तिहारमा हराउँदैछ मौलिक देउसीभैलो « Khabarhub

तिहारमा हराउँदैछ मौलिक देउसीभैलो


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।

केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ ।

देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।

भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।।
हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।

यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको रामपुरका देवराज अर्याल बताउँछन् ।

“अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ, गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, संस्कृति यसरी परिवर्तन हुँदैछ”, उनले भने ।

उज्यालै–उज्यालैको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ । दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।

सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो । स्थानीयवासी शिवकुमारी वाग्ले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताउँछन् ।

“औँसीका दिनबाट गाउँका साथीभाइ जम्मा भएर घरघरमा जाने कसैले देउसी भन्ने कसैले भट्याउँदै नाच्ने गरिन्थ्यो, अहिलेका पुस्तालाई सुनाउँदा आश्चर्य मान्ने अवस्था आइसक्यो”, उनले भने । गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो । परम्परादेखि नै चलिआएका संस्कार संस्कृतिलाई जोगाइराख्न सबै लाग्नुपर्ने रामपुरका कलाकार लक्ष्मी तिवारीको भनाइ छ ।

फ्याट्टफुट्टरूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ । केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतलाई स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ ।

रामपुर युवा क्लबले भने यस वर्ष सामाजिक सन्देश प्रवाह गर्दै देउसीभैलो कार्यक्रम सुरु गरेको छ । ‘सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले क्लबले देउसीभैलो सुरु गरेको हो । रामपुरको मुख्य बजार बेझाड बजार क्षेत्रलाई सफा र उज्यालो बनाउन र परम्परालाई धान्नका निम्ति देउसीभैलो कार्यक्रम गरेको क्लबका सचिव सुन्दर कँडेलले बताइन ।

“सामाजिक कामको लागि क्लबका सदस्य मिलेर देउसीभैलो आयोजना गरिएको छ, यस कार्यक्रमाट सङ्कलित रकम सामाजिक क्षेत्रमा खर्चिने र पुरानो चलन रीतिरिवाजलाई कायम राख्न युवाहरु मिलेर देउसीभैलोमा निस्केका छौँ”, उनले भने ।

रातिमा देउसीभैलो खेल्न रोक

जिल्लामा तिहार अर्थात् भाइटीकाको बेला रातका समयमा देउसीभैलो खेल्न नपाइने भएको छ । प्रशासनले साँझ ७ बजेपछि देउसीभैलो नखेल्न सूचना जारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था कायमै रहेकाले सकेसम्म देउसीभैलो नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थोरै सङ्ख्यामा साँझ ७ बजेसम्म मात्र खेल्न प्रशासनले आग्रह गरेको छ ।

सूचनामा देउसीभैलो खेल्न तिहारको सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीको समेत पूर्वस्वीकृति लिनुपर्ने जनाइएको छ । तिहारका बेलामा जुवातास खेल्ने/खेलाउने र पटका, भुइँचम्पा तथा आतशबाजी गर्नेजस्ता क्रियाकलाप नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ३ : १८ बजे

एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक तीन दिनदेखि भक्तपुरको गुन्डुमा जारी

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

इरानसँग चाँडै सम्झौता हुन्छ : विदेशमन्त्री रुबियो

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक

पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सेवा सञ्चालन गरिने

काठमाडौं– आवश्यक पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स