उपचारमा गम्भीर लापरवाही गरेको भन्दै भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाहीको तयारी « Khabarhub

उपचारमा गम्भीर लापरवाही गरेको भन्दै भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाहीको तयारी


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारवाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा कारवाही प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए ।

“आज सो अस्पतालमा भएको घटनाका बारेमा पीडित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल गर्‍यौँ । आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारवाही अघि बढाउँछौँ”, उनले भने ।

१५ शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको दुई जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो । अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक सङ्क्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा एक सङ्क्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अस्पतालको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा झडपको स्थिति आएको थियो । अस्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ ।

पीडित परिवार अस्पतालको चरम लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारवाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो । अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो । सोअनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ ।

यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना सङ्क्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रजिअ केशरीले जानकारी दिए । के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उनले बताए ।

“आजको छलफलमा पीडित पक्षलाई क्षतिपूर्ति दिने भन्ने सहमति भएको छ । आइतबार थप छलफल गरेर क्षतिपूर्ति तय गर्ने सहमति भएको छ”, उनले भने ।

त्यस्तै अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रजिअ केशरीले जानकारी दिए । रासस

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ५१ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी