यसरी गर्न सकिन्छ प्यारालाईसिसको उपचार « Khabarhub

यसरी गर्न सकिन्छ प्यारालाईसिसको उपचार



पक्षघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्क घात) को कारणले हुने गर्दछ ।

मष्तिस्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषकतत्वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्न जाने समस्यालाई मष्तिस्क घात भनिन्छ ।

विश्व स्वस्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कानुसार विश्वभर हरेक वर्ष एक करोड़ ७० लाख  मानिसहरू मष्तिस्क घातको चपेटामा पर्ने गरेका छन् । जसमध्ये ६२ लाखको मृत्यु हुने गरेको छ । बाँचेकामध्ये आधा रोगीहरू दीर्घकालीन पक्षाघात (हेमीप्लेजीया) भएर नारकीय जीवन जीउन बाध्य छन् । बाँचेकाहरूमध्ये दीर्घकालीन विकलाङ्गीहरूलाई छाडेर अरु १६ लाख चिकित्सकीय सेवा पश्चात सामान्य जीवनमा फर्किएका छन् भने ३८ लाख सामान्य विकलांगताका (हेमीपेरेसिस) साथ बाँचिरहेका छन् । एक अनौपचारिक अध्ययनले जनाएअनुसार नेपालमा पनि हरेक वर्ष ५० हजार व्यक्तिलाई मस्तिष्क घात हुने गरेको पाइएको छ । जसमध्ये १५ हजारको मृत्यु हुन्छ । हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण मष्तिस्क घात बनेको तथ्यले देखाउँछ । अस्पतालहरुको सघन उपचारकक्ष (आईसीयू) पुर्‍याउँनु पर्नेहरु र विश्वब्यापी विकलांगताको प्रमूख कारण मध्येमा मष्तिस्क घात नै पर्ने पनि कतिपय अनुसन्धानहरुले देखाएका छन् ।

यस रोगले अप्रत्यासित रुपमा ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रीत भएर वाँच्नुपर्ने हुन्छ । यसर्थ यो समस्यालाई बेलैमा चिन्न सके यसबाट हुने मृत्युलाई न्यूनीकरण गर्न र रोग लागेर अरूको साहारामा जीवन बाँचिरहेकाहरुलाई सामान्य जीवनमा यथोचित पुनर्स्थापना गर्न सजिलो हुन्छ । मष्तिस्क घात पश्चात बाँच्नेहरूमा देखिने विकलांगता घातले मष्तिस्कलाई पुर्‍याएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ । घात हुँदा नष्टभएका स्नायुतन्तुहरुले गर्ने कार्य सूचारु हुँन नसक्दा शरीरको एकापट्टी नचल्ने (पक्षाघात) र शरीर, मन र भावनासँग सम्वन्धित समस्यहरु देखा पर्दछन् ।

कसलाई हुने सम्भावना ज्यादा छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरु तथा कहिले औषधि खाने कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जीउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चार सम्वन्धी समस्या भएकाहरु । जस्तै, एट्रियल–फ्रिविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पूरानो माइग्रेन भएकाहरुमा मष्तिस्कघातको जोखिम उच्च हुन्छ । यसवाहेक रक्तस्राव सम्वन्धी समस्य जस्तै, घाउ हुँदा रगत बगेकोबगै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खाने महिलाहरु, परिवारमा मष्तिस्क घातको इतिहास भएकाहरु, हालसालै अथवा पूरानो मष्तिस्क संक्रमणले ग्रस्त रोगीहरुमा मष्तिस्कघात ज्यादा देखिएको छ । यसका अलावा श्रम र व्यायाम सम्मेलित नभएको निष्क्रिय जीवन जीउनेहरु, धुम्रपान र मद्यपान गर्नेहरु, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालिन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन गर्नेहरु तथा अडान र निर्णयहरुप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व भएका व्याक्तिहरु यो रोगको उच्च जोखिममा पर्दछन् ।

मष्तिस्क घातपछिका समस्याहरु

मष्तिस्क घातको सघन तथा आपतकालीन उपचार पश्चात पनि १५ प्रतिशत विरामीलाई वचाउन सकिएको छैन । बाँचेकामध्ये १० प्रतिशत पूर्णसकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्ने खालका विकलङ्गता देखा पर्दछ । मष्तिस्कघातले आघात पुर्‍याएको स्नायुकेन्द्रको स्थिती र व्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरु देखा पर्दछ जसमध्ये प्यारालाइसिस मूख्य हो । अन्य समस्याहरुमा एकापटिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादी शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरण शक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मक रुपमा कमजोर हुनेजस्ता समस्या आउन सक्छ ।

उपचार तथा पुनर्स्थापना

मष्तिस्क घात हुने बित्तिकै सर्बप्रथम आपतकालीन उपचार गराउनु पर्ने हुन्छ । आपतकालीन व्यवस्थापनपश्चात फेरि मष्तिस्कघात हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रुपमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । घातपछि देखिएको विकलाङ्गता (पक्षाघातको) निवारण गर्न पुनर्स्थापना जरुरी छ ।

सही समयमा पुनर्स्थापनाहुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनवाट बचाई दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ । पुनर्स्थापनापनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङस्टाफ, स्पीचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्यहरु र सहयोगीहरुको सामूहिक प्रयास हो । पुनर्स्थापनाका केही उपचार विधिहरु स्थिती हेरेर सघन उपचार कक्षवाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ । आपतकालीन व्यवस्थापन पश्चात पक्षाघात भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाढो पुनर्स्थापना केन्द्रमा लगेर उपचार गराउनु पर्छ । केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मष्तिस्क घातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसको निवारणका लागि थरीथरीका थेरापी र विधीहरुको प्रयोग गर्छन् । तीमध्ये निम्न विधिहरूको यथोचित प्रयोग हुन नितान्त जरूरी छ ।

फिजीयो थेरापीः

भौतिक उपचार विधिहरूलाई आधार बनाएर दिइने यो चिकित्सा पद्धतिको पक्षाघातको पुनर्स्थापनामा ठूलो भूमिका छ । यस अन्तर्गत थरी–थरीका ब्यायाम तथा थरी–थरीका विद्युतीय तरंगहरू प्रवाह गराएर हुने उपचार विधिहरू पर्दछन् । प्यासिभ एक्सरसाइज, एक्टिभ असिस्टेड, एक्टिभ रेसिस्टेड पिएनएफ एक्सरसाइज, स्ट्रेचिङ्ग, स्ट्रेन्थेनिङ्ग एक्सरसाइज, ब्यालेन्सिङ्ग एक्सरसाइज, कोअर्डीनेशन एक्सरसाइज, मशल स्ट्युमुलेशन, गेट ट्रेनिङ्गजस्ता उपचार विधिहरू यस अन्तर्गत पर्दछन् ।

अकुपंचरः

अकुपंचर परम्परागत चाइनिज उपचार पद्धतिको एउटा आयाम हो । शरीरका विभिन्न विन्दुहरूमा पातलो सियो राखेर विद्युतीय तरंगहरू प्रवाह गराएर वा नगरिकनै तन्तुलाई उत्तेजित गराई उपचार गरिन्छ । पक्षघातको पुनर्स्थापनामा यस विधिको पनि पृथक भूमिका छ । घातको साथ साथै हुने तन्तुहरूको दुखाई कम गर्न पनि एसले सहयोग गर्छ ।

तेल मालिसः

तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह सुचारु हुन्छ र रोगी चाँडै लाभान्वित हुन पुग्छ । तर मालिस तालिम प्राप्त व्यक्तिद्वारा नै गराईनु पर्छ । पक्षघातको प्रकृति अनुसार मालिसको तरीका छुट्टाछुट्टै हुन्छ ।

प्राकृतिक उपचारः

प्राकृतिक तरिकाले, प्राकृतिक संपदाको उपयोग गरी गरिने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदी उपचार पद्धतिहरू रोगको प्रकृति र अवस्था हेरेर दिईन्छ । यी उपचार पद्धतीहरुले छालामा रहेका स्नायु रिसेप्टरहरुलाई उत्तेजित गराएर कमजोर मांसपेशीहरुलाई मजवुत बनाउँछन् ।

मनोपरामर्शः

पक्षाघात शारीरिक मात्र नभएर मानसिक समस्या पनि हो । मानसिक तथा भावनात्मक अस्वस्थतालाई न्यूनीकरण गर्न मनोपरामर्शको ठूलो हात छ । मनोपरामर्श विज्ञद्वारा मनोपरामर्स गराइनु पर्छ ।

स्पिच थेरापीः

मस्तिष्क घात भएका आधा रोगीहरुमा बोली जाने समस्या पनि हुन्छ । बोली भएकाहरूको पनि पक्षाघातका कारण बोली अस्पष्ट हुन सक्छ । यसका लागि स्पिच थेरापी गर्नुपर्छ।

हेरचाहः

पक्षघातले पीड़ितहरुलाई व्यक्तिगत हेरचाहको ठूलो जरूरी हुन्छ। विशेष गरी दिसापिसावको हेरचाह, कफ र र्‍यालको सम्हार गरेर सफा राख्नु अत्यन्त जरूरी छ। नर्सिङ केयर र परिवारकै सदस्यले गर्ने केयर यस अन्तर्गत पर्दछन्। बिरामीको हेरचाह जति राम्रो भयो त्यति चाँडो ठीक हुन्छ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ५ : ५५ बजे

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध