खोप अभियानमा पूरा भएन सरकारी लक्ष्य, दोस्रो चरणको रणनीति बनाउँदै सरकार | Khabarhub Khabarhub

खोप अभियानमा पूरा भएन सरकारी लक्ष्य, दोस्रो चरणको रणनीति बनाउँदै सरकार

पहिलो डोज लगाउने अभियान आज सकिँदै


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कोरोना भाइरवरूद्धको पहिलो डोजको खोप अभियान आज सकिँदैछ ।

स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो । तर, शुक्रबारसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले मात्रै पहिलो डोजको खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।

दैनिक खोप लगाउनेको औषत संख्यालाई आधार मान्दा शनिबारसम्म खोप लगाउनेको संख्या २ लाख पनि नपुग्ने देखिएको छ ।

सरकारले ३०० भन्दा बढी खोप केन्द्रबाट खोप  लगाउने घोषणा गरे पनि शुक्रबारसम्म २०१ केन्द्रबाट मात्र खोप उपलब्ध गराइरहेको छ ।

खोप लगाउन गरिएको आह्वान लक्षित वर्गसम्म नपुग्नु, सदरमुकाम केन्द्रित खोप केन्द्रमा सबैको पहुँच नहुँनु तथा खोप लगाउन अनिवार्य नगरिएकाले पनि पहिलो डोजको खोप लगाउन मानिसहरूको सहभागिता कम भएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन् ।

‘खोप खेर नजाओस् भनेर हामीले ७७ वटै जिल्लामा सदरमुकाम केन्द्रित खोप केन्द्र सञ्चालन गर्‍यौँ यसले मानिसहरूमा पहुँच नपुगेको हुन सक्छ, खोप केन्द्र थप विस्तार गर्दैछौँ अरू चरणमा पक्कै पनि सहभागिता बढ्छ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख एवं खोप विज्ञ डा.झलक शर्मा गौतमले भने ।

भारतले नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा उपलब्ध गराएपछि लगाउन थालिएको थियो । पहिलो डोज खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिइनेछ ।

‘कोभिशिल्ड’को दोस्रो डोज अहिले प्राप्त अनुदानकै खोपबाट पुग्नेछ । यसबाट उग्रिएको खोप नयाँ समूहलाई दिइनेछ ।

खेर जाने दर १ प्रतिशतभन्दा पनि कम भएकाले साढे ४ लाख जनालाई अहिले उपलब्ध भएकै खोप पुग्ने गौतमले बताए ।

दोस्रो चरणको रणनीति बनाइँदै

पहिलो चरणको पहिलो डोज लगाउनेहरूकै संख्या कम देखिएपछि खोप लगाउनेको जनसहभागिता बढाउने गरिको रणनीतिमा सरकार अघि बढेको छ ।

दोस्रो चरणको खोप अभियानमा सहभागिता पनि बढ्ने गरी सूचना सम्प्रेषण बढाउने, मानिसहरूमा भएको अन्यौलता हटाउने तथा खोप केन्द्रहरू बढाउने गरिका छलफल अघि बढेको डा.गौतमले बताए ।

दोस्रो चरणको खोप लगाउनेहरूको प्रारम्भिक सूचीसमेत तय भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणमा जोखिमका आधारमा विभिन्न पेशामा आवद्धहरूलाई खोप लगाइने छ ।

मन्त्रालयले तय गरेको सूचीमा सुरक्षाकर्मी, यातायातको क्षेत्रमा कार्यरत व्यक्तिहरू, हवाइ क्षेत्रमा काम गर्नेहरू, विद्युत, नापी, मालपोत, बैंक तथा वित्तिय संस्थाहरू र सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई दोस्रो चरणको खोप लगाइनेछ ।

दोस्रो चरणको खोप भने कोभ्याक्स सुविधा अन्तर्गत विश्वस्वास्थ्य संगठनले उपलब्ध गराउने खोप आएपछि सुरू गर्ने तयारी मन्त्रालयले गरेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २२ लाख ५६ हजार खोप पाउने छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिम अर्थात फागुन पहिलो साताबाट सुरु गर्ने जनाएको छ ।

कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ ।

कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हुनेछ ।

कोरोनाविरुद्धको खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्ने खोप खरिद गर्ने सम्झौता गरेको छ ।

अनुदानको मात्रा विश्लेषणपछि मात्रै खरिद

सरकारले अनुदानमा उपलब्ध हुने खोपको मात्राका आधारमा मात्र खरिद अघि बढाउने भएको छ ।

भारतबाट अनुदानमा १० लाख मात्रा खोप उपलब्ध भइसकेको छ भने चीनबाट अनुदानमा खोप आउने भएको छ ।

चीन सरकारले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख मात्रा अनुदानमा खोप दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘मित्र राष्ट्रहरू र डब्ल्युएचओबाट अनुदानमा आउने खोपको मात्रा करिव ३६ लाख डोज हुन्छ, हामीले २ करोड १६ लाख जनालाई खोप दिने भनेका छौँ । यसअर्थमा बाँकी मात्र खरिद गर्नै पर्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘मेरो जानकारीमा भएसम्म खरिद प्रकिया पनि अघि बढिसकेको छ, यसबारे स्वास्थ्यमन्त्रीले छिट्टै घोषणा गर्नुहुन्छ ।’

भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग दोस्रो चरणको खोप खरिदका लागि परामर्श भइरहेको जनाइएको छ ।

नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३०० रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य प्रस्तुत गरेको स्रोतले जनाएको छ ।

तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य तलमाथि हुन सक्ने निकट स्रोतले जनाएको छ ।

अहिले खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिन पर्नेछ । त्यसबाहेक दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप खरिद पक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ५४ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये