अपराध नियन्त्रण गर्न सहकार्य | Khabarhub Khabarhub

अपराध नियन्त्रण गर्न सहकार्य


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी, पर्वत र गुल्मीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीमा जोडिएका जिल्लाका गतिविधिमा समेत सहकार्य गर्न सहमत भएका हुन् ।

लागुऔषध नियन्त्रण, अवैध हातहतियार, विपद् व्यवस्थापन, खोज तथा उद्धार, विकास निर्माणका आयोजनाको नियमित अनुगमन, नयाँ प्रजातिको कोभिड नियन्त्रण, प्राकृति तथा वातावरण संरक्षण, स्थानीय तहसँग प्रभावकारी समन्वय, यातायातका साधनको जाँच र सडक अनुशासन कायम, आपतकालीन रणनीति तथा सामाजिक अपराध नियन्त्रणलगायका विषयमा निर्णय भएको बागलुङका प्रजिअ सुरेश न्यौपानेले जानकारी दिए ।

“सिमाना जोडिएका जिल्लाबाट हुने अवैध र कानूनविपरीतका गतिविधिलाई अन्त्य पार्न नियमित भेटघाट हुन्छ”, उनले भने । उनले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र अलपत्र विकास निर्माणका कामलाई समेत तीव्रता दिन आवश्यक सहयोग आदानप्रदान हुने बताए ।

बैठकमा सहभागी सुरक्षा अङ्गका प्रमुखले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।

सहयोगापेक्षीको उद्धार

पर्वत जिल्ला अस्पतालको छेउमा अन्दाजी ७० वर्षीया वृद्धा धेरै दिनदेखि बेवारिस अवस्थामा थिए । दैनिक सयौँ मानिस सोही बाटो भएर आवत जावत गर्दथे । कसैले उनले खाए/नखाएको वास्ता पनि गर्दैनथे । रातको समयमा निर्माणाधीन अस्पतालको एक स्टोर कोठामा बस्थे ।

अस्पतालका केही कर्मचारीले खान पनि दिएका थिए । उनी को हुन्, किन यति लामो समयदेखि अलपत्र भए भन्ने कसैले बुझेनन् । न त उनको दिगो पुनःस्थापनाका लागि कसैले पहल गरे ।

मानव सेवा आश्रमले यही पुस ७ गतेदेखि देशव्यापी अभियान चलाएको छ । मेची–महाकाली अभियान जनाउँदै देशभर सडक मानवरहित बनाउने अभियान गरेपछि यो अभियानबारे बागलुङमा पनि कार्यक्रम हुने जानकारी भयो । उक्त कार्यक्रमका लागि आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४० जनाको टोलीले देश भ्रमण गरिरहेको छ ।

सस्थाले बुधबार खर्च सार्वजनिकीकरण र अभियानको जानकारी दिने कार्यक्रम बनाएको थियो । कार्यक्रम चलिरहेकै बेला कुश्मास्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत बिना शर्मा बरालले फोन गरेर बूढीआमाका बारेमा सूचना दिए ।

यतिबेला पनि ती वृद्धा अलपत्र अवस्थामा थिए । उनको सहारा दिने कोही थिएन । उक्त सूचना पाएलगत्तै बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले पर्वतका प्रहरी नायब उपरीक्षकलाई फोन गरेर अस्पताल ढोकामा रहेकी महिलालाई उद्धार टोली नआउञ्जेल अस्पताल परिसरमै राख्न आग्रह गरे ।

बागलुङस्थित आश्रमको काम सकेर टोली पर्वत प्रस्थान गर्‍यो । दिउँसो ४ बजे अस्पतालमा पुग्दा ती वृद्धा भुइँमा लुटपुटिँदै थिए। अधिकारीसहितको टोलीले उनलाई भेटेर आमा भनेर बोलाए । उनले भोक लागेको बताइन । आश्रमका सदस्यले तत्काल खानेकुरा ल्याएर खुवाए । यो अभियानमा शिव खड्का, सुवास केसी, सुनिता श्रेष्ठ, राजेश पौडेललगायतको टोली सक्रिय थियो ।

आश्रमकै स्वास्थ्यकर्मीको टोलीले वृद्धाको सामान्य स्वास्थ्य परीक्षण गरे । त्यसपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई खबर गरे । चिसोले उनका हातखुट्टा सुनिएका थिए । उठेर सहजै हिँड्न सक्दैनन् । पहाडी एकैछिनमा आए । उनको रोहबरमा आश्रमका टोलीले वृद्धालाई बागलुङ ल्याएका छन् ।

वृद्धा धेरै दिनदेखि पानी, खानेकुरालगायतको भोको भएको जस्तो देखिएको अधिकारीले बताए । अस्पतालका कर्मचारीले खान दिएको बताए पनि वृद्धाले भोको हुँदा देखाएको व्यवहारले पनि प्रष्ट भएको उद्धार टोलीले बताएको छ । उनलाई आश्रममा ल्याएर सरसफाइ र न्यानो कपडा लगाइदिएको सञ्चालिका सुमिरा लामाले जानकारी दिए ।

आश्रममा राखेर उनलाई सामाजिक मनोविमर्शसमेत गराइनेछ । उनले अहिलेसम्म नाम, घरठेगानासमेत बताएको छैन । मनोविमर्शबाट जानकारीमा आए पनि नआए पनि आश्रमले संरक्षण दिएर राख्ने योजना बनाएको छ । बागलुङस्थित आश्रममा अहिले पनि ४२ सहयोगापेक्षी छन् । बुधबार मात्रै बागलुङबाट चार र पर्वतबाट महिला समेत गरी पाँच जनाको उद्धार भएको हो । देशभरको अभियानमा भने झण्डै डेढसय जनाको उद्धार भइसकेको बताइएको छ ।

आगामी विसं २०७८ को अन्तिम समयसम्म नेपाललाई नै सडक मानवरहित बनाएर सभ्य देशको परिचय दिने अभियानमा आश्रमले अगुवाइ गरेको अधिकारीको भनाइ छ । बुधबार बागलुङमा आयोजित एक कार्यक्रममा उनले देशलाई सभ्य बनाएर अन्तर्राष्ट्रियरूपमा समेत चिनाउने योजना सुनाएका थिए ।

चार वर्षअघि बागलुङमा अध्यक्ष अधिकारीकै उपस्थितिमा आश्रम स्थापना भएको थियो । त्यतिबेला बागलुङको सडकमा पनि धेरे अलपत्र मानिस देखिन्थे । उनीहरुमध्ये कतिपयलाई संरक्षण गर्दागर्दै परिवारको सम्पर्कमा पुर्‍याएर पारिवारिक पुनःमिलन पनि गराइएको छ ।

चालु आवमा मात्रै आश्रमले ३० जनाको उद्धार गरेको रेकर्ड छ । तीमध्ये चार जना पुनःमिलन भएका छन् । एक जनाको मृत्यु भएको छ । आठ जनाले स्वेच्छिकरूपमा आश्रम छाडेका छन् भने एक जनालाई अर्कै आश्रममा स्थानान्तरण गरिएको हो ।

यस अभियानलाई जिल्लाका प्रशासक, सामाजिक अभियानकर्मी युवा, रोक्ट्रयाक्ट क्लबलगायतका अन्य सङ्घसंस्थाले पनि सघाएका छन् । आश्रममा रहेका सहयोगापेक्षी मानिसलाई जिल्लाका धेरै सङ्घसंस्थाले आफ्नो स्थापना दिवसमा सहयोग गर्छन् । त्यस्तै कतिपयले जन्मदिनको खर्च आश्रममा ल्याएर सहयोग गराएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ३ : १६ बजे

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

बैंकक– सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा

संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ?

काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो मानिसको अस्तित्वसँग

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक