१९ वर्षीया किशोरीको राजनीतिक उडान « Khabarhub

१९ वर्षीया किशोरीको राजनीतिक उडान

दैलेखको सीमा नाघेर काठमाडौँमा चर्चा



काठमाडौँ– देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ । देशभरका वडाहरूमा अहिले वडा अधिवेशन चलिरहेको छ ।

गत शुक्रबार देशका ३५ जिल्लाका वडाहरूमा अधिवेशन हुँदा दैलेखकी एक किशोरी पार्टीको वडा सभापति निर्विविरोध निर्वाचित भइन् । यससँगै दैलेखको सीमाना काटेर उनको चर्चा देशको राजधानी काठमाडौँमा समेत भएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापति चुनिएपछि १९ वर्षीया स्वस्तिका महतलाई अहिले काठमाडौँबाट केन्द्रीय नेताहरूको समेत बधाईको ओइरो लागेको छ । आइतबार बिहानमात्र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफूलाई फोन गरेर बधाई दिएको स्वस्तिकाले खबरहबलाई फोनमा बताइन् ।

उनले भनिन्, ‘जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधि र प्रवक्ता विश्वप्रकाश शर्माले पनि मलाई फोन गरेर बधाई दिनुभयो ।’ प्रवक्ता शर्माले राजनीतिमा अगाडि बढ्न सहयोग गर्ने वचन दिएको उनले बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत, उनलाई कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आर्जु देउवाले पनि बधाई दिइन् । महिला संघकी अध्यक्ष तथा सांसद डा. डिला संग्रौलाले पनि स्वस्तिकालाई बधाई दिइन् ।

उनलाई अन्य दलका नेताहरूले पनि बधाई दिएका छन् । कर्णाली प्रदेशका पूर्वसांसद तथा एमाले कर्णाली प्रदेशका सचिव धर्मराज रेग्मीले पनि उनलाई फेसबुकमार्फत बधाई दिएका छन् ।

यी सबै बधाईमा एउटा विषय भने समान छ– युवा त्यो पनि महिलाले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाएको ।

कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकाले स्वाभाविकरूपमा यो पार्टीका धेरैजसो नेताहरू ७० वर्षमाथिका छन् । केन्द्रमा मात्र होइन, जिल्ला र स्थानीय तहमा पनि पाको उमेरकै नेताहरूको वर्चस्व छ । त्यसमाथि महत्वपूर्ण पदहरूमा महिलाको उपस्थिति निकै कम छ ।

यस्तो परिस्थितिमा १९ वर्षीया किशोरीले कांग्रेसको प्रारम्भिक इकाइ प्रमुखको जिम्मेवारीमा पुगेकी छन् । भर्खर हेल्थ असिस्टेन्टको पढाइ सकेकी उनी जागिर खान छाडेर राजनीतिमा लागेकी हुन् ।

स्वस्तिकाका बाबु भूपेन्द्र महत कांग्रेस दैलेख जिल्ला समितिका उपसभापति थिए । पदमा रहँदै उनको निधन भएको थियो । घरको वातावरण राजनीतिक नै थियो । घरमा नेताहरूको आउजाउ भइरने र बाबु राजनीतिमा सक्रिय भएका कारणले उनले सानै उमेरदेखि राजनीतिक कुरा सुनेकी थिइन् । उनले सक्रिय राजनीतिमा प्रवेश गरिहाल्ने सोचेकी थिइनन् । अचानक बुबा गुमाएपछि बाबुको सपना पूरा गर्न राजनीतिमा आएको उनले बताइन् ।

राजनीतिमा आउन चाहे पनि स्वस्तिकालाई त्यति सजिलो भने भएन । उनकी आमा अरुण महत भन्छिन्, ‘घरकी जेठी छोरी, पढाइ सकेर जागिर खाओस् भन्ने थियो । राजनीति नगरोस् भन्ने नै थियो तर उसले हामी सबैलाई मनाई ।’

स्वस्तिकाले राजनीतिमा चालेको यो पहिलो पाइला हो । उनले अझै कैयौँ यात्रा गर्नुपर्नेछ । त्यसमा उनले कस्तो सफलता पाउलिन्, भविष्यले नै बताउला तर उनी वडा सभापति भएसँगै देशभर एक किसिमको तरङ्ग भने आएको छ । कांग्रेस ‘बुढाहरूको पार्टी’ भनिने र राजनीतिमा युवाहरूको आकर्षण घट्दै गएको बेला उनले देखाएको हिम्मतले उनी रोलमोडल बन्ने सक्नेछिन् ।

स्वस्तिमा भन्छिन्, ‘घर परिवार, आफन्त सबैलाई मनाएर राजनीतिमा आउने निर्णय लिएकी हुँ । वडा सभापति बनेपछि म खुसी भएकी छु, तर जिम्मेवारी कति छ र मबाट कति आशा छ भन्ने पनि आभास भएको छ ।’

युवाहरूले राजनीतिप्रति नकरात्मक सोच राखिरहेकाले आफूलाई सबैभन्दा ठूलो चुनौती नै त्यस्तो सोचमा परिवर्तन ल्याउनु रहेको उनले बताइन् । उनले भनिन्, ‘सिक्दै छु तर जिम्मेवारी पूरा नगर्ने र निराश हुने छुट मलाई छैन ।’

 

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : १५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको