‘पर्ख र हेर’ नीतिमा प्रकाशक | Khabarhub Khabarhub

‘पर्ख र हेर’ नीतिमा प्रकाशक


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटा प्रकाशकलाई नभई नहुने तीन कुरा हुन्– लेखक, पाठक र बजार । प्रकाशकको व्यापार र भविष्य यही तीन कुरामा जोडिएको हुन्छ ।

पछिल्लो समयमा नेपालमा पुस्तक मेला, पुस्तक बहससँगै पठन संस्कृति फस्टाइरहँदा प्रकाशकहरु पुलकित थिए । तर त्यो खुशीमा विगत १० महिना यता मौनता छाएको छ । कोभिड–१९ को महामारीसँगै गत वर्षको चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि आम क्षेत्रझै पुस्तक प्रकाशन क्षेत्र ठप्प भयो ।

भलै अहिले अवस्था केही सामान्य बनेर अन्य गतिविधिले आफ्नो बाटो समातिरहँदा प्रकाशकले चाहिँ त्यो अवस्थाको महशुस गर्न पाएका छैनन् ।

उनीहरुको प्राथमिकतामा नयाँ पुस्तक भन्दा पनि ‘अति आवश्यकीय’ पुस्तकको प्रकाशन छ । तर पनि उनीहरुले हरेस चाहिँ खाइसकेका छैनन् ।

बुकहिल पब्लिकेसनका भूपेन्द्र खड्का कोभिड–१९ पछि पुस्तकको बजार र व्यापार साँघुरिएको बताउँछन् ।

‘लेखक तथा प्रकाशकहरुले थोरैमात्रामा पुस्तक प्रकाशन गरिरहेका छन् । अहिले बजार व्याकफायर छ । पहिलो कुरा, कोभिडपछि सबै चिज गयो । अहिले मानिसको ध्यान पुस्तकमा भन्दा पनि खाने, लगाउने, व्यापार व्यवसायतिर छ । हाम्रो जस्तो अल्पविकसित, अविकसित समाजमा सरकारले नै पुस्तकलाई मनोरन्जनको पाँचौं तहमा राखेको छ’, भुपेन्द्र भन्छन्, ‘अहिले पुस्तक किन्नेहरुको संख्या एकदमै घटेको छ । पहिला विद्यार्थीसँग पैसा हुन्थ्यो । थेसिस अथवा अन्य कुरा गर्दा अलिअलि पुस्तक किन्थे । अहिले स्कुल, कलेज बन्द छन् । उनीहरुलाई कलेज र स्कुलको पैसा तिर्न गाह्रो भइरहेको छ । मान्छेको रोजगारी गुमिरहेका छन् । बेरोजगार भएपछि खाने र बस्नेतिर ध्यान हुन्छ । पढ्ने भन्ने त अलग कुरा भयो ।’

भूपेन्द्रका अनुसार बुकहिलले अहिले अति आवश्यक, महत्वपूर्ण र गर्नै पर्ने पुस्तकको मात्र काम गरिरहेको छ । ‘सामान्य अवस्थाको समयको १० प्रतिशत पनि काम छैन । भनेको पहिला हामी पाँच हजार पुस्तक बिक्री गथ्र्यौ भने अहिले एक हजार पनि बिक्री हुन गाह्रो छ,’ उनी भन्छन् । उनले पुराना पुस्तक व्यवसायीहरुले आफूलाई राजनीतिक अस्थिरता, संकट आएको समयमा मानिसहरुको ध्यान राजनीति तिर तानिने गरेको सुनाएको बताए ।

‘त्यसकारण यो अवस्थामा बजार सुध्रिन गाह्रो हुन्छ । मान्छेको ध्यान नै राजनीतितिर तानिएपछि पुस्तक कसले पढिदिने ?’ उनको प्रश्न छ । यतिहुँदाहुँदै पनि भूपेन्द्र विस्तारै पुस्तक प्रकाशन व्यवसायले एउटा बाटो समात्नेमा आशावादी छन् ।

पुस्तकका प्रमुख पाठक भनेका विद्यालय र कलेज तहका विद्यार्थी नै हुन् । आफ्नो पढाईसँग सम्बन्धित पुस्तकसँगै अन्य विधाका पुस्तक किनेर पढ्ने यी अनुहार कोभिड–१९ पछि गुमनाम झैं छन् । विद्यालयका बालबालिकालाई अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुस्तक प्रकाशन गर्दै आएको कथालय इंकको अवस्था उस्तै छ ।

इंका राजीवधर जोशी पुस्तक प्रकाशनमा कोभिडअघि भन्दा कोभिड पछिको अवस्थामा केही कम आएको स्वीकार्छन् ।

‘कोभिड अघिसम्म पुस्तकमा जुन किसिमको रेस्पोन्स थियो, कोभिड पछि त्यस्तो रेस्पोन्स खासै देखिएको छैन । हामी चाहिँ बाल साहित्यका पुस्तकहरुको काम गर्छौ । कोभिड अघि स्कुलहरुबाट जुन किसिमको मागहरु आउथ्यो, त्यो अहिले बन्द झैं छ । स्कुलहरु खुले पनि उनीहरुको आफ्नै नियम हुन्छ । अभिभावकहरुको पनि अवस्था उस्तै छ । त्यसकारणले पहिलाको जस्तो बिक्री छैन’, उनी भन्छन्, ‘हाम्रो चाहिँ स्कुलले अलिकति परम्परागत शैलीका रिफरेन्स पुस्तकहरु प्रयोग गर्ने गर्छन । अभिभावकहरुको चासो यस्तो पुस्तकमा थियो । तर कोभिडपछि चाहिँ यसको मात्रामा गिरावट आएको छ ।’

उनका अनुसार जेठपछि ३९ पुस्तक प्रकाशन भइसकेको छ भने १० वटा प्रकाशनको पाइपलाइनमा छन् ।

बाल पुस्तकको सवालमा सबै स्कुलहरु कहिलेसम्म पूर्ण रुपमा खुल्छन् भन्ने कुराले यसको व्यापारको अवस्था भन्न सकिने जोशीको बुझाइ छ ।

‘अहिले पनि अभिभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराइरहेका छन् । उनीहरुको आर्थिक अवस्था पनि राम्रो बनिसकेको छ्रैन’, जोशी भन्छन्, ‘अब नयाँ शैक्षिक सत्र नआञ्जेलसम्म र आर्थिक रुपले केही सशक्त नभइञ्जेलसम्म पहिलाको अवस्था आउला भन्न सकिन्नँ । दुई तीन वर्ष चाहिँ पर्ख र हेरकै नीतिमा हामी हुनेछौं ।’

पैरवी बुक हाउस विशेष कानूनका पुस्तक निकाल्न सक्रिय प्रकाशन संस्था हो । यसले कानूनबाहेकका पुस्तक ननिकाल्ने भन्ने चाहिँ होइन । हाउसका चन्द्र शिवाकोटी कोभिडपछि साहित्यिक पुस्तकमा कमी आएको स्वीकार्छन् ।

‘धेरै लेखकहरुले पाण्डुलिपी तयार पारेर राख्नुभएको छ । तर प्रकाशकहरुले पुस्तक प्रकाशन गर्न सकेका छैनन् । अहिले पुरानासँगै नयाँ लेखकको संख्या पनि बढेको छ । तर पुराना लेखकहरुको चाहिँ उनीहरुको पहिलाकै पुस्तक बजारमा राम्रोसँग बिक्री नभईरहेको अवस्थाले गर्दा धेरै पुस्तक प्रकाशन भएका छैनन्,’ चन्द्र भन्छन्, ‘अहिले पुस्तकको बजार सुस्त छ । पठन संस्कृतिमा पनि कमी आएको देखिन्छ । अहिलेको माहौल र कोभिडपछि मानिसको आयआर्जन तथा दैनिक जीविकोपार्जन गर्न अप्ठ्यारो स्थिति भइरहेकोले पठनमा खर्च कम भइरहेको छ । अहिले तत्काललाई कसैको पनि प्राथमिकता पुस्तक किन्नेमा छैन ।’

पैरवीले लकडाउन अवधि र लकडाउन पछि झन्डै २५ को संख्यामा कानूनका पुस्तक प्रकाशन गरेको छ । यो प्रकाशनले चाँडै नै पूर्वीय दर्शनमा आधारित पुस्तकहरु पनि प्रकाशनको तयारी गरिरहेको छ ।

किताब पब्लिसर्सले यो वर्ष केशव दाहालको पुस्तक ‘मोक्षभूमि’ बजारमा ल्याइसकेको छ भने अर्को एक नाम नजुराईएको पुस्तक ल्याउने तयारीमा छ । पब्लिकेसनकी कल्पना ढकाल कोभिडको मनोवैज्ञानिक र मानसिक असरका कारण पुस्तक पठनको संख्यामा कमी आएको बताउछिन् । ‘बजारमा पुस्तकको फ्लो घटेको छ । यसमा प्रत्यक्ष असर त कोभिडकै हो’, उनी भन्छिन्,‘अब पहिलेकै जस्तो अवस्थामा फर्कनका लागि सायदै त केही समय लाग्ला कि ?’

नेपालमा ‘पढेर भन्दा परेर जानिन्छ’ भन्ने भनाई लोकप्रिय छ । तर सधैं परेर मात्र जानिने होइन् । किनकी पर्नका लागि पढ्न जरुरी छ । नेपालमा पछिल्लो दशकमा पुस्तक सम्बन्धी बढ्दो गतिविधिले पठन संस्कृतिको विकास भइरहँदा कोभिडले अवरोध गरेपछि पनि प्रकाशकहरु निराश छैनन् । फेरि पनि पठन संस्कृतिको वातावरण विकसित हुनेमा उनीहरु ढुक्क छन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : १८ बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति