फिल्मी कलाकारलाई म्युजिक भिडियोमा भ्याई नभ्याई « Khabarhub

फिल्मी कलाकारलाई म्युजिक भिडियोमा भ्याई नभ्याई


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक शम्भु राई र गायिका मेलिना राईको स्वरको गीत ‘सानु’ को भिडियो बनाउन निर्देशक समन अधिकारीले अभिनेता तथा मोडल पल शाहलाई डेढ महिना कुरे । एकपछि अर्को भिडियोमा व्यस्त भइरहेका पललाई नै अभिनय गराउनुपर्ने निर्माता र स्रष्टाको कुरा निर्देशकले काट्न सकेनन् ।

‘गीतसँग जोडिएका स्रष्टा तथा निर्माताहरूले पुरुष मोडलमा पल शाहलाई नै अभिनय गराउनुर्छ भन्ने शर्त राखेका थिए । गीतको भिडियो चाँडै सुटिङ गर्ने योजना भए पनि पलले डेढ महिनासम्म समय दिन नसकेपछि हामीले उनलाई पर्खियौँ’, समन भन्छन्, ‘पछि पलले समय उपलब्ध गराएपछि भिडियो बनायौँ ।’

पलजस्तै नाम चलेका केही कलाकारलाई म्युजिक भिडियोमा अभिनय गराउन महिना दिन र अझै बढी पनि पर्खिनुपर्ने अवस्था छ ।

समनको अनुभवअनुसार भिडियोका लागि महिला कलाकारको भन्दा पुरुष कलाकारको समय लिन सकस पर्ने गरेको छ । उनी भन्छन्, ‘ती कलाकारको विकल्पमा अर्कोलाई लिन निर्माता र गायकगायिका मान्दैनन् । जति नै बढी पैसा लाग्ने अथवा समय लाग्ने भए पनि उनीहरू कुर्न तयार हुन्छन् । उनीहरूले भनेकै कलाकारबाट अभिनय गराउनुपर्छ ।’

समनको अनुभवमा कलाकारले भिडियोका लागि समय छुट्याएपछि उनीहरूमा हतारोमा देखिँदैनन् । उनीहरू धेरै समय दिन तयार हुन्छन् । कोभिड महामारीपछिको लकडाउनले कलाकारलाई भिडियोमा व्यस्त बनाएको समनको बुझाइ छ । उनी भन्छन्, ‘फिल्महरूको निर्माण र प्रदर्शन बन्द भयो, कलाकारहरू भिडियोतिर व्यस्त भए ।’

निर्देशक विधान कार्की पनि अभिनेता तथा मोडल पल शाहलाई भिडियोमा अभिनय गराउन १५ दिन पर्खिए । निर्माताले पललाई नै अभिनय गराउने भनेका थिए । सधैँ व्यस्त पलको समय पाउन आधा महिना पर्खिनुपर्‍यो ।

विधान भन्छन्, ‘सामान्यतया चलेका कलाकारलाई हप्तादेखि १० दिनसम्म पर्खिनुपर्छ । भिडियो बनाउनेहरू धक नमानी कुर्छन् । निर्मातासँग समय र पैसा दुवै हुने भएकाले कलाकारले लामो समय कुराए पनि उनीहरू आत्तिदैनन् ।’

विधानका अनुसार कलाकार व्यस्त भए पनि कहिलेकाहीँ आकस्मिक अवस्थामा समय निकालेर भिडियोमा अभिनय गर्न राजी हुन्छन् ।

विधानको बुझाइमा भिडियोमा कलाकार र लोकेसन छनोट गर्न निकै गाह्रो छ । उनी भन्छन्, ‘कहिलेकाहीँ त लोकेसन फाइनल भए पनि अन्तिम समयमा आएर क्यान्सिल गर्नुपर्ने अवस्था पनि आइपर्छ, बुक भइसकेको कारणले गर्दा । त्यो वेला निकै तनाव हुन्छ ।’

कोभिड महामारी नियन्त्रणका लागि लागु गरिएको लकडाउनका कारण फिल्मको गतिविधि ठप्पप्रायः छन् । रिलिजको तयारीमा रहेका फिल्म रोकिएका छन् । घोषणा गरिएका फिल्म पनि छायाङ्कन हुन सकेका छैनन् । यस्तो अवस्थालाई पनि मौकाको रूपमा उपयोग गर्दै फिल्मी कलाकारहरू म्युजिक भिडियोमा व्यस्त भए ।

पल शाह, पुष्प खड्का, पूजा शर्मा, आकाश श्रेष्ठदेखि लिएर टिकटकबाट उदाएका सुधीर श्रेष्ठ, गरिमा शर्मा, प्रिज्मा–प्रिन्सी खतिवडालगायतका कलाकारलाई भिडियोमा भ्याई नभ्याइ छ ।

भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा तिजको भिडियो निर्माणको मात्रा बढेकाले अन्य भिडियोमा अभिनय गर्ने कलाकार छनोट गर्न खासै समस्या नभएको बताउँछन् । निकेशका अनुसार कोभिड महामारीको दोस्रो लहरमा लागु गरिएको निषेधाज्ञा अघिसम्म अभिनेता पल शाहलाई म्युजिक भिडियोमा अभिनय गराउन निकै सकस थियो । अहिले केही कम भएको छ ।

निकेशले पनि पललाई भिडियोमा अभिनय गराउन २५ दिन पर्खिएका रहेछन् ।

निर्देशक भूषण दाहाल कुनै समय भिडियो निर्माणमा व्यस्त थिए । उनले भिडियो निर्देशन गर्न छोडेको करिब १० वर्ष भयो । ‘हामीले भिडियो निर्माण गर्दा मनोरञ्जन उद्योग सानो थियो । सामाजिक सञ्जाल पनि थिएन,’ भूषण भन्छन्, ‘टेलिभिजन हेर्ने दर्शकका आधारमा भिडियो बनाउनुपर्थ्यो, अहिलेको जस्तो कलाकारको संख्या पनि उल्लेख्य थिएन । कलाकार अनुबन्ध गर्न कहिलेकाहीँमात्र समस्या पर्थ्यो ।’

भूषणको अनुभवमा गायकगायिका र निर्माताको अनुरोधमा कहिलेकाहीँ मात्र उनीहरूको रोजाइ अथवा सिफारिसका आधारमा भिडियोमा कलाकार खोजिन्थे । भिडियो सीमित संख्यामा बन्थ्यो, कलाकार पाउन समस्या हुँदैन थियो ।

मोडल गरिमा शर्मा छोटो समयमै म्युजिक भिडियोमा व्यस्त हुने कलाकारहरू मध्येमा पर्छिन् । टिकटकबाट दर्शकमाझ चिनिएकी उनलाई भिडियोले थप पहिचान दिएको छ । उनले एक महिनामा २० वटासम्म भिडियोमा अभिनय गरेकी छन् ।

‘भिडियोको काम कसरी गर्ने र कसरी अगाडि बढ्ने भन्ने योजना बनिरहेको हुन्छ । सामान्यतया यो मितिमा सुटिङ गर्ने भनेर समय छुट्याइएको हुन्छ’ उनी भन्छिन्, ‘कहिलेकाँही हतारमै गर्नुपर्ने खालको क्लाइन्ट आउनुहुन्छ । कोही कोहीले चाहिँ एक महिना, दुई महिनासम्म पर्खिनुभएको छ ।’

फिल्म नबने पनि कलाकारहरू छोटा म्युजिक भिडियोमा व्यस्त देखिन्छन् । बढी रोजिएका कलाकारहरूको समय पाउन लामो समय पर्खिनुपर्ने भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ५५ बजे

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : मन्त्री पोखरेल

मोरङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक

यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल