अन्योलमा एसईई र १२ कक्षाको परीक्षा « Khabarhub

अन्योलमा एसईई र १२ कक्षाको परीक्षा


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा अन्योलमा परेको छ ।

परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि संक्रमण दर बढेको छ । संक्रमण नियन्त्रण गर्न देशका करिब ६० जिल्लामा निषेधाज्ञा छ ।

यता राष्ट्रिय परीक्षा बोर्ड भने परीक्षाका बारेमा अनिर्णित छ । बोर्डले एसइई र १२ कक्षाको परीक्षाको तयारी पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले खबरहबसँग भने, ‘यो महिनाभर हामी रोक र हेर भन्ने अवस्थामा छौँ, कोरोना संक्रमणको अवस्था यस्तै रहेको खण्डमा आवश्यक निर्णय गर्छौं ।’

उनका अनुसार यो महिनाको अन्तिममा परीक्षाको विषयमा निर्णय हुनेछ । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

‘परीक्षाको विषयमा बोर्डमा विभिन्न चरणमा छलफल पनि चलिरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘छलफल चलिरहेको छ तर अहिले नै केही भन्न मिल्दैन ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि परीक्षा सञ्चालनको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘संक्रमणको अवस्था हेरेर यो महिनाको अन्तिममा आवश्यक निर्णय गछौँ ।’

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डले गत एसईई जेठ १३ गते र १२ कक्षाको परीक्षा जेठ २६ गते शुरू हुने गरी गत फागुन २६ गते तालिका सार्वजनिक गरेको थियो ।

स्थगन गर्न सुझाब

एसइई र १२ कक्षाको परीक्षा तत्कालको लागि रोक्नुको विकल्प नरहेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । उनले भने, ‘विद्यार्थीहरूले घरबाटै परीक्षा दिने गरी वैकल्पिक उपाय खोज्नुपर्छ ।’

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर तत्कालको लागि परीक्षा स्थगित गर्नुपर्ने पनि उनले बताए ।

काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणसाद गौतमले पनि पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा भौतिकरूपमा परीक्षा सञ्चालन गर्दा संक्रमण भयावह हुन्छ ।’

अहिल परीक्षा सञ्चालन गर्नु उपयुक्त नहुने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ छ ।

उनले भने, ‘नयाँ भेरिएन्टसहितको भाइरस विद्यालय उमेर समूहका बालबालिकामा बढी देखिएकाले परीक्षा चलाउँदा जोखिम बढ्छ ।’

भर्चुअल माध्यमबाट परीक्षा लिन सम्भव नभएकाले तत्कालको लागि स्थगित गर्नुपर्ने उपयुक्त हुने उनको सुझाव छ ।

यस्तो अवस्थामा परीक्षा चलाउँदा विद्यार्थीहरूमा मानसिक तनाव बढ्न सक्ने पनि डा. पाण्डेको भनाइ छ ।

गत वर्षकै नियति !

गत वर्ष एसईई परीक्षा शुरु हुनु दुई दिनअघि सरकारले स्थगन गरेको थियो । लामो समय लकडाउन भएपछि विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यालयले पठाएको ग्रेड अनुसार नतिजा प्रकाशित गरिएको थियो ।

१२ कक्षाको परीक्षा भने लकडाउन अन्त्य भएपछि विद्यालयमै केन्द्र राखेर सञ्चालन गरिएको थियो ।

जनस्वास्थ्य विज्ञहरूले जेठ अन्तिमदेखि असार मध्यसम्ममा कोरोना भाइरस संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छन् । विद्यालयमा चालु शैक्षिक वर्षको पढाइ ढिलो शुरू भएपछि दुई महिना थपेर जेठ मसान्तसम्म पुर्याइएको थियो ।

आगामी असार १ गते अर्को शैक्षिक वर्ष शुरू हुनुपर्नेमा चालु वर्षको वार्षिक परीक्षा नै अन्योलमा परेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : ४९ बजे

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा