त भएर बस्थ्यो । एकपटक त्यो बिरालोले बच्चा जन्मायो । यसपछि बिरालोको स्वभाव बदलियो । छिनछिनमा बाहिर निस्किन खोज्ने र भित्र पस्न खोज्ने भयो ।
बिरालोलाई बाहिर जान र भित्र आउन दिन राजा कुर्सीबाट उठ्नुपर्ने भयो । यसबाट राजा हैरान भए । उनले ढोकामा प्वाल पारिदिने विचारले एक दिन सिकर्मी बोलाए अनि एउटा ठूलो र एउटा सानो प्वाल पारिदिन अह्राए । सिकर्मीले एउटा ठूलो प्वाल भए हुने बिन्ती गर्यो । राजाले मान्दै मानेनन् ।
ठूलो प्वाल माउका लागि र सानो चाहिँ बच्चाका लागि भन्ने राजाको भनाइ थियो । सिकर्मी जुन प्वालबाट माउ छिर्छ त्यही प्वालबाट बच्चा पनि छिर्ने भएकाले सानो प्वाल चाहिँदैन भन्थ्यो ।
राजाज्ञाका अघि सिकर्मीको केही जोर चल्ने कुरा भएन । उसले राजाले भनेअनुसार प्वाल बनाइदियो ।
आखिर राजाले सिकर्मीको कुरा किन मानेनन् ? कुराको रहस्य के रहेछ भने राजा संसारका ठूल्ठूला कुरा जान्दा रहेछन् तर ससाना कुरा जान्दा रहेनछन् ।
प्वाल बनाउने कुरा साह्रै सानो किसिमको थियो ।
प्रतिक्रिया