१९ वर्षीया किशोरीको राजनीतिक उडान | Khabarhub Khabarhub

१९ वर्षीया किशोरीको राजनीतिक उडान

दैलेखको सीमा नाघेर काठमाडौँमा चर्चा



काठमाडौँ– देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ । देशभरका वडाहरूमा अहिले वडा अधिवेशन चलिरहेको छ ।

गत शुक्रबार देशका ३५ जिल्लाका वडाहरूमा अधिवेशन हुँदा दैलेखकी एक किशोरी पार्टीको वडा सभापति निर्विविरोध निर्वाचित भइन् । यससँगै दैलेखको सीमाना काटेर उनको चर्चा देशको राजधानी काठमाडौँमा समेत भएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापति चुनिएपछि १९ वर्षीया स्वस्तिका महतलाई अहिले काठमाडौँबाट केन्द्रीय नेताहरूको समेत बधाईको ओइरो लागेको छ । आइतबार बिहानमात्र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफूलाई फोन गरेर बधाई दिएको स्वस्तिकाले खबरहबलाई फोनमा बताइन् ।

उनले भनिन्, ‘जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधि र प्रवक्ता विश्वप्रकाश शर्माले पनि मलाई फोन गरेर बधाई दिनुभयो ।’ प्रवक्ता शर्माले राजनीतिमा अगाडि बढ्न सहयोग गर्ने वचन दिएको उनले बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत, उनलाई कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आर्जु देउवाले पनि बधाई दिइन् । महिला संघकी अध्यक्ष तथा सांसद डा. डिला संग्रौलाले पनि स्वस्तिकालाई बधाई दिइन् ।

उनलाई अन्य दलका नेताहरूले पनि बधाई दिएका छन् । कर्णाली प्रदेशका पूर्वसांसद तथा एमाले कर्णाली प्रदेशका सचिव धर्मराज रेग्मीले पनि उनलाई फेसबुकमार्फत बधाई दिएका छन् ।

यी सबै बधाईमा एउटा विषय भने समान छ– युवा त्यो पनि महिलाले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाएको ।

कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकाले स्वाभाविकरूपमा यो पार्टीका धेरैजसो नेताहरू ७० वर्षमाथिका छन् । केन्द्रमा मात्र होइन, जिल्ला र स्थानीय तहमा पनि पाको उमेरकै नेताहरूको वर्चस्व छ । त्यसमाथि महत्वपूर्ण पदहरूमा महिलाको उपस्थिति निकै कम छ ।

यस्तो परिस्थितिमा १९ वर्षीया किशोरीले कांग्रेसको प्रारम्भिक इकाइ प्रमुखको जिम्मेवारीमा पुगेकी छन् । भर्खर हेल्थ असिस्टेन्टको पढाइ सकेकी उनी जागिर खान छाडेर राजनीतिमा लागेकी हुन् ।

स्वस्तिकाका बाबु भूपेन्द्र महत कांग्रेस दैलेख जिल्ला समितिका उपसभापति थिए । पदमा रहँदै उनको निधन भएको थियो । घरको वातावरण राजनीतिक नै थियो । घरमा नेताहरूको आउजाउ भइरने र बाबु राजनीतिमा सक्रिय भएका कारणले उनले सानै उमेरदेखि राजनीतिक कुरा सुनेकी थिइन् । उनले सक्रिय राजनीतिमा प्रवेश गरिहाल्ने सोचेकी थिइनन् । अचानक बुबा गुमाएपछि बाबुको सपना पूरा गर्न राजनीतिमा आएको उनले बताइन् ।

राजनीतिमा आउन चाहे पनि स्वस्तिकालाई त्यति सजिलो भने भएन । उनकी आमा अरुण महत भन्छिन्, ‘घरकी जेठी छोरी, पढाइ सकेर जागिर खाओस् भन्ने थियो । राजनीति नगरोस् भन्ने नै थियो तर उसले हामी सबैलाई मनाई ।’

स्वस्तिकाले राजनीतिमा चालेको यो पहिलो पाइला हो । उनले अझै कैयौँ यात्रा गर्नुपर्नेछ । त्यसमा उनले कस्तो सफलता पाउलिन्, भविष्यले नै बताउला तर उनी वडा सभापति भएसँगै देशभर एक किसिमको तरङ्ग भने आएको छ । कांग्रेस ‘बुढाहरूको पार्टी’ भनिने र राजनीतिमा युवाहरूको आकर्षण घट्दै गएको बेला उनले देखाएको हिम्मतले उनी रोलमोडल बन्ने सक्नेछिन् ।

स्वस्तिमा भन्छिन्, ‘घर परिवार, आफन्त सबैलाई मनाएर राजनीतिमा आउने निर्णय लिएकी हुँ । वडा सभापति बनेपछि म खुसी भएकी छु, तर जिम्मेवारी कति छ र मबाट कति आशा छ भन्ने पनि आभास भएको छ ।’

युवाहरूले राजनीतिप्रति नकरात्मक सोच राखिरहेकाले आफूलाई सबैभन्दा ठूलो चुनौती नै त्यस्तो सोचमा परिवर्तन ल्याउनु रहेको उनले बताइन् । उनले भनिन्, ‘सिक्दै छु तर जिम्मेवारी पूरा नगर्ने र निराश हुने छुट मलाई छैन ।’

 

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : १५ बजे

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक