सिफारिस थन्क्याएर शिक्षक सेवा आयोग पदाधिकारीविहीन « Khabarhub

सिफारिस थन्क्याएर शिक्षक सेवा आयोग पदाधिकारीविहीन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि करिब ६ महिनाअघि नै नाम सिफारिस भए पनि सरकारले नियुक्ति गरेको छैन । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्तिको सिफारिस थन्क्याएर आयोगलाई पदाधिकारीविहीन बनाएका छन् ।

शिक्षक सेवा आयोगमा एक अध्यक्ष र दुई सदस्य गरी तीन जना पदाधिकारी रहने प्रावधान छ । तीन वटै पद रिक्त भएको ८ महिनभन्दा बढी भएको छ । आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरेको लामो समय हुँदा पनि सरकार मौन रहेको छ ।

लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समितिले नाम सिफारिस गरेको थियो ।

स्रोतका अनुसार सिफारिस समितिले आयोगका अध्यक्षमा शिक्षा मन्त्रालयका पूर्वसचिव मधु रेग्मी र सदस्यहरूमा शिक्षा मन्त्रालयकै पूर्वसहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो ।

लोकसेवा आयोग स्रोतका अनुसार शिक्षामन्त्री श्रेष्ठले सिफारिस पुनर्विचार गर्न मन्त्रालयलबाट पत्र लेखाएका थिए । सिफारिस समितका अध्यक्ष मैनालीले पुनर्विचार गर्न अस्वीकार गरेपछि मन्त्री श्रेष्ठले सिफारिस थन्क्याएर राखेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको विषयमा निर्णय भएको छैन । उनले भने, ‘अहिलेसम्म कुनै निर्णय भएर नआएकाले केही भन्न सकिने अवस्था छैन ।’

शिक्षक सेवा आयोग आंशिकरूपमा पदाधिकारीविहीन हुन थालेको तीन वर्ष भयो । आयोगका सदस्य सीताराम पोखरेलले २०७४ मंसिरमा अवकाश पाएका थिए । अर्का सदस्य ज्ञानी यादवले २०७७ असारमा र अध्यक्ष ताना गौतमले २०७७ असोजमा अवकाश पाएपछि आयोग पूर्णरूपमा पदाधिकारीविहीन छ ।

आयोगले ‘सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार रिक्त शिक्षक तथा कर्मचारीको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस’ गर्ने काम गर्छ । लामो समयदेखि पदाधिकारी नहुँदा आयोगको वार्षिक कार्यपात्रो र नियमित काममा असर परेको छ । पदाधिकारी नहुँदा रिक्त शिक्षक दरबन्दीमा पदपूर्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।

शिक्षक सेवा आयोगले काम गर्न नपाउँदा विद्यालयमा करारका शिक्षक राख्ने क्रम बढेको शिक्षाका एक अधिकारीले बताए । शिक्षक बढुवाको क्रम पनि रोकिएको छ । बढुवा रोकिँदा अवकासमा पुगेका शिक्षकहरू मर्कामा पर्न थालेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब १२ हजार शिक्षक दरबन्दी रिक्त भएको तथ्यांक आयोगमा पठाएको छ । यसमध्ये प्राथमिक तहमा ९ हजार १०६, निम्न माध्यमिक तहमा १ हजार ९१३ र माध्यमिक तहमा १ हजार ४२ शिक्षक दरबन्दी रिक्त छन् । त्यस्तै २ हजार ६ सय शिक्षकहरूको बढुवाको काम रोकिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ४ : १८ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया